नेपाल एयरलाइन्सले अब अस्ट्रेलियाको सिड्नीमा पनि उडान भर्ने भएको छ । आउँदाे दशैंदेखि नै काठमाडौंबाट सिड्नी सिधा उडान सुरु गर्ने बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको हो ।
अष्ट्रेलिया पुगेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधानले त्यहाँस्थित सिभिल एभिएसन सेफ्टी अथोरिटी, पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग विभिन्न छलफल गरेका हुन् ।
अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा अस्ट्रेलियामा रहेका नेपाली थप आशावादी बनेका थिए । अब डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैंबाट त्यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको हो ।
सिड्नीको किङ्सफोर्ड अन्तर्रास्ट्रिय विमानस्थलदेखि साताको दुईवटा उडान गर्ने गरी प्रारम्भिक चरणमा ग्राउण्ड स्लट समेत लिइसकिएको छ भने उडानका लागि आवश्यक पर्ने अधिकांश सम्झौता भइसकेका छन् । सन् २०१९ मा क्यानडामा दुई देशबीचमा सिधा हवाई उडान गर्ने बिषयमा सहमति भएको थियो । सहमतिअनुसार अस्ट्रेलियाका मुख्य शहर सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको सातवटा उडान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् भने अस्ट्रेलियास्थित विमानसेवाले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ७ वटा र अन्य विमानस्थलमा साताका २८ वटासम्म उडान गर्न सक्नेछन् ।
अष्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्छन्। यीमध्ये अधिकांश विद्यार्थी छन्। अष्ट्रेलियामा अध्ययन गर्न आउनेमध्ये नेपाल संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ। तर, अष्ट्रेलियाका लगि कुनै पनि नेपाली विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन्। हाल सिंगापुर, मलेसिया, हङकङ, कतार, युएई, चीन भएर दैनिक अष्ट्रेलिया नेपाल १०० जनाको हाराहारीमा यात्रुहरूको आउजाउ हुने गर्दछ । अब सिधा काठमाडौंबाट सिड्नी उडान सुरु भए सास्ती पाउने छैनन् ।































प्रतिक्रिया