काठमाडौं । नेपालमा एकै वर्षमा ११ हजार भन्दा बढी ईभी गाडीको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को १२ महिनासम्ममा विभिन्न देशबाट ११ हजार ७०० वटा ईभी गाडी भित्रिएका हुन् ।
भन्सार विभागले असारसम्मको सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा २९ अर्बभन्दा बढी मूल्यको उक्त गाडी भित्रिएका हुन् । नेपालमा ईभीको आयात महिनैपिच्छे बढ्दै गर्दा यसको प्रयोगकर्ताको संख्या पनि दिन दिनै उच्च रहेको पाइन्छ ।
विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी गाडी भारतबाट ४ हजार ४२१ वटा गाडी भित्रिएका छन् । ८ अर्ब ३१ करोड बढी मूल्य बराबरको उक्त गाडी आयात हुँदा सरकारले २ अर्ब ५४ करोड ५९ लाख १६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै, इन्डोनेसियाबाट १५० वटा गाडी ५० किलोवाट क्षमताकै २९ करोडभन्दा बढी मूल्य बराबरको भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यसै गरी ५१ देखि १०० किलोवाटसम्मका ईभी गाडी चीनबाट ६ हजार ५५०, भारतबाट ३३३, कोरियाबाट २ वटा नेपाल आएका छन् ।
विभागका अनुसार १०१ किलोवाटदेखि २०० सम्मका ईभी गाडी चीनबाट ७५, जर्मनबाट २०, भारतबाट ४२, कोरियाबाट ८० वटा आयात भएका छन् । २८ अर्ब ७९ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको गाडी आयात हुँदा सरकारले १२ अर्ब ७६ करोड ३७ हजार ९३ रुपैयाँ राजश्व संकलन गरेको विभागले जानकारी दिएको छ ।





























प्रतिक्रिया