भ्यालुएसनका आधारमा सेकेन्ड ह्याण्ड गाडीमा पनि बैंकबाट फाइनान्स हुनुपर्छः अध्यक्ष कोइराला

भ्यालुएसनका आधारमा सेकेन्ड ह्याण्ड गाडीमा पनि बैंकबाट फाइनान्स हुनुपर्छः अध्यक्ष कोइराला

केन्द्रबिन्दु
392
Shares

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष हुन्, रमेशप्रसाद कोइराला । पहिलो कार्यकाल व्यतीत गरी दोस्रो कार्यकाल सम्हालिरहेका कोइराला सेकेन्ड ह्याण्ड अटो क्षेत्रमा देखिएका समस्या समाधानका निमित्त अहोरात्र खटिरहेका छन् । नेपालमा वार्षिक ५ हजार सेकेन्ड ह्याण्ड गाडी बिक्री हुने बताउँदै आएका कोइराला भ्यालुएसनका आधारमा सेकेन्ड ह्याण्ड गाडीमा पनि बैंकबाट फाइनान्सको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिन्छन् ।

जसले गर्दा सेकेन्ड ह्याण्ड गाडीका क्रेता र बिक्रेतालाई थप सहज हुने उनको भनाइ छ । उनै अध्यक्ष कोइरालासँग नेपालमा रिकन्डिसन अटो व्यवसायको अवस्था, बैंकले सेकेन्ड ह्याण्ड गाडीमा फाइनान्स गर्न नमान्नुको कारण, यस क्षेत्रमा देखिएका चुनौती लगायतका विषयमा केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा रिकन्डिसन अटो व्यवसायको अवस्था कस्तो छ ? सेकेन्ड ह्याण्डका गाडीको माग बढ्न थालेको हो ?

-पहिलाको भन्दा अहिले तुलनात्मक रूपमा सेकेन्ड ह्याण्ड गाडीको माग बजारमा बढेको छ । तर, कोभिड–१९ पछि जुन हिसाबले सेकेन्ड ह्याण्ड गाडीको बिजनेश बढ्नु पर्ने थियो । त्यो अनुसार चाहिँ बढ्न सकेन । किनभने अहिलेको भन्दा कोभिडको बेलामा सेकेन्ड ह्याण्ड गाडीको व्यापार राम्रो भएको थियो ।

नयाँ गाडी प्रायः लोनमा लिने भएकाले कसैलाई त्यो लोन तिर्न मुस्किल परेको खण्डमा उहाँहरूले त्यो गाडी ल्याएर सेकेन्ड ह्याण्डमै छाड्ने हो ।

सन्तोषजनक व्यापार नभएता पनि सर्भाइभ गरिरहेका छौं । सबै चिजले पुगेपछि मात्र किन्ने चिज भनेर अटोलाई मानिन्छ । सेकेन्ड ह्याण्ड गाडीमा बैंकले फाइनान्स नगर्नाले पनि कारोबार गर्न गाह्रो भएको हो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले पनि लगानी गरे कारोबार बढ्ने अपेक्षा रिकन्डिसन अटो व्यवसायीले लिएका छन् ।

सेकेन्ड ह्याण्ड गाडीमा बैंकलाई फाइनान्स गर्न किन गाह्रो परेको हो ? यस्ता गाडीमा फाइनान्स नगर्नुको कारण चाहिँ के पाउनु भएको छ ?

-बैंकले सेकेन्ड ह्याण्ड गाडीलाई फाइनान्स गर्दैन । बैंकले नयाँ गाडीलाई जसरी लोन दिन्छ । त्यसरी सेकेन्ड ह्यान्डमा दिँदैन । तर, बैंकले यस्ता गाडीको खरिदमा लोन नदिए पनि फाइनान्सको सुविधा भने छ । सेकेन्ड ह्याण्ड गाडीमा गोल्छा ग्रुप अन्तर्गतको हुलास फिन सभा लिमिटेडबाट लोन लगानी हुँदै आएकाे छ । सो लगायतका कम्पनीले सेकेन्ड ह्याण्ड गाडीको खरिदमा ५० देखि ६० प्रतिशतसम्म लोन लगानी गर्दै आएका छन् ।

