काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटल ‘होटल लेमन ट्री प्रिमियर’ सञ्चालनमा आएको छ । भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले गत माघ महिनामै यस होटलको व्यवस्थापन सम्हाले पनि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
साढे दुई अर्ब बढीको लगानीमा बनेको यस होटल काठमाडौंको कोलाहलबाट केही समय टाढा गएर बस्न चाहनेका लागि उत्तम गन्तव्य बन्न सक्छ। यहाँबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्न सकिन्छ ।
१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, एक हजार क्षमताको २ वटा बैंक्वेट हल मुख्यगरी व्यावसायिक प्रयोजनका लागि महत्त्वपूर्ण योगदान गर्ने सुविधायुक्त र आधुनिक संरचना बनेको छ। होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ। नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको यस होटलमा क्यासिनो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्न उनको आग्रह थियो ।
यसैगरी होटलका सञ्चालक डा. राजेन्द्र केसीले बुढानिलकण्ठ आध्यात्मिक हिसाबले पनि अत्यन्तै गन्तव्य रहेको र यस होटलको अत्याधुनिक सुविधाले सुनमा सुगन्ध छर्ने विश्वास व्यक्त गरे । १० हजार रुपैयाँदेखि सुरु हुने होटलका कोठाहरुमा नेपालीलगायत नियमित ग्राहकलाई केही छुटको व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।
प्रतिक्रिया