पाटन (ललितपुर) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली उद्यम उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटनका क्रममा उनले स्वदेशी उत्पादन बढाउने अभियान कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याएका हुन् । “नेपालको उत्पादन बढाउन राष्ट्रिय अभियानका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।
उनले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि, २०८१ पारित भई राजपत्रमा प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै राजपत्रमा प्रकाशनलगत्तै कार्यान्वयनमा आउने समेत बताए ।
“मेक इन नेपाल र मेड इन नेपाल सरकारको प्राथमिकतामा छ, सरकारले दिने पोशाक भत्ताबाट नेपाली उत्पादनको उपयोग हुने नीति लिइएको छ”, उनले भने, “स्टार्टअप नीति गत वर्षदेखि लागू भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेस भएका अवधारणालाई रु एक अर्ब न्यूनतम ब्याजदरमा लगानी गर्ने तयारी अन्तिम तयारी छ ।”
उनले स्वदेशी वस्तु प्रयोगसम्बन्धि कार्यविधि लागू हुँदा धेरै क्षेत्रमा रोजगारी सृजना गर्न सकिने धारणा राखे ।
मन्त्री भण्डारीले १० दिनसम्म सञ्चालन हुने मेलाले ‘मेरो देश मेरो उत्पादन’को सान्दर्भिकतालाई टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले मेलामार्फत उत्पादनको बजारीकरण भई आर्थिक लाभ हासिल हुनुका साथै रोजगारीको सृजना हुने र घरेलुु तथा साना उद्योगको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया