टोयोटाको ईभी आएपछि आक्रामक रूपले नेटवर्क विस्तार हुन्छ, एथर नम्बर वान पोजिशनमा पुग्छः सूर्यांश वैद्य

टोयोटाको ईभी आएपछि आक्रामक रूपले नेटवर्क विस्तार हुन्छ, एथर नम्बर वान पोजिशनमा पुग्छः सूर्यांश वैद्य

केन्द्रबिन्दु
405
Shares

काठमाडौं । नेपाली युवा व्यवसायीको रूपमा निकै परिचित नाम हो, सूर्यांश वैद्य । प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशन अन्तर्गतका दर्जनौं व्यवसायमा संलग्न भएर उनी नेतृत्व गरिरहेका छन् । उक्त अर्गनाइजेशनभित्रकै युनाइटेड ट्रेडर्स सिन्डिकेटका डाइरेक्टर तथा वैद्य इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् सूर्यांश ।

वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांश आगामी दिनमा संस्थाको उचाई अझै बढाउने उद्देश्यका साथ काम गरिरहेको बताउँछन् । उनै सूर्यांशसँग व्यवसायिक यात्रा, युवा व्यवसायीका चुनौती साथै अटो मार्केटसँग सम्बन्धित विषयसँग जोडिएर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं लामो समयपछिको विदेश अध्ययन पश्चात् आफ्नो व्यवसायमा अहिले निकै सक्रिय भएर लाग्नु भएको छ । यस दौरान व्यावसायिक अनुभव कस्तो हुँदै छ ?

–म व्यवसायिक घरानामा हुर्किएको मान्छे । यो प्लेटफर्मलाई चिन्नु महत्वपूर्ण छँदै छ । अध्ययनको सिलसिलामा म १८ वर्षको उमेरमा विदेश गएको थिएँ । र, मैले सामान्य तय मान्छेलाई लामो समयदेखि व्यवसायमा सक्रिय छु भनेर भन्दै आएको थिएँ । किनभने मेरो ब्याक ग्राउन्ड नै व्यवसायको हो । स्नातक तहको अध्ययन सकेर म अहिले नेपाल फर्किएको करिव ४ वर्ष भयो ।

यो दौरानमा वैद्यज् अर्गनाइजेशन भित्रका विभिन्न कम्पनीको नेतृत्व तहमा बसेर काम गरिरहेको छु । हामीले एथर ब्रान्डका इलेक्ट्रिक स्कुटरको बिक्री गर्दै आएका छौं । नेपालमा यो स्कुटर बिक्री सुरु भएको एक वर्ष पूरा भइसकेको छ । जुन मेरो नयाँ व्यवसाय पनि हो । नेपालमा अवसर धेरै छन् । कुन व्यवसाय राम्रो छ भनेर छनोट गर्ने प्रयास गर्दा लामो समय लाग्न सक्छ ।

टोयोटाका सदस्यहरूले ५०औं वार्षिकोत्सव मनाइराख्दा उहाँहरूको तुलनामा मलाई लाग्छ यो मेरो ४ वर्ष केही पनि होइन । मैले लामो यात्रा गर्न बाँकी छ । त्यसैले म आफै भविष्य र आगामी यात्रालाई लिएर उत्साहित छु ।

तपाईं एउटा युवा व्यवसायी, युवालाई काम गर्दै अगाडि बढ्दै जाँदा अप्ठ्यारो चाहिँ कस्तो आइलाग्दो रहेछ ?

–पहिलो काम कतै पनि सजिलो हुँदैन । तपाईं अमेरिका, जापान, नेपाल वा जहाँसुकै ठाउँमा भए पनि परिवर्तनको लागि काम गर्न सधैं गाह्रो हुन्छ । यदि समाज वा मानव जाति सुधारको लागि काम गर्दै हुनुहुन्छ भने त्यो झनै गाह्रो हुन्छ । मेरो लागि निकै चुनौतीको विषय नीति बुझ्न भएको छ । ठूला राष्ट्रबाट प्रेरित भई नीति निर्माताहरूले यहाँको नियम बनाएका छन् ।

ती कतिपय नीति नियमहरू यहाँ आवश्यक पनि छैन । किनभने धेरै देशहरूले आफ्नो क्षमता मापन गरेर आवश्यकताको पहिचान गरी त्यसको आधारमा नीतिहरू बनाइन्छ । आज देश छाड्नेको लर्को छ । उनीहरूले यहाँ समय दिएको भए देशमा ठूलो परिवर्तन आउन सक्थ्यो । तर, उनीहरु विदेश जानु गलत भने होइन ।

