सिजी मोटर्स अटो क्षेत्रको अग्रणी श्रेणीमा रहन्छ, नयाँ ब्रान्ड थप्दै अगाडि बढ्छौंः ‍सीई‌ओ हेमन्त अग्रवाल

सिजी मोटर्स अटो क्षेत्रको अग्रणी श्रेणीमा रहन्छ, नयाँ ब्रान्ड थप्दै अगाडि बढ्छौंः ‍सीई‌ओ हेमन्त अग्रवाल

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । सिजी ग्रुपअन्तर्गतको सिजी मोटर्स नयाँ ब्रान्डका इलेक्ट्रिक भेहिकल (ईभी) गाडीको आयात, चार्जिङ नेटवर्क साथै सर्भिस सेन्टरको विस्तारमा आक्रामक भएर अगाडि बढिरहेको छ । २०० बढी चार्जिङ स्टेशन निर्माण गरी ईभीको पूर्वाधार विकासमा नम्बर वान श्रेणीमा रहेको यस कम्पनीले छिटै स्टेशन संख्या ४०० पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

ईभी सवारीको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै विभिन्न ब्रान्ड गाडी थप्दै आएको सिजी मोटर्स यो श्रेणी कायम राख्दै काम गर्ने उद्देश्य लिएको सीईओ हेमन्त अग्रवाल बताउँछन् । उनै सीईओ अग्रवालसँग सरकार वा निजी क्षेत्रले ईभीको पूर्वाधार र सञ्चालनमा बनाएको रणनीति, सिजी मोटर्सले गरिरहेका काम र अटो क्षेत्रमा सरकारले तर्जुमा गर्नुपर्ने रोडम्याप लगायतका विषयमा केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा एकपछि अर्को नयाँ ब्रान्डका ईभी गाडी आयात भइरहेका छन् । ईभीमा आएको उत्तरचढावको यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

–संसारभरको अटोमोटिभ प्रविधि परिवर्तन भएर ईभीतर्फ मोडिँदै छ । टेस्ला जस्तो कम्पनी ई–मर्ज भएर ईभी प्रविधिलाई अगाडि ल्याएको देखिरहेकै छौं । चाइनाले ३/४ वर्ष यता जुन तरिकाले आक्रामक भएर गाडीको उत्पादन गरिरहेको छ । सोही अनुसार आज चाइनामा आईसीईभन्दा ईभी गाडी बढी बिक्री हुन्छ ।

चाइनामा सन् २०२४ सम्म ४० प्रतिशतसम्म ईभी गाडी बिक्री थियो । ईभी गाडीमा पेट्रोल र डिजेलको ठाउँमा बिजुली प्रयोग सकिने, कार्बन उत्सर्जन घटाउने, जलवायु परिवर्तनलाई रोक्नमा सहयोग पुर्याउने, सस्तोमा चार्ज गर्न सकिने भएकाले यसलाई ग्राहकले रुचाएका हुन् ।

यी सबै फाइदाले गर्दा मान्छेहरू द्रुत रूपमा ईभीतर्फ मोडिँदै छन् । धेरै देशहरूले ईभीको खरिदमा अनुदानका साथै कर छुट दिएका छन् । जसले यसको प्रयोगलाई अझै प्रभावकारी बनाएको देखिन्छ । नेपालमा अहिले जति पनि नयाँ–नयाँ मोडल, प्रडक्ट, ब्रान्ड आइरहेका छन्, त्यो बजारमा माग बढेकै कारणले हो ।

नेपालमा ईभीको ग्रोथ जुन तरिकाले भइरहेको छ । त्यो अनुसार सरकार वा निजी क्षेत्रले पूर्वाधार र ईभी सञ्चालनमा बनाएको रणनीति पर्याप्त छन् ?

