शोधनान्तर स्थिति ४० अर्ब बढी बचतमा, विदेशी लगानी घट्दो क्रममा

शोधनान्तर स्थिति ४० अर्ब बढी बचतमा, विदेशी लगानी घट्दो क्रममा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको बताएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणमा उक्त रकमा बचत रहेको उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाख रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले बताएको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो । र, प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रूपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

Logo