किनभने राम्रो अवसरहरू खोज्नु म आफैलाई ठिक हो जस्तो लाग्छ । सरकारी नीति नियमले अर्को १० वर्षसम्मको लागि आशा देखाउनु हो । हामी कहाँ पुग्नको लागि के गर्दैछौं ? त्यो हेर्न जरुरी छ । समस्याबाट पछि हट्ने नभई अगाडि बढ्नतर्फ प्रेरित हुनेछु । वैद्य इनर्जीले ५ जनाको टिमबाट एथरको ईभी स्कुटर बिक्री गर्दै आज ३६ जनाको टोली बनाएर काम गरी राख्दासम्मको अवस्थामा पक्कै चुनौती थिए ।

देशको अर्थतन्त्र सुस्त भएको टीकाटिप्पणी हुँदै आएको छ । यसले अटो क्षेत्रमा कस्तो असर पुर्याएको महसुस गर्नुभएको छ ?

–अटोमोबाइल नेपालको सबैभन्दा ठूलो उद्योग हो । रोजगारी सिर्जना र राजश्व संकलनमा पनि यो क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याएको छ । कोभिड–१९ ले अटोमोबाइल सेक्टरलाई निकै प्रभाव पर्यो । र, यो क्षेत्र निकै चुनौतीपूर्ण अवस्थामा पुग्यो । टोयोटा जस्ता लिगेसी ब्रान्डहरूलाई अफ्ठ्यारो पर्यो । तर, अहिले बिस्तारै गति लिँदै गएको अवस्था हो ।

नेपालमा सन् २०१८ देखि ईभी सवारीहरू आउन थाली सकेका थियो । त्यो बेला यसको बजार हिस्सा करिव ३ प्रतिशत थियो । यो अवस्थासम्म आइपुग्दा ८० प्रतिशत बजार ईभी कारले लिइसकेको छ । आर्थिक मन्दीका कारण पनि धेरै देशहरूमा ईभीले प्रभाव बनायो । अहिले धेरै जसोले ईभी गाडी किनिराख्नु भएको छ ।

तर, धेरै देशहरू फेरि हाइब्रिडतर्फ उन्मुख छन् । उनीहरूले बुझेका छन् कि सम्भवतः यो दिगो बाटो होइन । जेहोस् टोयोटा र एथरले बजारमा राम्रो छाप छोडिसकेको छ । त्यसैले ग्राहकलाई कसरी राम्रो सर्भिस दिन सकिन्छ भनेर निरन्तर लागिरहेका छौं। हाम्रो कर्मचारी संठन बलियो भयो भने हामी बलियो हुन्छौं ।

त्यसैले हामी प्रशिक्षणमा काम गरिरहेका छौं । एआईको प्रयोग गरी काममा कसरी सहज बनाउन सकिन्छ भनेर त्यो अभ्यास गरिरहेका छौं । मन्दी सधैं रहँदैन । हामीले यसलाई पनि एउटा अनुभव र अवसरको रूपमा हेर्नुपर्छ । बिस्तारै अटोमोबाइल क्षेत्रमा सहज वातावरण बनेको देखिँदै छ ।

टोयोटा प्यासेन्जर कारको बिक्रीमा लिडर मानिन्छ । तपाईंहरुले नेपालमा यो गाडी बिक्री गर्नु भएको लामो समय भइसक्यो । अहिले चाहिँ नेपाली बजारमा टोयोटाका गाडीको माग कस्तो छ ?

–टोयोटा ब्रान्डका गाडी ग्राहकका लागि निकै उपयुक्त गाडी हुन् । तर, हामी आयात करका कारण महँगो बनिरहेका छौं । हामीलाई धेरैले ग्राहकले सोध्नुहुन्छ टोयोटाको गाडी किन यति महँगो भनेर । जसको एउटै कारण हो गाडीमा सबैभन्दा बढी कर लाग्नु । अमेरिकामा ल्यान्ड क्यूजर गाडी आयात गर्दा हजार डलर कर लाग्छ । तर, त्यही गाडी नेपालमा ल्याउँदा ५ हजार डलर कर लाग्छ ।

३७० प्रतिशत कर तिरेर ल्याएको गाडीको यहाँ सस्तोमा आउने भएन । टोयोटा एउटा लक्जरी ब्रान्ड हो । लक्जरी सेगमेन्टमा नेपालमा टोयोटाको बजार ५० देखि ६० प्रतिशत छ । हामीले हाइब्रिडको गाडीको बारेमा पर्याप्त कन्भिन्स गर्न सकेका छैनौं । बढ्दो करले टोयोटालाई महँगो बनाइरहेको छ । तर, पनि नेपालमा टोयोटाको गाडीको प्रयोग राम्रो छ ।

तपाईंले टोयोटा गाडीको माग नेपाली बजारमा राम्रो छ भन्नु भयो । तर, तपाईंको कम्पनीको व्यापारमा पछिल्लो समय निकै कमि आएको देखिन्छ । यो विद्युतीय गाडीको प्रभाव हो ?