–ईभीको प्रयोग बढे जसरी पूर्वाधार विकास भएको छैन । यसको बढ्दो प्रयोगलाई निहाल्दै सरकारले आक्रामक हिसाबले पूर्वाधार विकासमा लगानी गर्नुपर्ने हो । तर, सरकारले पूर्वाधार बनाउनमा मन्द गति लिएको देखिन्छ । अझै पनि चार्जिङ स्टेशनको कमी छ । निजी कम्पनीहरू मध्ये ईभीको पूर्वाधार विकासमा सिजी मोटर्स सबैभन्दा अगाडि छ । हामीले अहिलेसम्म २०० बढी ठाउँमा चार्जिङ स्टेशन तयार गरिसक्यौं । यो हिसाबले अन्य ब्रान्डले चार्जिङ स्टेशन निर्माण गरेका छैनन् ।

सिजी मोटर्सले अन्य कम्पनीको तुलामा ४/५ गुण बढी चार्जिङ नेटवर्क बनाएको छ । देशमै उत्पादन भएको ऊर्जाबाट ईभी कुद्ने हो । भारतबाट आज ठूलो परिणाममा ग्यास साथै इन्धन उच्च मूल्यमा आयात गर्छौं । सरकारले यही भएको ऊर्जा उत्पादनमा आफ्नो क्षमता र मार्केट विस्तार गरी उक्त वस्तुको आयातलाई कम गर्न ढिलाइ गरिरहेको छ ।

प्रत्येक वर्ष ईभी गाडीको आयातमा कर बढाइन्छ । त्यसले ग्राहकहरूलाई निरुत्साहित तुल्याइरहेको छ । ईभीमा कर नबढाउँदा राजश्व संकलनमा कम भयो भने अन्य ठाउँबाट राजश्व संकलनको बाटो खोज्न सकिन्छ । हामीले बत्तीको मूल्य चार्जिङका लागि निकै न्यून राखेका छौं । प्रति युनिट ६ रुपैयाँ दरले चार्जिङ सेवा उपलब्ध छ ।

भारतमा २० र चाइनामा ३० रुपैयाँ प्रति युनिट बत्तीको शुल्क तोकिएको छ । चार्जिङमा २०/३० रुपैयाँ तिर्दा पनि इन्धनको तुलनामा ईभीको सञ्चालन खर्च कम नै आउँछ । त्यसैले आयातमा कर घटाएर चार्जिङको रेट बढायो भने राजश्व त्यहाँबाट कभर हुनसक्छ । सुरुवातमा गाडी किन्न सस्तो हुनुपर्‍यो । सुरुवातमै महँगो भयो भने ६ रुपैयाँको युनिटको बत्ती दिएर के गर्ने ? त्यसैले सरकारी नीति पनि भिजन लिएर चल्नुपर्ने देखिन्छ ।

ईभी सञ्चालनको उपयुक्त नीति नबनेको खण्डमा भोलिका दिनमा कस्तो समस्या आउन सक्छन् ?

–चाइनाबाट विभिन्न ब्रान्डका गाडीहरू आइरहेका छन् । ईभी गाडी किन्दा उक्त प्रडक्टको गुणस्तरमा निकै भर पर्छ । त्यसमा ग्राहकले छनोट गर्दा सचेत हुनुपर्छ । ईभीको कोर प्रविधि ब्याट्री भएकाले त्यसको विश्वसनीयताका बारेमा ग्राहक आफैंले बुझ्न जरुरी छ । एक करोड रुपैयाँसम्मको ईभी किन्दै हुनुहुन्छ भने त्यसमा कुन किसिमको ब्याट्री छ । त्यसको लोकल उत्पादनकर्ता को हो र उक्त कम्पनीको अवस्थाबारे बुझ्न निकै आवश्यक छ । जुन ग्राहक आफैंले हेर्नुपर्ने कुरा हुन् ।

यातायात व्यवस्था विभागले गाडीको आयातमा एक किसिमको मापदण्ड बनाएको छ । कतिपय मापदण्डहरू वि.सं. २०४९/५० सालमा बनेका छन् । सिजी मोटर्सले अहिले सार्वजनिक यातायातको लागि ईभी गाडी आयात गरिरहेको छ । इलेक्ट्रिक माइक्रो भ्यानमा सिजी सबैभन्दा अगाडि छ । यो सेग्मेन्टमा कम्पनीको मार्केट सेयर ७५ प्रतिशत छ । तर, जुन माइक्रो बसमा यातायात विभागमा मापदण्ड छ । त्यो कुनै २०५४ कुनै २०४९ सालको तिरको छ । त्यसैले मापदण्डलाई समय सान्दर्भिक बनाउनु आवश्यक छ ।

तपाईंले भने जस्तै, ब्रान्ड नबुझी गाडी किन्ने र चाइनाबाट आएका गाडीको उत्पादन बन्द भयो भने ति गाडीका नेपाली प्रयोगकर्ताहरूले दुःख पाउने परे हैन ?

-तपाईं कुनै चिजमा लगानी गर्दै हुनुहुन्छ भने कस्तो वस्तुमा लगानी गर्दैछु भनेर पक्कै हेर्नुहुन्छ । चाइनामा कुनै गाडी कम्पनीले उत्पादन गरी गाडी सार्वजनिक गर्‍यो भने १० वर्षसम्म स्पेयर पार्ट्सको ग्यारेन्टी गर्नुपर्छ । नत्र उक्त गाडी कम्पनीका उत्पादक साथै म्यानेजमेन्टलाई समातेरै लैजान्छ । किनभने त्यहाँको कानून कडा छ । चाइनामा सार्वजनिक भएका गाडी किन्नमा जोखिम छैन ।

गुणस्तरका हिसाबले चाइनिज गाडीहरू धेरै राम्रो भइसकेको छ । ब्याट्री टेक्नोलोजीमा आज चीन सबैभन्दा अगाडि छ । विश्वको ९० प्रतिशत ब्याट्री चाइनामा उत्पादन हुन्छ । चाइनिज इमेज पहिलाको जस्तो छैन । चाइनिज गाडीको क्वालिटीमा कुनै कोरियन, जापनिज भन्दा कम छैन ।

सिजी मोर्टसले पनि चाइनाका प्रिमियम गाडी बेचिरहेकाे छ । त्यो गाडी कुनै पनि हिसाबले कमसल देखेका छैनौं । ग्राहक पनि सचेत भएर गाडी किन्यो भन चाइनिज गाडीमा समस्या छैन । नीति नियम पनि कडा हुनुपर्‍यो । राम्रो ब्रान्ड लिनु हुँदैछ भने त्यसमा १ प्रतिशत पनि गुणस्तरको लागि सम्झौता छैन ।

सरकारले ईभीमा प्रोत्साहन गरेता पनि यसको आयात गर्दा भन्सारमा अझै समस्या छ भन्छन्, यसबाट आयातकर्ताले कस्ता समस्या झेल्नु परिरहेको छ ?

-प्रविधि र बजार जुन गतिले अगाडि बढिरहेको छ । त्यो अनुसार सरकारी नीति नियमको विकास छैन । मोटरको किलोवाटसँग लिङ्क गरेको ड्युटी स्ट्रक्च संसारको धेरै कम ठाउँमा होला । मोटर एउटा सफ्टवेयरले कन्ट्रोल हुने चिज हो । त्यसको पावर रिडिउस सामान्य तरिकाले गर्न सकिन्छ । सरकारले गाडीमा मोटर पावर यति लिमिट हुनुपर्छ भनेर उल्लेख गरिएको छ ।

