काठमाडौं । प्लस टु अध्ययन गर्दै गरेका विद्यार्थी हुन् वा स्नातक अध्ययन गरेका विद्यार्थी अधिकांश नेपालमा बस्न चाहँदैनन् । यसरी हेर्दा युवाहरु नेपालमा भविष्य देख्न छोडिसके भन्नेमा सायद दुई मत नहोला । एकातिर नेताहरु, युवाहरुलाई देशमै रोजगारीको व्यवस्था मिलाउँछौं भन्दै खोक्रो नारा लगाउँछन् । अर्काेतिर वैदेशिक अध्ययनमा जाने विद्यार्थी हुन् वा वैदेशिक रोजगारीमा जाने युवाको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिन प्रतिदिन बढिरहेको छ ।
युवाले देशमा भविष्य देख्नै छोडे
तुल्सीपुरका विनायक रेग्मी झन्डै १ वर्ष देखि न्युजील्याण्डमा छन् । उज्जवल भविष्यको खोजीमा उनी अध्ययन भिसामा न्युजील्याण्ड पुगेका हुन् । उनलाई ५ वर्ष अगाडिसम्म आफ्नो भविष्य नेपालमै बनाउछु भन्ने थियो । व्यबशायि परिवारमा हुर्केका उनी व्यवसाय नै गर्ने सोचमा थिए । घर परिवारको सहयोगमा करोडौं लगानी गरेर व्यापार सुरु गरे तर चार वर्ष वितिसक्दा पनि सोचेको जस्तो उपलब्धी भएन ।
नेपालमै केही गर्छु भनेर मेहनत गरिरहेका उनी भविष्य देख्न छोडे । व्यापारमा सुधार आउनुपर्ने तर दिन प्रतिदिन खस्कँदै गयो । नेपालमै बस्ने अठोट गरेका उनको रोजाईमा अन्ततः विदेश नै पर्यो । उनी भन्छन्, ‘नेपालमा जति गरे पनि केहि हुँदैन । विदेशमा मेहनत गरे अनुसारको कमाई त छ ।’
पढाई सकाएर उतै भविष्य बनाउने उनको योजना छ । नेपाल कहिले फर्किने हो त्यसको कुनै टुङ्गो नभएको उनले बताए ।
त्यस्तै, रामेछापकी लक्ष्मी रुम्बा जापान गएको ८ वर्ष भैसकेको छ । स्नातक तहको अध्ययन पूरा गरी अध्ययन भिसामा गएको लामोसमय वितिसक्दा पनि उनी नेपाल फर्किएकी छैनन् । तत्काल बिदामा भए पनि नेपाल फर्किने योजना उनको छैन । तिमी गएको लामोसमय भयो नेपाल फर्किने योजना छैन भनी सोध्दा उनले भनिन्– ‘के छ नेपालमा जति कमाई हुन्छ त्यतिले राम्ररी खान पनि पुग्दैन । समयमा देश छोडेर राम्रो गरेछु । के छ र देश फर्किनलाई ? मलाई मेरो देश प्यारो लाग्छ भन्दैमा खान पुग्ने हैन । न त पढाई अनुसारको रोजगारी छ न छोरी मान्छेलाई सुरक्षा ।’
एक वर्षपछि बिदामा नेपाल आए पनि नेपालमै बस्ने उनको मनसाय छैन । केही समय बिदा मनाएर घर परिवारलाई आफन्तलाई भेटेर फर्किने उनको योजना छ ।
कतिले लिए एनओसी ?
वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या दिनानुदिन बढिरहेको छ । स्नातक वा स्नातकोत्तर अध्ययन सकेर वैदेशिक अध्ययनमा जाने भन्दा प्लस टु पछि वैदेशिक अध्ययनमा जानेको संख्या बढी देखिन्छ ।
एनओसी शाखाको तथ्यांकअनुसार गत साउन एक गतेदेखि असोज ३० गतेसम्म २७ हजार ७ सय २७ जनाले एनओसी लेटर लिएको देखिन्छ । आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५ सय ९३ जनाले एनओसी लिएका छन् ।
आर्थिक वर्ष २०७९–८० मा एक लाख १० हजार १ सय २७, आर्थिक वर्ष २०७८–७९ मा एक लाख २ हजार ५ सय ४, आव २०७७–७८ मा २८ हजार ८ सय २३, आव २०७६–७७ मा ३३ हजार १ सय ९६, आव २०७५–७६ मा ६४ हजार ४ सय १७, आव २०७४–७५ मा ५८ हजार ७ सय ५८, आव २०७३–७४ मा ५० हजार ७९६, २०७२–७३ मा ३७ हजार १ सय ४८ र आव २०७१–७२ मा ३० हजार ७ सय ९७ जनाले एनओसी लिएको शाखाको तथ्यांकले प्रष्ट्याउँछ ।
एनओसी लिने विद्यार्थीको संख्या

वैदेशिक अध्ययनमा कति रकम बाहिरियो ?
विद्यार्थीहरु वैदेशिक अध्ययनमा बाहिरिँदा सिप, जनशक्ति सँगसँगै भारी मात्रामा र कम पनि बाहिरिरहेको छ । यसरी रकम बाहिरिनु भनेको देशलाई ठुलो आर्थिक घाटा हो । पछिल्लो समय अभिभावक नै नेपालमा छोराछोरी पढाउन आनाकानी गर्न थालेका छन् । अभिभावक र विद्यार्थीले देशमा सम्भावना नदेख्दा मोटो रकम बाहिरिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा १ खर्व ४२ करोड ३३ लाख रकम बाहिरिएको थियो । आ.व. २०७६/७७ मा २५ खर्व ८१ करोड ३२ लाख, आ. व. २०७७/७८ मा २४ अर्ब ९५ करोड ९४ लाख रकम बाहिरिएको तथ्यांकले देखाएको छ । त्यसैगरि आर्थिक वर्ष २०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख रकम बाहिरिएको छ भने २०७९/८० मा १ खर्ब ४२ करोड ३३ लाख रकम बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कति रकम बाहिरियो ?

शिक्षा प्रणालीको गुणस्तर, अवसरको अभाव, विद्यार्थीमा विदेशप्रतिकाे मोह बढ्दो छ । साथै शिक्षा आर्जनका लागि मात्र होइन, आर्थिक रुपमा सक्षम हुनको लागि पनि विद्यार्थी पलायन हुनेको संख्यामा वृद्धि भैरहेको छ । तर पनि सरकारले कुनै पनि ठोस कदम चालेको अवस्था छैन ।































प्रतिक्रिया