काठमाडौं । नेपालका लागि एसर ल्यापटपको आधिकारिक बिक्रेता मर्केन्टाइल अफिस सिस्टमले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको नयाँ ल्यापटप सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एआईमा आधारित एसरको ल्यापटप उक्त कम्पनीले सार्वजनिक गरेको हो । एचर ल्यापटपको माउस प्याडमा एआइको प्रयोग भइरहेको संकेत गर्ने छुट्टै संकेत बत्ती छ ।
कार्यक्रममा बोल्दै मर्केन्टाइल अफिस सिस्टमका प्रमुख कार्यकारी अधिकृत नविन जोशीले एसरको ‘कोपाइलट प्लस ल्यापटप’ आम नेपाली ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।
च्याटबट पनि समावेश भएको यो ल्यापटप मार्फत ‘एआई’ प्रयोग गर्दा प्रयोगकर्ताहरूले विशेष फाइदा लिन सक्ने बताइएको छ । एसरको एशिया प्रशान्त क्षेत्रकी प्रमुख लिसीले ‘एआइ’ प्रयोग गरेर काम गर्ने शैली बढ्दै जाँदा यो एआई ल्यापटपले व्यवसायिक र गैरव्यवसायिक प्रयोगकर्ताहरूको लागि बहुउपयोगी हुने बताइन् ।
यसैगरी एसरका प्रडक्ट स्पेशलिष्ट अल्फ्रेड सोहले ‘एआई’मा आधारित एसर ल्यापटपले प्रयोगकर्ताहरूको जीवन शैलिमासमेत परिवर्तन ल्याउन सक्ने बताए ।
यो ल्यापटप एकपटकको चार्जमा २० घण्टासम्म लगातार प्रयोग गर्न सकिन्छ । लामो समय बाहिर रहेर काम गर्नुपर्ने वा यात्रामा रहेका बेला काम गर्नुपर्ने प्रयोगकर्ताका लागि यो उपयोगी हुने कम्पनीको भनाई छ । स्न्यापड्रागन एक्स एलिट प्रोसेसरमा चल्ने ल्यापटपको क्षमता ५१२ जीबी छ। १५।६ इन्चको स्क्रिनको ल्यापटपमा १२० हर्ट्जको रिफ्रेस दर छ, जसले उच्च गुणस्तरका तस्विर र भिडियोहरू हेर्न सरलता प्रदान गर्नेछ ।
प्रतिक्रिया