काठमाडौं । भृकुटीमण्डपमा ‘मेक इन नेपाल एक्स्पो–२०२५’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०८१’ को आयोजना हुने भएको छ । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा उक्त मेला सञ्चालन हुने भएको हो ।
आयोजक टिमले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मेला माघ १० गतेदेखी १२ गतेसम्म सञ्चालन हुने बताइएको छ । नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखेर मेला आयोजना गर्ने भएको नेपाल परिमना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछाने जानकारी दिए । मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि लामिछाने बताए ।
त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो– २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहने लामिछानेले जानकारी दिए । प्रदर्शनीले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको नेपाल उद्योग परिसंघका महानिर्देशक डा. धनश्याम ओझाले बताए ।
मेलाले स्वदेशी उत्पादनको प्रचार–प्रसारका लागि विभिन्न रणनीतिक र सृजनशील उपायहरू अवलम्बन गर्नेछ । एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन गर्ने बताइएको छ । यस्तै, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुर्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम विश्वास लिइएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरू रहने छन् । जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरू रहने आयोजक टिमले बताएको छ । मेला आयोजना अवधिभर २० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजक टिमले राखेको छ ।































प्रतिक्रिया