हामी सवारीको पूर्ण रूपमा चेक जाँच गरिसके पश्चात् मात्र त्यो गाडी ग्राहकलाई ह्याण्ड ओभर गर्छौं ।

सेकेन्ड ह्याण्ड खरिद गर्न चाहनेहरूको सुविधाको लागि ति बाहेक ४/५ वटा कम्पनीहरू लोन दिन सक्षम छौं भनेर आउनु भएको छ । उक्त कम्पनीहरूसँग हाम्रो छलफल चलिरहेको छ । बैंकहरुसँग सेकेन्ड ह्याण्ड गाडीमा लगानी गर्ने नीति नियम नभएका कारणले लगानी गर्न नसकेका हुन् । बैंकले लगानी गर्नको लागि नीति नियम परिवर्तन साथै बनाउनुपर्ने बैंकरहरु बताउँदै आउनु भएको छ । बैंकले फाइनान्स नगरेता पनि अन्य कम्पनीबाट सहजै लोन लगानी हुने व्यवस्था छ ।

सेकेन्ड ह्याण्डका गाडीको वार्षिक कारोबार कति छ ? यस क्षेत्रमा नयाँ लगानी आउने क्रम कस्तो छ ?

-नेपालमा सेकेन्ड ह्याण्ड गाडीको बिजनेश गर्ने धेरै कम्पनी छन् । हामीसँग भएको तथ्याङ्कलाई हेर्ने हो भने वार्षिक करिव ५ हजार गाडी बिक्री हुँदै आएको छ । यस क्षेत्रमा नयाँ लगानी आउँने क्रम बढ्दो देखिन्छ । २७ जना सदस्यबाट सुरु भएको यो संघमा अहिलेसम्म १६५ जना सदस्यहरू जोडी सक्नु भएको छ । हामीले ७ वटै प्रदेशमा प्रदेश प्रतिनिधिहरूको पनि छनोट गरिसकेका छौं ।

तपाईंले अघि सेकेन्ड ह्याण्ड गाडीको व्यपार सन्तोषजनक नभएको बताउनु भयो । भनेपछि सेकेन्ड ह्याण्ड गाडी मान्छेको रोजाइमा पर्न छाड्दै गएको हाे ?

-सेकेन्ड ह्याण्ड गाडीमा मान्छेको आकर्षण उल्लेखिय छ । यसका प्रयोगकर्ता साथै खरिदकर्ताको संख्यामा कुनै कामी आएको छैन । सेकेन्ड ह्याण्ड भन्ने बित्तिकै धेरै पुराना गाडी मात्र पाइने ठाउँ हैन । यहाँ एक महिना कुदाएको मात्रै पनि गाडी आइपुग्छन् । नयाँ गाडी किनेर केही महिना प्रयोग गरी बिक्री सेकेन्ड ह्याण्डमा आइपुगेका हुन्छ ।

नयाँ गाडी प्रायः लोनमा लिने भएकाले कसैलाई त्यो लोन तिर्न मुस्किल परेको खण्डमा उहाँहरूले त्यो गाडी ल्याएर सेकेन्ड ह्याण्डमै छाड्ने हो । त्यसैले सेकेन्ड ह्यान्डमा पुराना मात्रै हैन । नयाँ फ्रेस गाडी पनि पाइन्छ । हामीले सेकेन्ड ह्याण्ड गाडी खरिद गर्यौं भने त्यसमा देखा परेको समस्यालाई पहिचान गरी मर्मत गरेर नयाँ जस्तै बनाई गाहकलाई बिक्री गर्ने गर्छौं । सेकेन्ड ह्याण्ड गाडी किने पनि हामीसँग ग्राहकहरू ब्राण्डेड सम्झेर गाडी किन्न आउने हो ।

सेकेन्ड ह्याण्ड गाडीमा बैंकले फाइनान्स नगर्नाले पनि कारोबार गर्न गाह्रो भएको हो ।

मूल्यका हिसाबले नयाँ र पुरानो गाडीको खरिदमा कति रकम अन्तर पर्छ ?

