काठमाडौँ । मुलुकको अर्थतन्त्रमा ‘रिसेसन विद स्ट्यागफ्लेसन’ को अवस्था सिर्जना भएको भन्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरु भएको ‘फीन इलेक्ट्रो टेक–२०२४’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्र करिब ४ वर्षदेखि ‘भोलाटायल’ अवस्थामा रहेको बताउँदै कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले विश्वव्यापी रूपमा पारेको प्रभावले अर्थतन्त्र संकुचित अवस्थाबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘रिसेसन विद स्ट्यागफ्लेसन’ को अवस्था भनेको ‘स्लो ग्रोथ’ र ‘हाई अनइम्प्लोइमेन्ट’को अवस्था हो । कोभिड महामारीको बेलामा लागू गरिएको लकडाउनले निजी क्षेत्र मर्कामा परेको अध्यक्ष अग्रवालको भनाइ छ ।
उनले त्यस बेलाको संकुचित मौद्रिक नीतिका कारण सिर्जित उच्च ब्याजदर, घरजग्गा कारोबारमा आएको शिथिलता, शेयर बजारमा आएको गिरावट र सहकारी क्षेत्रमा देखा परेको समस्या लगायतका कारण निजी क्षेत्रले क्षति बेहोरेको बताएका हुन् ।
अध्यक्ष अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रलाई ‘क्यापिटल फर्मेशन’ हुनुपर्ने खालका सहज नीतिहरूको आवश्यकता रहेको बताएका छन् । असोज १०, ११ र १२ गतेको भीषण बाढी तथा पहिरोले मुलुकका विभिन्न क्षेत्रमा गरेको ठूलो जनधनको क्षतिले पनि अर्थतन्त्रमा धक्का परेको उनको भनाइ छ ।
उनले नयाँ सरकार गठन हुँदा निजी क्षेत्र धेरै आशावादी रहेको भन्दै वर्तमान सरकारबाट आर्थिक सुधारको प्रतिबद्धता आए पनि प्राथमिकतामा भने नपरेको निजी क्षेत्रलाई आभाष भइरहेको बताए । यस्तै, सरकारले आर्थिक गतिविधि बढाउने खालका कदम चालेर अर्थतन्त्रका सबै क्षेत्रमा विद्यमान असहजताको अन्त्य गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।





























प्रतिक्रिया