उत्पादक कम्पनीले मोटर यति छ भनेर सर्टिफिकेट दिएर पठाएको गाडी त भन्सारले बुझ्नुपर्‍यो । तर, त्यति गर्दा पनि आयातको प्रक्रियामा थुप्रै समस्याहरू देखिन्छ । २०५० साल अघिको नीति ईभी आएपछि केही मोडिफाई हुनुपर्याे । बाटोको अवस्था पहिलाको भन्दा खराब भइसक्यो । जसको लागि गाडीको ग्राउन्ड क्लियरेन्स उच्च हुन आवश्यक छ । यस्ता विषय नियममा समेटिनु आवश्यक छ ।

कमर्सियल भेहिकल अहिले नै नेपालको लागि फिजिबल छैन । यसले सञ्चालन खर्च बढाउँछ भन्छन् । नेपालमा यो सञ्चालनको अवस्था कस्तो छ ?

-हामीले विगत ३ वर्षदेखि ईभी कमर्सियल भेहिकल बिक्री गरिरहेका छौं । हामीले त्यसको ब्याट्रीमा अहिलेसम्म टेक्निकल इस्यु देखेका छैनौं । सर्भिसिङका बारेमा धेरै बुझिराख्नुभएको छ । डिजेल गाडी १० हजार किलोमिटर कुदाए पछि सर्भिसिङ गर्दा त्यसमा ३०/४० हजार रुपैयाँको खर्च आउँछ ।

तर, ईभीको मर्मत सम्भारमा खर्च कम भएकाले ईभी कमर्सियल भेहिकल चलाउनेहरू अहिले खुसी छन् । बैंकले पनि ईभीका सार्वजनिक यातायातमा लगानी गरेका छन् । लोनबाट निकालेका ईभी चालकहरूले मासिक रूपमा किस्ता बैंकलाई बुझाएको मैले पाएको छु ।

माइक्रोबस सञ्चालनमा सहज होला । तर, ठूला बस तथा ट्रक सञ्चालन गर्न कतिको उचित छ ?

-ठूलो बस अहिलेसम्म ईभीमा खासै भित्रिन सकेको छैन । साझा यातायातले विद्युतीय बस सञ्चालन गरिरहेको छ । एउटा निश्चित साइज वा ६ मिटर भन्दा माथिका गाडीको च्यासिस धेरै ह्याबी हुन्छ । त्यसलाई ठूलो साइजेको ब्याट्री चाहिन्छ । त्यसैले डिजेल गाडीको तुलनामा ईभीका ठूला सवारीहरू धेरै महँगो पर्न जान्छ । ७ वा ८ मिटरका ३० सिटे बस किन्न डिजेल गाडीको तुलनामा ३ गुण महँगो ईभी गाडी छ ।

ठूलो क्षमताको गाडीमा ब्याट्री साइज पनि ठूलो भएकाले मूल्य बढी हुन्छ । सन् २०२५ मा ब्याट्रीको मूल्य अझ घट्न सक्ने आंकलन गरिँदै आएको छ । ब्याट्रीको मूल्य घट्दै गयो भने हेभी भेहिकल पनि ईभीमा कन्भर्ट हुन्छ । सिजी बिक्री गर्ने ११ सिटे १६ सिटे भ्यान आज डिजेल गाडी भन्दा सस्तो भइसक्यो ।

सिजी मोर्टसले आज थुप्रै ब्रान्डका साना ठूला ईभी गाडी बिक्री गरिरहेको छ । त्यो गाडी बिक्रीपछि ग्राहकबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?

–हाम्रीले हाम्रो ब्रान्डको पोर्टफोलियो विकास गर्न सेग्मेन्ट वाइज गाडी ल्याइरहेका छौं । चाइना लेफ्ट ह्यान्ड ड्राइभ मार्केट हो । एउटा चाइनिज उत्पादकले पूर्ण रूपमा राइट ह्यान्ड ड्राइभको विकास गर्दैन । उसले १/२ वटा मोडल मात्र राइट ह्यान्ड ड्राइभको विकास गरेको हुन्छ । कुनैले सानो, कसैले ठूलो एसयूभी, कुनैले भ्यान बनाएको हुन्छ । सेग्मेन्ट वाइज राम्रो प्रडक्ट सुरक्षित गर्दा धेरै ब्रान्डको पोर्टफोलियो सिजी मोटर्सले बनाएको हो । ओभरल मार्केटबाट राम्रो फिडब्याक छ । अहिले ७० प्रतिशत नेपालीले किनिरहेको गाडी ईभी हो । देशमा ईभीको सकारात्मक दिशा छ । भविष्यका लागि जुन राम्रो विषय हो ।

