काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरि चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् ।
स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरि स्वयम्भू क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन् । उनले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताएका हुन् । हजार बुद्धसहित बोधिचैत्यको संरक्षण गर्नु पर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि मन्त्री नेम्बाङ्ले स्पष्ट पारे ।
भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उनले बताए । प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन आग्रह गरे ।
छलफलमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकलासहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्धसहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनु पर्ने भएकाले विरोध गरिएको बताए। यसबाट स्वयम्भू क्षेत्र विश्व सम्पदाको सूचिबाट समेत हटने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्बाङ समक्ष आव्हान गरिएको बताए ।
सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकी देखि महाराजगंज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दै छ । चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडि पट्टि रहेको हजार बुद्धसहितको बोधि चैत्य हटाइनु पर्ने भएपछि काठमाडौं महानगरपालिकाले त्यसको प्रक्रियासमेत अगाडि बढाइसकेको छ । त्यसैले स्वयम्भू क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्बाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन् ।





























प्रतिक्रिया