–टोयोटाले विगत दुई वर्षदेखि सकारात्मक ब्यालेन्स सिट कायम गर्दै आएको छ । कोभिडको समयमा विभिन्न कम्पनीले आफ्नो जनशक्ति घटाउनु परेको थियो । तर, हामीले आर्थिक अस्थिरताका कारण कुनै पनि कर्मचारीलाई बर्खास्त गरेका छैनौं । कोभिडको समयमा पनि उहाँहरूले पूरा तलब दिएका थियौं । हामीले आफ्नो नैतिकता उच्च राख्ने प्रयास गरिरहेका छौं । हामी नयाँ कारको बिक्रीमा रिले गरिरहेका छौं । र, जसमा थप नयाँ के गर्न सक्छौं भनेर लागिरहेका छौं ।

त्यससँग सम्बन्धित काम तीव्र गतिमा भइरहेको छ । हामीले एक कम्पनीको रूपमा सामान्य मानिस, उपभोक्तालाई मद्दत गर्न प्रयास गरिरहेका छौं । उदाहरणको लागि म पुरानो कार किन्न उत्साही छु । मैले विभिन्न भाडाका प्लेटफर्महरू मार्फत पुराना राम्रा दुर्लभ कारहरू किन्न प्रयास गरिरहेको छु । र, त्यो गाडी हेर्न जाँदा त्यो राम्रो थिएन ।

गाडी चलाउनको लागि आफ्नै गाडी चाहिँदैन । भाडामा पनि लिन सकिन्छ । भाडा थोरै छ भने त्यो गाडी सस्तो छ र भाडा महँगो छ भने गाडीको मूल्य धेरै छ । धेरै महँगो मूल्य नतिरीकन कसैले कारको स्वामित्व कसरी लिन सक्छ ? हामी यी चीजहरूको सामना गर्न मद्दत गर्दै छौं । प्राविधिक काममा विभिन्न प्लेटफर्महरू रहेर काम गरिरहेका छौं । धेरै समस्याहरू समाधान गरी अवसर सिर्जना गर्न प्रयास गर्दै छौं । टोयोटाको व्यापारिक हिसाबले व्यापार सन्तोषजनक नै छ ।

अरू कम्पनीले भटाभट ईभी ल्याइरहेका छन्, टोयोटाले भने अहिलेसम्म ल्याउन सकेको छैन । अब टोयोटाको विद्युतीय सवारी नेपालमा कहिले आउँछ ?

–नेपालमा टोयोटाको ईभी गाडी छिट्टै आउँछ । सम्भवतः सन् २०२५ को जुनमा यो आइपुग्ने छ । एसयूभीमा आधारित टोयोटाको अर्बन क्रुजर ईभी गाडी आउन लागेको हो । यसमा ४९ र ६१ किलोवाट आवरको दुई ब्याट्री विकल्पहरू दिइएको छ । यो ईभी गाडी नेपालमा आएपछि ग्राहकको रोजाइमा पर्ने हाम्रो विश्वास छ ।

टोयोटाको ईभी नेपाल आएपछि सर्भिस नेटर्वक तथा यसको पूर्वाधारहरू कसरी विकास गर्ने योजना बनाउनु भएको छ ?

–हामीले यसको चार्जिङ स्टेशनका लागि चीनका शीर्ष ५ कम्पनीहरूसँग साझेदारी गरेका छौं । हामीले चाँडै चार्जिङ स्टेशन देशैभर विस्तार गर्ने छौं । अहिले चार्जिङ स्टेशनको संख्या बृद्धि भइरहेको छ । तर, फास्ट चार्जरको कमी छ । टोयोटाको ईभी आएपछि चार्जिङ नेटवर्क आक्रामक रूपमा विकास गर्ने छौं । सँगसँगै यहाँका कर्मचारीलाई तालिम पनि दिँदै जाने छौं ।

अटोमोबाइलको पनि पाठ्यक्रम सिर्जना गर्न सकियो भने त्यसले पनि धेरै व्यक्तिहरूको सीप विकास गर्न मद्दत गर्ने थियो । हाम्रो अटोमोटिभ उद्योगहरूको प्लेटफर्म हो । हामीले सेकेन्ड ह्यान्ड वर्कशप सस्तो वा फरक भएका कारण त्यसलाई पछाडि छोड्न सक्दैनौं ।

तपाईंहरुले अहिले एथरका स्कुटर पनि बिक्री गरिराख्नु भएको छ । यो ईभी स्कुटरको चाहिँ बजार माग कस्तो छ ? सर्भिस सेवा कसरी उपलब्ध गराई राख्नुभएको छ ?

