काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को आज अन्तिम दिनमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूले आज पनि अवलोकन गर्न सक्ने छन् ।
भृकुटीमण्डपमा सञ्चालन भइरहेको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको यस बृहत् मेलामा विद्युत्का सम्पूर्ण सामग्रीहरू उपलब्ध रहेका छन् । उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको मेला धेरैको आकर्षणमा परेको देखिन्छ ।
अर्किडको इन्फ्रारेड विद्युतीय चुल्हो, ट्रान्सवेल्ड ट्रान्सफर्मरले राखेको ४ हजार केभीएको विद्युत् ’ट्रान्सफर्मर’ लगायतका सामग्री आम अवलोकनकर्ताको आकर्षणमा छन् ।
‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन कात्तिक ३० गते ९ हजारबढीले अवलोकन गरेका थिए । दोस्रो दिनको मेलामा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि अवलोकन गरेका थिए । उनले अवलोकनका क्रममा यस मेलाले नेपालको विद्युतीय सामग्री प्रयोग गर्न र प्रोत्साहनमा मद्दत गर्ने बताएका थिए ।
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको यस मेलाको तेस्रो दिन मंसिर १ गते मात्रै १५ हजारभन्दा बढीले अवलोकन गरेका थिए । तेस्रो दिन नेकपा एकीकृत समाजवादी (एस) का नेता सोमप्रसाद पाण्डेसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका साथै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले मेलाको अवलोकन गरेका थिए ।
महासंघले मेलाको तेस्रो दिनको अवसर पारेर नवीनतम् प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेको थियो । उक्त छलफलमा गण्डकी प्रदेशका जीटीईभीटीका कार्यकारी निर्देशक डा. सोमलाल सापकोटा, इन्जिनीयर उपेन्द्र बराल, महासंघका निवर्तमान अध्यक्ष सुदर्शनप्रसाद पौडेल र ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रालिका अध्यक्ष अमूल श्रेष्ठ सहभागी थिए । कार्यक्रमको सहजीकरण केन्द्रबिन्दुका प्रधान सम्पादक विदुर खतिवडाले गरेका थिए ।
इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले महासंघले मेलाको आयोजना गरेको यस मेला अवधिभर ५० हजारबढीले अवलोकन गर्ने महासंघले अपेक्षा लिएको छ । यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
फीन इलेक्ट्रो टेकमा हलभित्र र बाहिर गरी ९८ वटा पेभिलियन तथा स्टलहरू रहेका छन् । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।
फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रालि) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रालि) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली र अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरू रहेका छन् ।
यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एचपीएल, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।































प्रतिक्रिया