काठमाडौं ।
काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले चार वर्षभित्र सक्ने गरि जिम्मा लिए पनि कोरोना भाइरस प्रभावले ढिला हुने भएको छ । फास्ट ट्रयाक निर्माणको काम ४ भदौ ०८० मा सक्ने सेनाले प्रतिबद्धता जनाएको थियो । तर, कोरोना भाइरसको असरका कारण फास्ट ट्रयाक निर्माणमा असर गरेको भन्दै सेनाले निर्माण अवधि थप गर्ने संकेत दिएको छ ।
बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कहिले सकिन्छ भन्ने धेरैलाई चिन्ताको विषय बन्दै गएका बेला आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण सक्ने लक्ष्य लिइए पनि निर्माण अवधि सात महिना थप गर्ने पक्षमा सेना रहेको छ ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कोरोना भाइरसको प्रभाव तथा अन्य प्राविधिक समस्याले फास्ट ट्रयाक निर्माण अवधि सात महिना नै तलमाथि हुन सक्ने बताएका छन् । सेनाले द्रुतमार्ग निर्माणको जिम्मा लिंदा ०८० भदौ ४ गते निर्माण सम्पन्न गर्नु पर्ने म्यान्डेड पाएको थियो । तर फास्ट ट्रयाक निर्माणमा कोरोना भाइरसको प्रभाव लगायत अन्य जग्गाको मुआब्जादेखि पुल, सुरुङ मार्ग निर्माणको काम अगाडि नबढ्दा ढिला भएकाले निर्माण अवधि पछाडि धकेलिएको सेनाको भनाइ छ ।
कोरोना महामारीका कारण द्रुतमार्ग निर्माणको काम करिब सात महिना रोकियो । त्यही महामारीमा काम रोकिएको सात महिना अवधि नै थप्न लागिएको सेनाले जनाएको हो । कोरोना महामारीले फास्ट ट्रयाक निर्माणमा पनि असर पारेकाले सोचे जस्तो परियोजनाको प्रगति भएको छैन । निर्माण शुरु भएदेखि अहिलेसम्म भौतिक प्रगति ११.११ प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्ष ०७७/७८ को लागि लक्षित काम सबै सकिँदा कुल परियोजनामा ५.१० प्रतिशत भौतिक प्रगतिमा हालसम्म भएको प्रगति जोड्दा फास्ट ट्याकको कूल भौतिक प्रगति १६ दशमलव २१ प्रतिशतसम्म हुने सेनाको दाबी छ ।
१६.२१ प्रतिशत भौतिक प्रगतिमा सुरुङ र पुलको ठेक्का सम्झौता, सडक कटिङ, फिलिङ, तटबन्ध र थोरै ठाउँमा कालोपत्रेसम्मको काम हुने सैनिक प्रवक्ता पौडेलले जानकारी दिएका छन् । उनका अनुसार चालू आर्थिक वर्षमा सुरुङ निर्माणको ठेक्का लगाउने र चार किमिमा ढुंगा, माटोको काम गर्ने सेनाको योजना छ । यस्तै १ हजार १ सय ५० वटा रूख कटान, वृक्षारोपण र अधिग्रहण गर्न बाँकी जग्गा प्राप्ति गर्ने योजना सेनाको रहेको छ ।





























प्रतिक्रिया