सर्लाही । विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुनः खुसी फर्काएका छन् । विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए ।
चार वर्ष पहिला विद्युतीय दुर्घटनामा पर्नुभएका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ । केही समयसम्म वैशाखीको सहारा लिएका उनी अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइ रहेका छन् । कृत्रिम खुट्टाको सहाराले उनलाई सामान्य काम गर्न र हिँड्डुल गर्न सहज मात्र भएको छैन । विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहेका छन् ।
‘‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो’’, उनले भने, ‘‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरुदण्ड बनेको छु । अटोरिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति गरेको उनले जानकारी दिए ।’’ अटोरिक्सा चलाएर कमाएको रु १६ लाखले एउटा पक्की घर बनाएको उनले बताए ।
एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उनले अर्को मयुरी थपेका छन् । अटोरिक्साकै कमाइबाट रु चार लाख ५० हजार खर्च गरेर नयाँ मयुरी थपेको उनले जानकारी दिए । कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उनले दैनिक रु सात ७ हजारसम्म कमाएको बताए ।
थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उनी बताउँछन् । खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उनले सुनाए । ‘‘दिनको रु सयको बिजुली खर्च हुन्छ ।’’ उनले भने, ‘‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन ।’’, बजारको दिन त भ्याइनभ्याई हुने गरेको उनको अनुभव छ । राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याए ।
आफूले अटोरिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँच वटा मयुरी थपिएको उनले बताए । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिए । विसं २०६० मा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो । दुई भाइ र एक बहिनी मध्यका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएका थिए । उनी विसं २०७६ मा विद्युतीय दुर्घटनामा परेपछि परिवारको विचल्ली भएको थियो ।
‘‘सम्पत्तिको नाममा दुई कठ्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घर बाहेक केही थिएन ।’’ सन्तलालले भने, ‘‘आफू पहिलेदेखि अपाङ्ग एक मात्र भरोसा जेठो छोराको त्यस्तो भएपछि हामी सडकमा आइपुगेका थियौँ । हारगुहार गरेर छोरा त बचाएँ । अब कसरी जीवन धान्ने भन्ने दिन आयो । केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिएको मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो ।’’ उनले गहभरी आँसु बनाउँदै भने ।
त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउँछिन् । ‘‘छोरा दुर्घटनामा परेपछि त मेरो लागि सारा धर्ती भासिए जस्तै भयो’’, उनले भनिन्, “श्रीमान्को हात काटिएपछि घर हेर्ने छोराको अवस्था यस्तो भएपछि के भयो होला ? सम्झना गर्न मन लाग्दैन ।’’ छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उनको भनाइ छ ।































प्रतिक्रिया