ई-मोबिलिटीको दीर्घकालीन नीति बन्यो भने अटोको मार्केट अझै बढ्छः सीईओ साहिल श्रेष्ठ

ई-मोबिलिटीको दीर्घकालीन नीति बन्यो भने अटोको मार्केट अझै बढ्छः सीईओ साहिल श्रेष्ठ

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । बीवाईडीको नेपालका लागि अधिकारी वितरक साइमेक्स इंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिरहेका छन्, साहिल श्रेष्ठ । साइमेक्स इंकको सीईओको भूमिकामा रही करिव ४ वर्ष काम गरिसकेका उनी अटो सेक्टरका एक युवा नेतृत्वकर्ता हुन् । इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बीवाईडी गाडी नेपालमा आज अधिकांशको रोजाइमा पर्छन् ।

कम्पनीले नेपालमा बीवाईडीका ५ हजार बढी बिक्री गरिसकेको छ । चार्जिङ नेटवर्क विस्तार, सर्भिस सेन्टर विस्तार लगायतका पूर्वाधार विकासमा तीव्र लागि रहेको साइमेक्स इंकका आगामी कार्ययोजना, सीईओ भएर काम गरेको अनुभव लगायतका विषयमा उनै श्रेष्ठसँग राजिव न्यौपानेले कुराकानी गरेको सम्पादित अंशः

तपाईंले साइमेक्स इंकको सीईओ भएर काम गर्नु भएको ४ वर्ष भइसकेछ, यो अवधिसम्ममा कम्पनीलाई जुन स्तरमा पुर्याउने कल्पना गरेर अगाडि बढ्नु भएको थियो । तपाईं त्यो स्थानमा पुर्याउन कत्तिको सक्षम हुनु भयो ?

–सफलता र महत्वकांक्षा व्यक्तिपरक विषय हुन् । त्यो अवस्था र अवसर सिर्जना निकै गाह्रो छ । त्यसैले मैले यस्तो परिकल्पना गरेको थिएँ, यस्तो बनाएँ भन्दा पनि हामीले जुन योजना बनाएर अगाडि बढेका थियौं । जसबाट म खुसी छु । हामीले भविष्यमा गर्नुपर्ने काम धेरै छन् । कम्पनीका योजनाअनुरूप ती काम गर्दै अगाडि बढ्ने छौं ।

तपाईं साइमेक्स इंकको एउटा युवा नेतृत्वकर्ता, काम गर्दै जाँदा युवा लागि अवसर र चुनौती के हुँदा रहेछन् ?

–नेपाली अटो मार्केट फराकिलो हुँदै गएको अवस्था छ । देशमा देखिएको आर्थिक, राजनीतिक र नीतिगत समस्याले यो क्षेत्रमा प्रभाव पारेको छ । अटो क्षेत्रमा मात्र नभई अन्य क्षेत्रको विकासमा यसले बाधा पुर्याएको महशुस गर्न सकिन्छ । त्यसैले दीर्घकालीन नीति तर्जुमा साथै स्थायित्व राजनीतिक आभाष भयो भने बिजनेश गर्ने व्यवसायीलाई पनि नयाँ लगानी र योजना बनाउन सजिलो हुन्छ ।

साइमेक्स इंकका लागि सुरुवाती दिनमा धेरै समस्या थिए । नेपालमा अहिलेको जस्तो बीवाईडीको बिजनेश पहिला थिएन । पहिला सङ्का र चुनौतीले तर्साएको थियो । तल्लो स्तरबाट काम गरेर यो अवस्थामा कम्पनीलाई पुर्याउनु टिमको मेहनत नै हो । हामीले हरेक दिन राम्रो गर्नुपर्छ भनेर अगाडि बढी राखेका छौं ।

तपाईं अटो क्षेत्रसँग संलग्न भएर काम गर्नु भएको लामो समय भइसकेको छ, यो दौरान नेपाली अटो मार्केटमा आएको उत्तरचढाव यहाँले कस्तो देख्नुहुन्छ ?

–हामीले बीवाईडीको पहिलो मोडल बीवाईडी ई६ सन् २०१५ मा ल्याएका थियौं । २०१६ सम्म त्यसको प्रयोग चार्जिङ स्टेशन, पूर्वाधार विकास साथै म्यानपावर तयारमा फोकस थियौं । २०१७ मा आउँदा अब सरकारी तवरबाटै ईभीको जनचेतना बढाउनु पर्छ भनेर त्यसका अभियानहरू सञ्चालन गर्यौं । जसपश्चात् सरकारले पनि यसलाई सन् २०१८ आएर सकारात्मक रूपमा लियो ।

हामीले सो समय ईभी गाडी आयातका योजनाका साथै यसको पूर्वाधार विकास गर्नमा लाग्यौं । तर, अर्को वर्षको बजेटले कर बढाउँदा यो सेक्टर डाउन जस्तै भयो । यद्यपि अर्को वर्ष सरकारले लिएका यसमा नीति र प्रोत्साहन कार्यले व्यवसायीमा आशा थपियो । कारमा आएको उत्तरचढावले लगानी गर्न आगामी योजना तयार धेरै गाह्रो भयो । अहिले केही सहज हुँदै गएको छ ।

