बजारमा खाने तेल र कुखुराको मासुको मूल्यमा मनपरी ढंगले बृद्धि, सरकारी निकाय मौन

बजारमा खाने तेल र कुखुराको मासुको मूल्यमा मनपरी ढंगले बृद्धि, सरकारी निकाय मौन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय बजारमा खाद्यान्न, खाने तेल, मासु लगायत हरेक वस्तुको मूल्य अचाक्ली रुपमा बृद्धि हुन थालेको छ । विगत ९ महिनादेखि कोरोना भाइरस महामारी फैलिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको प्रभावले बजारमा खाद्यान्नदेखि हरेक वस्तुको मूल्य बढ्दै आएको छ ।

तर पछिल्लो एक महिना अगाडिसम्म सामान्यरुपमा रहेको बजारमा दशैं तिहारपछि अत्याधिकरुपमा मूल्य बढ्दै गएको छ । उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तु खाद्यान्न, खाने तेल र मासुको मूल्यबृद्धि हुँदै गएकाले उपभोक्ताहरु मारमा परेका छन् । अहिले नेपाली बजारमा सोयाबिन, तोरी र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले बढेको छ । एक महिनाको समयमा यी तेलको मूल्य प्रतिलिटर ५० देखि ६० रुपैयाँसम्मले वृद्धि भएको हो । दशैंतिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल अहिले बजारमा १७० देखि १८० रुपैयाँसम्म पूगेको छ । यस्तै, बजारमा प्रतिलिटर १६० रुपैयाँसम्म पर्ने सूर्यमुखि तेलको मूल्य २ सय रुपैयाँ भन्दामाथि पुगेको खुद्रा व्यापारीहरुले बताएका छन् ।

खुद्रा व्यापारीहरुका अनुसार बजारमा सोयाविन, सूर्यमुखिको जस्तै तोरीको तेलको मूल्य पनि प्रतिलिटर २० रुपैयाँभन्दा बढीले बढेको छ । होलसेलबाट नै तेलको मूल्य बढेर आएकाले आफूले त्यही अनुसार बिक्रि गर्दै आएको महालक्ष्मी नगरपालिकाका खुद्रा व्यापारी राजेश श्रेष्ठले बताए । उनका अनुसार प्याकेटमा पुरानै मितिमा मूल्य लेखिएको छ तर होलसेलले नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न मुस्किल भएको छ । यसरी तेलको मूल्य एक महिनाको बीचमै प्रतिलिटर ५० रुपैयाँ भन्दा बढीले बृद्धी भएकाले उपभोक्ता मारमा परेका छन् । बजारमा व्यापारीहरुले मनलाग्दीरुपमा मूल्यबृद्धी गर्दा पनि नियमनकारी सरकारी निकाय भने मौन रहेको छ । बजारमा तेलको मूल्य अचाक्ली बढेर उपभोक्ता मारमा परेको अवस्थामा पनि सरकारी अनुगमन प्रायः शुन्य हुनु सरकारी निकायको लापरबाही रहेको देखिन्छ । अनुगमनकारी निकायहरु चाडपर्व र संकटको घडीमा मात्रै बजार अनुगमनका निस्कने भएकाले अन्य समयमा व्यापारीहरुले मौका छोप्ने गरेका छन् ।

अहिले तेल उत्पादनमा, आयात निर्यातमा कुनै समस्या छैन तर बजारमा व्यवसायीहरुले कोरोना भाइरसलाई बेचेर व्यापार गर्ने प्रवृति बढेकाले मूल्यबृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । उनका अनुसार अनुगमनकारी निकाय मौन बसेको पनि भन्न मिल्दैन तर अनुगमन गर्ने तरिका डेटा वेसमा भएको छैन । उनले भने, ‘कोरोना महामारीपछि सबै व्यवसायीहरुले कोरोनालाई देखाएर कमाउ धन्दामा लागे तर सरकारले यसको न्युनिकरण गर्न सकेको छैन ।’

यता तेलको मूल्यसँगै बजारमा कुखुराको मासुको मूल्य पनि ह्वातै बढेको छ । कुखुराको मासुको मूल्य खुद्रा व्यवसायीहरुले एक महिनाको बिचमा नै ११५ रुपैंयाँ भन्दा बढीले बढाएका छन् । पछिल्लो एक महिनामा कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ भन्दा बढीले बढेको छ । तीन महिना अगाडिसम्म काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य २०५ रुपैंयाँ रहेकोमा मंसिर महिना लागेसँगै बजार प्रतिकेजी ३२० रुपैंयाँ पुगेको छ । तिहारसम्म २८० रुपैंयाँ प्रतिकेजी रहेकोमा गत सोमबारदेखि ३२० रुपैंयाँ पुगेको हो ।

अहिले बजारमा मासुको मूल्य बढ्नुको मूख्य कारण कोरोना महामारीपछि बन्द रहेका सबै क्षेत्र सञ्चालनमा आउनु तथा मंसिर महिनामा विवाहको सिजन सुरु भएकाले हो । तर मासु उत्पादनमा आएको ह्रासका कारण मासुको मूल्य बढेको पोल्टी संघले जनाएको छ । अहिले होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, होस्टल जस्ता व्यवसाय कोरोनाले ठप्प बन्दा कुखुरा किसान पेशाबाट बिस्थापित हुँदाको असर बजारमा देखिएको संघले जनाएको छ ।

कुखुराको मासु असोजमा महिनामा तीन वर्ष यताकै कम मूल्य भएको थियो । सामान्य अवस्थामा उपत्यकामा दैनिक तीन लाख किलो कुखुराको मासु खपत हुन्छ । कोरोनाले निम्त्याएको अहिलेको मन्दीमा ३० प्रतिशत मात्र खपत रहेको संघ जनाएको छ ।

Logo