नोट धुने र आइरन लगाउने गर्नुभएको त छैन ? हुनसक्छ जरिवानादेखि जेल सजाय

नोट धुने र आइरन लगाउने गर्नुभएको त छैन ? हुनसक्छ जरिवानादेखि जेल सजाय

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा लाग्ने खर्चको व्यवस्थापन गर्न र खुद्रा मुद्रा व्यवस्थापन गर्न भन्दै यसवर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट सटहीको व्यवस्था गरेको थियो ।

सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण हुने राष्ट्र बैंकको भनाइ छ ।

नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने बैंकले जनाएको थियो । तर सामाजिक सञ्जालमा भने केही मानिसहरूले नोटहरू साबुनपानीले धुने र सुकाउने गरेको भिडिओ सार्वजनिक भएका छन् ।

सञ्जालमा देखिएका ती भिडियोहरूमा धोएर सुकाएको नोटलाई आइरनसमेत लगाएर सोझ्याएको देख्न सकिन्छ । नोट धोएको भिडिओ फेसबूक, टिकटक र रिल्सलगायतका विभिन्न प्लेटफर्ममा भेटिन्छ । भाइरल भिडियोहरूमा राष्ट्र बैंकले दशैंमा नयाँ नोट नदिएको कारणले नोटहरू धोएर सुकाएको र आइरन लगाएको भनेर क्याप्सन राखिएको छ ।

तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२, मुद्रासम्बन्धी कसुरअन्तर्गतको दफा २६३ को उपदफा (२) मा कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन भन्ने व्यवस्था गरिएको छ । साथै, उक्त ऐनमा नोट वा सिक्का जलाउन, गाल्न र च्यात्न नहुने जनाएको छ ।

सोही दफाको उपदफा (३) मा उपदफा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले पनि यस्ता कार्य नगर्न र नगराउन पटक–पटक निर्देशन जारी गरेको छ ।

Skip This
Skip This
Logo