ई–मोबिलिटीको इको सिस्टम दीर्घकालीन हुन आवश्यक छ । यसमा आजको भोलि नै परिवर्तन देखिँदैन । नीतिमा छिटो परिवर्तन आयो भने समस्या धेरै क्षेत्र पर्छ । जसको आंकलन गरी दीर्घकालीन नीति तर्जुमाको माग आज हरेक क्षेत्रको हो । नेपाल सरकारले ईभीका लागि लिएका नीति लागू गर्दै प्रदूषण कम गर्ने, इन्धन आयातमा निर्भरता घटाउने र दीगो वातावरणको लागि योगदान पुर्याउने लक्ष्य राखेको छ । जुन लक्ष्य ईभीको प्रयोग हो ।

कुनै देशले जति पनि नयाँ क्रियाकलाप गर्छन् । त्यसले देशको अर्थतन्त्रमा पनि त्यति नै सकारात्मक प्रभाव पार्छ । नेपाल अन्य देशको तुलनामा ईभीको ग्रोथ राम्रो देखिन्छ । प्यासेन्जर कारमा आज ६६ प्रतिशत गाडी आज ईभीको भइसकेको छ । यसको प्रयोग अझै बढ्ने देखिन्छ ।

नेपालमा ईभीको मार्केट फराकिलो हुँदै गएको अवस्था छ । सरकारले लिएको ईभीमा नीति र रोड म्याप यहाँले कतिको उचित देख्नुहुन्छ ?

–ईभीको प्रयोग बढ्नुमा सरकारले लिएको नीति पनि एक हो । ईभीको आयातमा भएको केही सहुलियतले ईभी गाडीको मूल्यमा प्रतिस्पर्धी भइरहेको छ । नीतिगत रूपमा सरकारले शून्य कार्बन उत्सर्जन गर्न लिएको जुन लक्ष्य छ, त्यसको एउटा पाटो ईभी ग्रहण हो ।

नेपालमा ऊर्जा उत्पादनको सम्भावना प्रचुर छ । निर्यात भइरहेको अवस्थामा ईभी गाडीको प्रयोगले ऊर्जा खपत पनि मद्दत पुर्याउँछ । ईभीको लागि क्षणिक नीति नियमले हुँदैन । दिगो नीति भएको खण्डमा मलाई लाग्छ, अटो सेक्टरमा मात्र नभई हरेक क्षेत्र अगाडि बढ्छ ।

ईभी गाडीमा बीवाईडीको हिस्सा नेपालमा आज पनि निकै ठूलो भइसकेको छ । गाडी बिक्री सँगसँगै पूर्वाधार विकासमा चाहिँ कसरी काम गरिराख्नु भएको छ ?

–हामीले ईभी प्रोत्साहनको इको सिस्टम बनाएका छौं । नेपालमा अहिले बीवाईडीका ५० वटा फास्ट चार्जर छन् । त्यसमा एउटा एप बनाएर, चार्ज सँगसँगै अपरेटरको सहयोग पनि एपबाटै दिने योजना बनाएका छौं । उक्त एपमा विभिन्न सुविधाहरू समावेश हुन् । एप मार्फत पेमेन्ट, बुकिङ साथै यात्राको प्लानिङ गर्न सकिने फिचर दिने छौं । सो एप चाँडै सार्वजनिक गर्ने तयारी छ ।

देशभरका विभिन्न स्थानमा ११ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेका छौं । यो वर्ष सन् २०२५ मा आक्रामक हिसाबले चार्जिङ स्टेशन साथै सर्भिस सेन्टर स्थापना गर्ने छौं । हामी दक्ष जनशक्ति उत्पादनमा पनि फोकस छौं, जसको लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गरिरहेका छौं । नेपालमा पनि क्यापेबल इन्जिनियरहरूको उत्पादन गर्न सकौं भनेर यो काम गर्न लागेका हौं । यो वर्षभित्र बीवाईडीको २०० वटा चार्जिङ स्टेशन निर्माण हुने छन् ।

चिनियाँ ब्रान्ड बीवाईडीको नेपालमा मार्केट बढ्दै जाँदा एसेम्बलिङ प्लान्ट लगाउने योजना बनाउनु भएको छ कि छैन ?

–तपाईंहरुले जुन–जुन देशमा एसेम्बल प्लान्ट देख्नुहुन्छ, त्यहाँ विभिन्न प्रकारका प्लान्ट लागेका छन् । केहीले फ्सिड पार्ट्स आयात गरेर बनाउने गर्छन् । जुन देशमा यस्तो काम हुन्छ । त्यसको मार्केट साइज पनि प्रायः ठूलो भएको देखिन्छ । लगानी गरेपछि रिटर्न आउनु पर्यो । यहाँको मार्केटको साइज सानो छ । मैले यहाँ उत्पादन गरेर यहीँ खपत गर्ने की निर्यात पनि गर्ने त्यसले धेरै महत्व राख्छ । अहिले नै हामीले प्लान्ट बनाउने सोचेका छैनौं । भविष्यमा राम्रो वातावरणको सिर्जना भयो भने सोच्न सकिन्छ ।

तपाईंहरुमाथि कहिलेकाहीं आरोप पनि लाग्ने गर्छ, बीवाईडी गाडीको मोटर घटाएर बिक्री गरेको साथै राजश्व छलेको ? यो खासमा के हो ? यसभित्र कत्तिको यथार्थता छ ?