चार्जिङ नेटवर्क विस्तार, ब्याट्री, सर्भिस सेन्टरको तयारमा सिजी मोटर्स निकै अगाडि छ । अहिलेसम्म कति वटा सर्भिस सेन्टर र चार्जिङ स्टेशन तयार गर्नु भयो ?

–सिजी मोटर्सले २२ वटा सर्भिस सेन्टर बनाइसकेको छ । अबको तीन महिनामा त्यो ४० ठाउँ हुँदैछ । हरेक मेजर हाइवेमा तपाईंले अब हाम्रो सर्भिस सेन्टर भेट्नु हुन्छ । सिजीका २०० बढी चार्जिङ स्टेशन निर्माण भइसकेका छन् । केही महिनाभित्रै यो संख्यालाई वृद्धि गरी ४०० पुर्याउँदै छौं । ईभी गाडीको बिक्रीमा सिजी मोटर्सलाई अग्रणी श्रेणीमै राख्ने लक्ष्य छ ।

तपाईंहरुले नेपालमै ईभी एसेम्बल प्लान्ट लगाउनेबारे के सोच्नु भएको छ ?

-कुनै पनि देशमा गाडी आयातमा कर धेरै छ । उत्पादनको लागि एसेम्बल प्लान्टको पोलिसी हुन्छ । इन्धनका दुई पाङ्ग्रे सवारी एसेम्बल यहाँ कर दर कम छ । जसबाट मार्जिन पनि लिन सकिन्छ । ईभीमा अहिले त्यो लेबलको कर छैन । १०० किलोवाटसम्मको गाडीमा करिव ५० प्रतिशतसम्म भ्याट, रोड ट्याक्स आदि तिर्छौं ।

एसेम्बल गर्दा सरकारले कि शून्य प्रतिशत कर भन्दिनुपर्‍यो । अनि मात्र चल्न सकिन्छ । १०/१५ प्रतिशत कर बचतको लागि यहाँ एसेम्बल फिजिबल छैन । एसेम्बल गर्दा खर्च छ । इन्जिनियरहरू उपलब्ध पनि छैन । मार्केट पनि सानो भएकाले ईभीका लागि अहिले नै एसेम्बल उपयुक्त छ जस्तो देखिँदैन ।

तपाईंहरुले बिक्री गर्दै आउनु भएको नेटा गाडी अहिले चाइनामा बन्द छ । यसले नेटाका ग्राहकलाई समस्या थपेकाे हाे ?

-चाइनामा नेटा गाडीको उत्पादन बन्द भएको छैन । नेटाको ६ वटा ठाउँमा प्रडक्सन युनिट छ । जब हामीले नेटा कम्पनीलाई बजारमा ल्यायौं । त्यो चाइनिज नयाँ ब्रान्डहरू मध्ये उच्च गाडी बिक्री हुने कम्पनीहरू मध्येको एक थियो । उसले निकालेको १/२ वटा प्रडक्टले मार्केट लिन नसकेर उद्योगले उत्पादन घटाको थियो । तर, चाइनामा सन् २०२४ मा नेटाले ‘बेष्ट सर्भिस सपोर्ट अवार्ड’ र २०२३ मा ‘बेस्ट सेल अवार्ड’ पाएको थियो ।