-यदि तपाईंले ५० लाख रुपैयाँको नयाँ गाडी किन्नु भयो । उक्त गाडी एक वर्ष प्रयोग गरेर सेकेन्ड ह्याण्डमा बिक्री गर्न आउनु भयो भने त्यो गाडीको मूल्य करिव १०/१५ लाख रुपैयाँ घट्छ । उक्त तरिकाबाट आएका गाडीहरू ग्राहकले खरिद गर्ने हो । सेकेन्ड ह्याण्ड गाडीमा भ्यालुएशनको आधारमा लोन लगानी हुने गर्छ । उक्त गाडीको भ्यालुएश अटो व्यवसायी संघबाट हुँदै आएको छ ।

फाइदाका हिसाबले नयाँ कार खरिद गरेर चलाउँदा ठिक कि सेकेन्ड ह्याण्ड गाडी ?

-म नयाँ गाडी किन्छु । मलाई नयाँ गाडी खरिद गर्नको लागि पैसा पुग्छ । नयाँ किन्दा फरक पर्दैन भन्नेलाई कसरी सेकेन्ड ह्याण्ड गाडी किन्न आउँ भनेर भन्ने । तर, सेकेन्ड ह्याण्ड गाडी नयाँ जस्तै हुन्छ । यो किन्दा पनि फरक पर्दैन । पैसा धेरै हदसम्म जोगाउने र गाडी पनि खरिद गर्न आवश्यक भएको खण्डमा सेकेन्ड ह्याण्ड गाडी उपयुक्त छ । पुरानो गाडी भए पनि त्यसलाई मर्मत गरेर नयाँ जस्तै पारेर राखिएको हुन्छ । त्यसको कन्डिसन पनि नयाँको जस्तै हुन्छ ।

सुरुवातमा गाडी चढ्न खोज्नेहरू प्रायले सेकेन्ड ह्याण्ड गाडी नै खोज्न आउनु हुन्छ । कम बजेटमै राम्रो गाडी पाइने भएकाले यहाँ जोडिन धेरै आइपुग्छन् ।

पछिल्लो समयमा ईभीका प्रयोगकर्ताको संख्या उच्च हुँदै गएको छ, अहिलेको अवस्थामा ईभी गाडी सेकेन्ड ह्याण्डमा पाइएको छ कि छैन ?

-सेकेन्ड ह्याण्डमा पनि ईभी गाडी पाउन थालेको छ । तर, इन्धनको तुलनामा चाहिँ कम पाइन्छ । इन्धनमा आधारित गाडी भन्दा ईभी गाडी बिक्रीको रेसियो उच्च छ । भन्सार विभागको तथ्याङकलाई हेर्ने हो भने पनि ईभी गाडीको आयात धेरै भएको देखिन्छ । बैंकले ईभीमा गाडीको खरिदमा २० प्रतिशत डाउन पेमेन्ट गरिरहेको छ । यो गलत भइरहेको छ । डिजेल पेट्रोललाई ५० प्रतिशत, ईभीलाई चाहिँ २० प्रतिशत हुँदा केही समस्या देखिन्छ ।

इन्धनबाट चल्ने गाडीलाई ५० प्रतिशत फाइनास गर्न लगाउँदासमेत बैंक फाइनान्स गर्न मानिरहेको छैन । यो खाल्को परिस्थिति बजारमा छ । ईभी ६/७ महिना चढेर बिक्री गर्न ल्याएमा हामीले किनौंला । तर, हामीलाई चाहिँ त्यो गाडी बिक्री गर्न धेरै गाह्रो हुन्छ ।

सेकेन्ड ह्याण्ड गाडीमा अहिले ईभी गाडी बढी खोज्न आउँछन् । कि इन्धनबाट चल्ने ?