–हामीले गाडीका प्रयोगकर्तालाई गाडी र मोटरको छुटाछुटै सर्टिफिकेट दिएका हुन्छौं । सेम भेहीकल, सेम ब्याट्री, मोटर भएका नै गाडी बीवाईडीले पठाउने हो । बीवाईडी एट्टो ३ संगापुरमा, श्रीलंकामा लगायतका थुप्रै देशमा जान्छ । सन् २०२४ मा मात्रै बीवाईडीले ४० लाख गाडी बेचिसक्यो । यो अवस्थामा उसले ४ हजार ५ हजार गाडी लागि किन मोटरको क्षमता घटाउने ? मोटर क्षमता टेस्ट कहाँ गएर गर्न चाहनुहुन्छ । त्यहाँ गएर टेस्ट गर्दा तपाईं त्यसको क्षमता उही पाउनु हुन्छ । त्यसैले यो मान्छेको गलत बुझाइ मात्र हो ।

भनेपछि यो सबै कम्पनी प्रति लगाएको आरोप मात्र हो ?

–हो, यसमा केही पनि छैन । गाडीको मोटरमा कुनै फल्ट छैन ।

बीवाईडीले पैसा लिएर गाडी डेलिभरी नगरेको र गाडी दिएर बिलबुक नदिएको पनि सुनिन्छ नि ?

–यसमा कुनै समस्या छैन । यदि यस्तो समस्या छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामी जतिसक्दो ग्राहकलाई सन्तुष्ट बनाउन लागि रहेको हिसाबले राम्रो सर्भिस दिनु कम्पनीको मुख्य उद्देश्य हो । त्यसैले यस्ता समस्या छन् भने समाधान गर्ने छौं । सडक वा आयातमा केही ढिलाई भएका कारण डेलिभरीको केही समस्या हुनसक्छ । तर, त्यो अवस्था आएको खण्डमा ग्राहकलाई जानकारी पनि गराएका छौं । हामी समयमै गाडी डेलिभरी गर्ने र गुणस्तर सेवा दिनमा प्रतिबद्ध छौं ।

नेपालमा अझै पनि ईभीका विषयलाई लिएर मान्छे दुविधामा देखिन्छन्, अब ढुक्क भएर ईभी चढ्ने वातावरण बनिसकेको हो ?

–नेपालमा सन् २०१५ मा आएको बीवाईडीको एउटा गाडी छ । त्यो गाडी प्रयोग भएको करिव ९ वर्ष भयो । उक्त गाडीको टेस्ट ड्राइभ गरेर त्यसको परफर्मेन्स र त्यसको अनुभव लिन सक्नुहुन्छ । त्यो गाडी कुदाए पछि अनुभव लिन सकिन्छ । वारेन्टी पछि पनि ब्याट्री हेल्थ ७० प्रतिशत हुन्छ । भोलिका दिनमा ब्याट्रीको मूल्य घट्न सक्छ । सन् २०२३/२४ देखि मात्र इलेक्ट्रिक भेहीकल बुम भएको हो । वारेन्टी ग्यारेन्टी हुँदा मात्र कन्डिसनमा हुन्छ, ८ वर्षपछि सबै फेर्नैपर्छ भन्ने होइन । त्यसैले भोलिका दिनमा त्यो भन्दा राम्रो अप्सन पनि आउन सक्छ ।

बीवाईडी नयाँ गाडी अब नेपालमा कुन देख्न पाइन्छ ?

–केही समयअघि मात्र पोखरामा बीवाईडीको एमपीभी एम ६ गाडी सार्वजनिक भएको छ । उक्त गाडीसँगै बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन, बीवाइडी सिल र अल–न्यु ई६ गरी ५ वटा मोडल भइसकेका छन् । हामीसँग मार्केट सुइटेबल प्रडक्ट छन् । आगामी दिनमा सोही अनुसारको प्रडक्ट ल्याउने छौं । सन् २०२५ मा तपाईंहरुले बीवाईडीको नयाँ प्रडक्ट पक्कै देख्नुहुनेछ ।

अन्त्यमा, तपाईंले आगामी दिनमा यो कम्पनीलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

–हामीले ५ हजार बढी गाडी बिक्री गरिसकेका छौं । त्यो हाम्रो एउटा परिवार हो । त्यो परिवारको केयर गर्दै अगाडि बढ्ने छौं । हामी ३/४ वर्ष यतादेखि आक्रमक रूपमा आइरहेका छौं । भिजन एउटै बनाएर अगाडि बढिरहेको अवस्थामा कम्पनीको तर्फबाट केही नयाँ कामहरूको सुरुवात हुनेछ ।

Logo