काठमाडौं । नेपालमा सुनचाँदीको मूल्यले महिनैपिच्छे नयाँ रेकर्ड राख्ने क्रम जारी छ । सुनचाँदीको मूल्यमा आएको उतरचढावका कारण अहिलेको समयमा सुन किन्दा कत्तिको उचित होला भन्ने कौतुहलता तपाईंमा पक्कै होला । यसरी मूल्य बृद्धि हुँदै गए कतै सुन भविष्यमा किन्न नसकिने हैन भनेर धेरै मान्छे सोचमग्न छन् ।
महिनैपिच्छे सुनको मूल्यले नयाँ रेकर्ड बनाइ राख्दा अब सुनको मूल्य घट्ने हो वा अझै बढ्ने हो त्यो हेर्न बाँकी छ । यद्यपी अझै सुनको मूल्य बढ्ने प्रक्षेपण गरिँदै आइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिक रत्न शाक्य सुनचाँदीमा आफ्नो लगानी सुरक्षित गर्ने समय यही रहेको बताउँछन् ।
महिनैपिच्छे सुनको मूल्यले नयाँ रेकर्ड बनाइ राख्दा अब सुनको मूल्य घट्ने हो वा अझै बढ्ने हो त्यो हेर्न बाँकी छ ।
शाक्यका अनुसार सुनको मूल्य बढ्ने सम्भावना अझै रहेको छ । यसरी यसको मूल्यबृद्धि भइराख्दा सुनको मूल्य कम भएको समय नकिन्नेहरु अहिले पछुताइ रहेका छन् । अहिले नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ४७ हजार ४०० र तेजावी सुन एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने १८ सय ५ रुपैयाँमा किनबेच भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । सुनको मूल्य घट्ने वा बढ्ने क्रम जारी छ । तर, तुलनात्मक रूपमा सुनको मूल्य घट्ने भन्दा बढ्ने बढी देखिएको महासंघले जानकारी दिएको छ ।
‘सुन चाँदी सुरक्षित लगानी भएको कारणले यस प्रतिको आकर्षण संसार भर बढ्दै गएको छ, अहिलेको समयमा सुन किन्ने कि नकिन्ने भनेर बस्यौं भने हामी पछि पर्छौं,’ निर्वतमान अध्यक्ष शाक्यले केन्द्रबिन्दुसँग भने । सुनचाँदीको मूल्य बढ्दै जाँदा अहिले बजारमा सुन किन्नेको संख्या पनि पहिलाको तुलनामा निकै कम रहेको शाक्यले जानकारी दिए ।
यसप्रतिको आकर्षण बढ्दै र अन्तर्राष्ट्रिय बजारमा माग उच्च हुँदै जाँदा सुनचाँदीको मूल्य बढ्दै गएको हो । सुनचाँदीको अहिले अफ सिजन भएका कारण बजारमा सुनचाँदी खपत र कारोबार कम भएको शाक्यले बताए । यद्यपि भदौ लागेसँगै सुन व्यापारको चहलपहल बढ्ने उनको तर्क छ ।
दिनमा अहिले १० केजी सुन खपत भइरहेको पनि शाक्यले जानकारी दिए । उनका अनुसार सुनको मूल्य छिटै नै १ लाख ८० हजार रुपैयाँसम्म पुग्नेछ । यसै गरी महासंघका वर्तमान कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यले पनि सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको बताए ।
‘सुनचाँदीको मूल्य बढे पनि नेपालीको आय बढेको छैन, सुनमा हाम्रो लगानी महँगो हुँदै छ, अब सुनको घट्दै बढ्दै गएर अन्त्यमा बढ्ने नै देखिन्छ ।’ उनले भने । सुनको मूल्य काम भएकै कारण कारोबार रकम कम भएको उनको भनाइ छ ।
सुनको आयातमा भन्सार शुल्क पछिल्लो समय केही कम भएका कारण मूल्यमा केही कमी आउने कार्यवाहक अध्यक्ष शाक्यले बताए । केही महिनाको बजारलाई निहालेर सुन किन्दा उचित हुने उनको सुझाव छ ।
एकै वर्षमा २ हजार केजी भित्रियो सुन
नेपालमा सुनचाँदीलाई गहनाको रूपमा सबै भन्दा बढी प्रयोग गरिन्छ । चाहेको समयमा पनि बिक्री हुने भएकाले सुन एउटा सुनिश्चित सम्पतिको रूपमा हेरिन्छ । सुनका पारखीहरू विभिन्न डिजाइनका गहना बनाएर लाउनमा सोखिन् छदै छन् ।
सुन तिज, विवाह लगायका पर्वमा सबै भन्दा बढी खपत हुन्छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार नेपालमा विभिन्न देशबाट २ हजार ६५१ किलो सुन आयात भएको छ । कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको उक्त सुन आयात भएको हो ।
‘सुनचाँदीको मूल्य बढे पनि नेपालीको आय बढेको छैन, सुनमा हाम्रो लगानी महँगो हुँदै छ, अब सुनको घट्दै बढ्दै गएर अन्त्यमा बढ्ने नै देखिन्छ ।’
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को अनुपातमा गत आर्थिक वर्ष केही सुन आयतमा केही कमी देखिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा २ हजार ९१६ किलो सुन आयात भएको थियो । सो वर्ष २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।































प्रतिक्रिया