-सेकेन्ड ह्याण्डमा यी दुवै गाडी खोज्न मान्छे आउनुहुन्छ । उपत्यकाभित्र मात्र चलाउँला लागि ईभी उपयुक्त छ । तर, अझै यसको पूर्वाधार बनी नसकेको हुँदा लामो यात्रा गर्न अझै ग्राहक डराइ राख्नुभएको छ । सेकेन्ड ह्याण्डमा ईभी खोज्न आए पनि उहाँहरूलाई कन्भिन्स गरेर इन्धनबाट चल्ने गाडी दिइरहेका छौं ।

सेकेन्ड ह्याण्ड गाडीको व्यापारमा ईभीको भविष्यमा कस्तो देख्नुहुन्छ ?

-ईभी गाडीहरू जसले भित्र्याई राख्नुभएको छ । उहाँहरूले यसको भविष्य राम्रो देख्नु भएको होला । तर, मैले चाहिँ यसको भविष्य राम्रो देखेको छैन । किनभने यी गाडीको प्रयोगकर्ता अझै अन्योलमा छन् । जस्तो म इमर्जेन्सीमा बिराटनगर जानु पर्ने भयो । ईभी हो चार्ज नै नगरी एकै पटकमा बिराटनगर पुग्न सकिन्छ भन्ने छैन । किनभने बाटोमै चार्ज सकिएर चार्ज लगाएर बस्नुपर्ने भयो भने मेरो समय थप खर्च हुने भयो । त्यसैले ईभीमा अझै पूर्णरूपमा चलाउन सकिन्छ भनेर भन्ने गाह्रो छ ।

सकारी कार्यालय वा अन्य निकायहरूमा लामो समयदेखि थन्किएर पुराना गाडी बसेका छन्, तिनीहरूलाई मर्मत गरी प्रयोग गर्न सकिन्छ अवस्था छ कि छैन, यसमा तपाईंको धारणा के छ ?

-नेपाल सरकारले यो खालको प्रावधान बनाएको छैन । तपाईंहरुले प्रायः पुराना गाडी वा सवारी साधनको चाङ ट्राफिक कार्यालय लगायतका ठाउँमा देख्न सक्नुहुन्छ । पार्किङमा यसरी पुराना गाडी थन्किने भनेको चोरी वा बिग्रेका सवारीहरू हुन सक्छन् । यदि उक्त गाडी चल्ने वा पुन प्रयोगमा ल्याउन सकिन्छ भने सरकारले लिलाम बिक्री गर्दा उचित हुन्छ । त्यसबाट उठेको राजश्व सरकारलाई नै जान्छ ।

यस विषयमा सरकारले ध्यान पुर्याउन आवश्यक छ । त्यसको प्रावधान मिलाएर बिक्री गर्ने, सहजीकरण गर्यो भने यसको पनि समाधान हुन्छ । कुनै प्रहरी चौकीमा १/२ वर्ष गाडी रह्यो भने त्यो के गर्ने भनेर सरकारले सोच्न वा सोही अनुरूपको कानुन बनाउनुपर्छ । यस्ता सवारीको व्यवस्थापन गर्ने प्रावधान बन्यो भने यो चुनौतीको विषय रहँदैन ।

रिकन्डिसन व्यवसायीले भोग्नुपरेका समस्याहरू के–के छन्, यस क्षेत्रमा सरकारले के गर्यो भने तपाईंहरुलाई थप सहज हुन्छ ?

-नयाँ गाडी बेच्न भन्दा सेकेन्ड ह्याण्ड गाडी बेच्न गाह्रो छ । नयाँ गाडीको एलसी खोलेको हुन्छ । बैंकको पनि सहजै फाइनान्स गर्छ । तर, हामी सेकेन्ड ह्याण्डमा आएका गाडीलाई खरिद गरेर बिक्री गर्छौं । सेकेन्ड ह्याण्डलाई लोन लगानी गर्ने केही कम्पनीहरू बाहेक अन्य वित्तीय संस्था छैनन् ।

अहिले उहाँहरूसँग गाडी किन्ने भनेको पूरा नगदमा हो । त्यो गाडी बिक्री नभएसम्म उक्त पैसाको ब्याज हामीले नै बेहोर्नु पर्ने हुन्छ । सेकेन्ड ह्याण्ड गाडीलाई पनि भ्यालुएसनेको आधारमा बैंकबाट लोन दिने प्रावधान मिलाउनु पर्छ । सरकारले वा बैंकहरुले यो व्यवस्था मिलाइदियो भने हाम्रो व्यवसाय गर्नको लागि अझ सहज हुन्छ ।

रिकन्डिसन गाडी खरिद गर्न चाहनेलाई तपाईंको सुझाव के छ ?

