काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
विश्व व्यापार सङ्गठन र काठमाडौँ विश्वविद्यालयले शनिबार आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा देखिएको बताए । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृङ्खलामा विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री पौडेलले दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौति र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गरी साझा धारणा तय गर्न यस्ता सम्मेलन उपयोगी हुने स्पष्ट पारे । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्नु आवश्यक रहेको उनले उल्लेख गरे ।
ठूलो लगानीमा निर्माण गरेका पूर्वाधारका संरचनामा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढीपहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति शुङ्खलामा पर्ने अवरोधलाई ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रिया अगाडि बढाउनुपर्ने अर्थमन्त्री पौडेलले बताए ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चीन, टर्की, इन्डोनेसियालगायत नौ देशका प्रतिनिधिको सहभागिता छ ।































प्रतिक्रिया