शेयर बजारमा सर्किट ब्रेक किन लाग्छ ? कसरी रोकिन्छ कारोबार ?

शेयर बजारमा सर्किट ब्रेक किन लाग्छ ? कसरी रोकिन्छ कारोबार ?

केन्द्रबिन्दु
12
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक सर्किट ब्रेक लाग्दा आम लगानीकर्ता उत्साहित हुन्छन् । जुन ब्रेक नेपाली इन्डेक्समा कमै देख्न पाइन्छ । यद्यपि प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद–बिक्री गर्ने स्थान अर्थात् सेकेण्डरी मार्केटमा रहेर कारोबार गर्नेहरूलाई सर्किट ब्रेक लाग्दा उत्साहित हुने गर्छन् ।

नेपाली सेयर बजारले अपेक्षाकृत फड्को नमारेता पनि कहिले काहि लाग्ने सर्किट ब्रेकले बजारमा रौनक ल्याइरहेको हुन्छ । शेयरको मूल्यमा अत्यधिक उतारचढाव हुँदा कारोबारलाई अस्थायी रूपमा रोक्न लगाइएको नियम नै सर्किट ब्रेक हो ।

सर्किट ब्रेक लगाउनुको मुख्य उद्देश्य बजारलाई स्थिर बनाउने, अनियन्त्रित व्यापार र अत्यधिक अस्थिरताबाट लगानीकर्ताहरूलाई जोगाउनका लागि पनि सर्किट ब्रेक लगाइन्छ । सर्किट ब्रेकलाई शेयर बजार तीव्र गतिमा उकालो वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणालीका रूपमा पनि बुझ्न सकिन्छ ।

बजार बढ्दा मात्र होइन, बजार घट्दा पनि सर्किट ब्रेक लाग्छ । जुन विषय हामी सबैले बुझ्न आवश्यक छ । नेप्सेले २०६४ सालदेखि सर्किट ब्रेकको व्यवस्था गरेको छ । तर, २०६४ अघि शेयर बजार एकै दिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढी बढ्न वा घट्न सक्दैन ।

समग्र बजारमा मात्रै होइन, सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरूमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ । नेप्सेले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेक लगाउने व्यवस्था शुरु भएको हो । २०६४ सालदेखि शुरु भएको व्यवस्थामा केही बुँदाहरू परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ ।

कसरी हुन्छ कारोबार बन्द ?

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात् ११ बजेदेखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ बजेदेखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ । नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने गर्छ । कुनै कम्पनीको शेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशतभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन । र, त्यही १० प्रतिशतभित्र रहेर कारोबार गर्न भने सकिन्छ । एकै दिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन ।

Logo