-हामी पुराना गाडीलाई पनि नयाँ गाडी जस्तै बनाएर बेच्छौं । गाडीमा गर्नुपर्ने मर्मत सम्भार सबै गर्छौं । हामी सवारीको पूर्ण रूपमा चेक जाँच गरिसके पश्चात् मात्र त्यो गाडी ग्राहकलाई ह्याण्ड ओभर गर्छौं । नयाँ गाडी किनेर २/४ वर्षपछि बिक्री गर्नुछ भने उहाँहरूलाई सेकेन्ड ह्याण्ड गाडी किन्न सुझाव दिन्छु । दुर्घटना भएका कतै लडेका गाडी हो कि हैन भनेर चाहिँ बुझ्नुपर्छ । हामी खराब बनाएर गाडी बच्दैनौं । तर, रिकन्डिसनमै गएर गाडी किन्नुपर्यो ।

रिकन्डिसनमा कतिदेखि कति मूल्यसम्मका गाडी पाइन्छन् ?

-यहाँ विभिन्न ब्राण्डका गाडी हुन्छन् । सस्तोदेखि महँगा गाडीसमेत यहाँ भेटिन्छ । २ लाखदेखि २ करोड रुपैयाँ मूल्यसम्मको गाडी यहाँ पाइन्छ । दुई करोडभन्दा कम मूल्यका गाडी सबैभन्दा धेरै सेकेन्ड ह्याण्डमा हुन्छ ।

कुनै प्रहरी चौकीमा १/२ वर्ष गाडी रह्यो भने त्यो के गर्ने भनेर सरकारले सोच्न वा सोही अनुरूपको कानुन बनाउनुपर्छ ।

तपाईंहरु सेकेन्ड ह्याण्ड गाडीको अटो शोको तयारीमा पनि लाग्नु भएको हो ?

-हो, हामीले छिटै सेकेन्ड ह्याण्ड गाडीको अटो शो गर्ने योजना बनाएका छौं । यसको तयारीमा लागि हामीले छलफल गरिरहेका छौं । सम्भवतः हामी सेकेन्ड ह्याण्ड गाडीको अटो शो छिट्टै गर्छाैं ।

तपाईं संघको अध्यक्ष २ पटक भइसक्नु भयो, अध्यक्ष भइसकेपछि यस क्षेत्रमा तपाईंले गरेका काम के हुन् ? अब के गर्ने सोच बनाउनु भएको छ ?

-अहिले हामी संस्थाको विकासमा छौं । संघ पुरानो भएपनि यसलाई निरन्तरता दिन नसकेको हुँदा नयाँ जस्तै छौं । तपाईंहरुलाई थाहै छ, अधिकांश यातायात कार्यालयको अगाडि जेब्राक्रसिङ छैन । त्यस्ता स्थानमा सम्बन्धित निकायसँग साझेदारी गरी हाम्रो पहलमा जेब्रा क्रसिङ बनाउन सफल भएका छौं । यातायात कार्यालयमा पार्किङको ठूलो समस्या छ । सोही विषयलाई मध्यनजर गर्दै यातायात कार्यालयमा पार्किङको व्यवस्थापन हुनुपर्छ भनेर आवाज उठाउँदै आएको छ । तर, पूरा हुन सकेको छैन । त्यो कामलाई पूरा गर्नको लागि यसपटक पहल गर्ने छौं । छुटेका कामलाई निरन्तरता दिँदै कुशल संगठन व्यवस्थापनमा लाग्ने छौं ।

Logo