–एथर भारतको दुई पाङ्ग्रे सेगमेन्टमा शीर्ष ब्रान्ड मध्ये एक हो । यसको बिक्री नेपालमा राम्रो छ । अहिले राम्रो संख्यामा यसको बिक्री भइरहेको छ । यो स्कुटरको बिक्री सँगसँगै पूर्वाधार विकासमा पनि फोकस छौं । हामीले देशका विभिन्न स्थानमा यसका १४ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेका छौं ।

यस वर्ष हामीले हाम्रो सेवा सर्भिस नेर्टवक र टच प्वाइन्ट बढाउने योजना बनाएका छौं । जहाँ मानिसहरूले टेस्ट राइड र राम्रो सेवा पाउन सक्छन् । काठमाडौं र भक्तपुरमा यसको सर्भिस सेन्टर सञ्चालनमा आइसकेको छ । त्यसैले यो आर्थिक वर्षको १/२ महिनाभित्र ४ नयाँ स्थानमा यसको नेटर्वक थपिने छ ।

जसरी ईभी गाडीले मार्केट लिन सक्यो । त्यसरी नै दुई पाङ्ग्रे सवारीले मार्केट लिन सकेन नि, किन ?

–दुई पाङ्ग्रे ईभीको उत्पादनमा कुनै समस्या छैन । २ वर्षअघि उत्पादनको बजारीकरणमा अलिकति समस्या थियो । सर्भिस सेन्टर नभएकाले बिक्रीपछि एउटै कन्सिमेन्ट थिए, जसले गर्दा ग्राहकको विश्वास दुई पाङ्ग्रे ईभीमा थिएन । पूर्वाधार नबनाउने ब्रान्डका सवारीहरू किन्ने छैनन् । यस वर्षको तथ्याङ्कका हेर्दा करिव ४० वटा दुई पाङ्ग्रेका ब्रान्ड नेपालमा आइसकेका छन् ।

दुई पाङ्ग्रेको माग बढ्दै जाँदा थप नयाँ ब्रान्डको उपस्थिति हुने देखिन्छ । ईभी किन्न आउने ग्राहकले पहिलो प्रश्नै सर्भिस स्टेशनको भएकाले त्यसको मध्यनजर गर्दै काम गरिरहेका छौं । ईभीमा कार र दुई पाङ्ग्रेबीचको अवस्था ७० प्रतिशतले फरक छ । आईसीई र ईभीमा ५० ले फरक पार्न थालिसकेको अवस्था छ । चार पाङ्ग्रे र चार पाङ्ग्रे गाडीहरूबीचको सम्बन्ध विच्छेद भएको छ ।

नेपाल संसारमा एक मात्र देश हो जहाँ ईभी आईसीईभन्दा सस्तो छ । ईभी कारहरू उत्पादन र पूर्वाधार बनाउँदा धेरै खर्च हुन्छ । चीनले ईभीको पूर्वाधार मात्रै आज २५० बिलियन डलर खर्च गरिसकेको छ । दुई पाङ्ग्रे सवारीको पनि पूर्वाधारले विकास पाइराख्दा यसले प्रयोग बढ्दै गएको देखिन्छ ।

अन्त्यमा, आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ? तपाईंले हाँकेको कम्पनीहरू आगामी दिनमा कस्तो अवस्थामा देख्न पाइन्छ ?

–यदि मैले उत्कृष्ट हुनका लागि लक्ष्य राखेको छैन भने मैले काम पनि गरिरहेको छैन । त्यसैले एथरको लागि हामीसँग अर्को ५ वर्षको लागि धेरै व्यवस्थित म्याप आउट कार्य योजना छ । ईभीको दुई पाङ्ग्रे सेगमेन्टमा नम्बर वान हुने लक्ष्यका साथ काम गरिरहेका छौं । हामी लिगेसी ब्रान्ड बन्न चाहन्छौं । र, अन्य लेगेसी ब्रान्डलाई लिन पनि चाहन्छौं । अब दुई पाङ्ग्रे सवारीको पनि विकल्पमा ईभी नै हो ।

मेरो लक्ष्य भनेको देशभित्रै नयाँ पुस्तालाई नेतृत्व गर्न सक्ने जनशक्ति सिर्जना गर्नु पनि हो । जसले उनीहरूलाई चुनौतीहरू लिन तयार पार्ने र उनीहरूलाई जो कोहीको नेतृत्व गर्ने बनाउनु हो ।

Logo