कञ्चनपुर । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा दिने निर्णय गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ३० बैठकले महोत्सव अवधिमा निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई विदा दिने निर्णय गरेको हो । कार्यपालिका बैठकमा बैठकमा महोत्सव सफल बनाउन समेत छलफल गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धनमा सहयोग पुगाउन शुक्लाफाँटा पर्यटन महोत्सव अवधिभरि निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा दिने निर्णय गरिएको जानकारी दिए ।
नगर प्रमुख विष्टले कार्यालयको कामकाज नरोकिने गरी कर्मचारीलाई निकुञ्ज भ्रमणका लागि विदा दिइने जानकारी दिए । कार्यपालिका बैठकमा महोत्सव सफल बनाउन सबै पक्षसित सहकार्य र समन्वय गरी जाने विषयमा छलफल गरिएको छ । ‘शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै पक्षसित सहकार्य र समन्वय गरी जाने विषयमा छलफल गरियो’ नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ।
भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरोकारवालाको संयुक्त आयोजनामा चैत १५ देखि २१ गतेसम्म शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुन लागेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि समृद्धिका लागि पर्यटन भन्ने नारा सहित महोत्सव आयोजना गर्न लागिएको छ । महोत्सवमा तीन हजारदेखि तीन हजार पाँच सय जनालाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखिएको छ । चैत १५ गते मझगाउँमा औपचारिक कार्यक्रम गरी महोत्सव उद्घाटन गरिएपछि पर्यटकहरुलाई निकुञ्जभित्र घुमाइने कार्यक्रम तय गरिएको छ ।
दैनिक ३ सयदेखि ५ सय पर्यटकलाई निकुञ्ज घुमाउने कार्यक्रम अनुसार तयारी भई रहेको महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले बताए । आन्तरिक र बाह्य पर्यटकलाई दैनिक निकुञ्जभित्र घुमाउने गरी पहिलो पटक महोत्सव आयोजना गरिएको हो । यो महोत्सव अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक निकुञ्ज घुम्ने अपेक्षा गरिएको छ ।
३ सय ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटा निुकञ्ज बाह्रसिंगाको बथान र पाटेबाघको पहिचानले परिचित छ । शुक्लाफाँटा घाँस मैदानमा देखिने बाह्रसिंगाको बथान पर्यटकहरुका लागि आकर्षण बन्दै आएको छ । महोत्सव सफल बनाउन सबै स्थानीय तहसहित नाटा सुुदूरपश्चिम, कञ्चनपुर उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, यातातायात व्यवसायी समिति, निर्माण व्यवसायी समिति लगायतका सरोकारवाला सक्रिय रुपमा लागेका छन् ।































प्रतिक्रिया