सीजी फुड्सद्वारा नेपाली क्रिकेट विकासका लागि क्यानलाई ६० लाख सहयोग घोषणा

सीजी फुड्सद्वारा नेपाली क्रिकेट विकासका लागि क्यानलाई ६० लाख सहयोग घोषणा

केन्द्रबिन्दु
56
Shares

सीजी फुड्स नेपालद्वारा अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि क्रिकेट एशाेसिएशन अफ नेपाल(क्यान)लाई ६० लाख सहयोगको घोषणा गरेको छ । सोमबार वाइवाइले टी–२० विश्वकपलक्षित ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक कार्यक्रममा यसबारे बताएको हो ।

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री बन्दै आएको नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ ब्राण्ड वाइवाइले दोस्रोपटक टि–२० विश्वकपमा सहभागी हुन सफल नेपाली टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’बजारमा ल्याएको हो ।

पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइवाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधैँ समर्पित रहने बताए । ‘आजभन्दा २० बर्षअघि हामीले पुरूष अण्डर–१९मा लगानी गर्यौँ जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ । अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउनेछ ।’ उनले भने ।

प्रवन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, यूरोप, जापान, अष्ट्रेलियालगायत विश्वका ४० देशमा उपलब्ध रहेको जानकारी दिँदै वाइवाइले ती सबै देशको गुणस्तर मापदण्ड पूरा गरेका कारण ग्लोबल ब्राण्ड बन्न सफल भएकाले यस सम्वन्धमा थप ब्याख्या गर्न आवश्यक नभएको टिप्पणी पनि गरे ।

त्यस्तै, क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले आफू वाइवाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइवाइको योगदान अतुलनिय रहेको बताए । नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपमा खेलिरहेको यस गौरवपूर्ण अवसरमा वाइवाइले महिला यू–१९ र नेपालको क्रिकेट विकासका लागि गरेको यो लगानी निकै महत्वपूर्ण रहेको भन्दै यसका लागि चौधरी ग्रुपलाई धन्यवाद दिए ।

टि–२० विश्वकपमा नेपाली टिमका साथ रमाई रहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । साथै, वाइवाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीकाे छ । यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि ३० लाख गरि जम्मा ६० लाख सहयोग गरेको छ ।

यसअघि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

Logo