बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलायो: डेपुटी गभर्नर मिश्र

बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलायो: डेपुटी गभर्नर मिश्र

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलाए र जसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलाए र जसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने बताएका हुन्।

उक्त कार्यक्रममा कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए। ‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो। त्यसका लागि हामी तयार नै छौं।’

यसैगरि डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने उनले बताए।

यस्तै, उनले कृषिमा आवश्यक पर्ने लगानीलाई केन्द्रीय बैंकले कम हुन नदिने प्रतिबद्धता गरे। यसैगरी घर कर्जाको कारोबार तथा फुकुवा, करसम्बन्धी काम, मालपोतलगायतका बीचमा डिजिटल प्लेटफर्म बनाइ बैंकको माध्यमबाट काम गर्ने नीति आउनुपनि राम्रो पक्ष भएको डेपुटी गभर्नर मिश्रको भनाइ छ।

बझाङको साइपालमा बैंक शाखा स्थापना गर्ने नीति ढिलै गरी भएपनि आउनु सकारात्मक भएको उनले बताए। ७५३ शाखा मध्ये साइपाल मात्रै बैंक शाखा नभएको पालिका हो। त्यस पालिकामा शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैंकले २०७४ मै पाएको थियो। तर, सडक, इन्टरनेट जस्ता पूर्वाधार नुहुँदा बैंकले त्यहाँ शाखा स्थापना गर्न सकेको छैन। अब त्यहाँ कुनैपनि हालतमा बैंक शाखा स्थापना गर्ने नीति आउनु राम्रो पक्ष भएको उनले बताए।

यस्तै, बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनरसंरचना गरिने पनि उनले बताए। यसका लागि छुट्टै कमिटी नै बनाएर काम गरिने उनको भनाइ छ। आगामी दिनमा आवश्यक पुनरसंरचना गरि यसलाई थप प्रभावकारी बनाउने उनले बताए।

उनले ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मुद्रास्फीति सीमित राख्ने र १२ प्रतिशत प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य पूरा हुनेपनि उनले बताए। चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत बैंकहरुलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुँदा यो लक्ष्यप्राप्ति गर्न सहज हुने उनले बताए। समग्रमा यसअघि नै केन्द्रीय बैंक त्यसतर्फ अगाडि बढि सकेको उनले बताए। साथै, आर्थिक गतिविधि चलायमान बनाउने गरि आगामी आवको मौद्रिक नीति बनाउने तयारी भइरहेको पनि उनले बताए।

‘निजी क्षेत्रले लचक मौद्रिक नीति आवश्यक रहेको बताएको छ। मौद्रिक नीति त अहिले पनि लचक नै छ। व्याजदर पनि धेरै कम भइसकेको छ,’ उनले भने, ‘यद्यपि, अर्थतन्त्र चलायमान बनाउन आगामी आवको मौद्रिक नीतिबाट के कस्तो व्यवस्था गर्न सकिन्छ। त्यसमा हामी सकारात्मक छौँ।’

Logo