निसान कम्पनी बन्द हुने अवस्था आएपछि होण्डासँग मर्ज भयो । नेटाको त्यो अवस्था छैन । अटोमोटिभ सेक्टरमै अलिकति उतरचढाव आएको हो । चाइना सरकारले उक्त कम्पनीलाई लगानी गरी पुनः पहिलाकै लयमा फर्किसकेको भनेर कम्पनीले विज्ञप्ति निकालेको छ । नेटा फन्डामेन्टलली स्ट्रोङ छ । उक्त कम्पनीको गाडीसँगै पार्ट्सहरु पनि ल्याइरहेका छौं । त्यसले नेटा ढुक्क भएर किन्दा र प्रयोग गर्दा फरक पर्दैन ।

तपाईंहरुले दुई पाङ्ग्रे सवारी बिक्री गरिराख्नु भएको छ । तर, ईभी बिक्री गर्ने हिम्मत गर्नु भएन नि किन ?

–हामीले ईभी दुई पाङ्ग्रे ल्याउने भनेर ओलासँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका थियौं । तर, भारतबाट निर्यातको लाइसेन्स इस्यु आएर उक्त कम्पनीले निर्यात गरेको छैन । नेपालमा ईभी दुई पाङ्ग्रे सवारीको प्रयोग २ प्रतिशत देखिन्छ । चार पाङ्ग्रेको ४० प्रतिशत छ । नेपालमा मान्छेहरूले दुई पाङ्ग्रेलाई एउटा शहरमा मात्र नभई अर्को ठाउँसम्म जानको लागि प्रयोग गर्छन् । तर, ईभी दुई पाङ्ग्रेबाट लामो दुरी तय गर्न नसकिने भएकाले यस्तो किसिमको सवारीको प्रयोग नबढेको हो ।

चार पाङ्ग्रे ईभी चार्ज गर्ने फास्ट चार्जरहरु छन् । ३/४ सय किलोमिटर रेन्ज भएका गाडी बजारमा प्रशस्त छन् । स्कुटर वा बाइकमा ठूलो क्षमताको ब्याट्री राख्न गाह्रो छ । फास्ट चार्जरले दुई पाङ्ग्रे मोटरसाइकल चार्ज हुँदैन । ब्याट्री फुल चार्ज बनाउनै घण्टौं लाग्यो भने यात्रा गर्नमा त्यति प्रभावकारी हुँदैन । त्यसैले यसको प्रयोग त्यति बढेको छैन ।

नेपालमा छिट्टै हिरोको ईभी सवारी आउँछ । हिराेले भारतमा भिडा स्कुटर सार्वजनिक गरिसकेको छ, त्यो स्कुटर चाँडै ल्याउँछौं । ईभी स्कुटरको मूल्य महँगो छ । आज भारतमा ४० प्रतिशत ईभी बिक्री हुन थालेको छ, त्यहाँ गाडी किन्नका लागि सहुलियत पनि छ । तर यहाँ सहुलियतको सट्टा कर छ ।

अब नयाँ कुन–कुन ब्रान्ड थप्नु हुन्छ ?

-हामी नयाँ ब्रान्ड थप्दै जाने छौं । अफर्टेबल मूल्यको ईभी एसयूभी गाडी कम्पनीले ल्याउँदै छ । जुन चाइनाको एउटा प्रतिष्ठित ब्रान्ड हो । ४० लाख रुपैयाँसम्मै उपलब्ध हुने उक्त गाडी मूल्यका हिसाबले गेम चेन्जर हुनेछ । प्रिमियम ब्रान्डको चाइनाको लेक्सस गाडी पनि सार्वजनिक गर्दैछौं । जसमा प्रिमियम फिचरहरू छन् । उक्त गाडीलाई नेपालमा १ करोड रुपैयाँमाथि पर्न सक्छ ।

अहिलेसम्म कति वटा गाडी बेच्नु भयो ?

-अहिलेसम्म हामीले करिव ४ हजार गाडी बिक्री गरिसक्यौँ । आयातको हिसाबले हेर्ने हो भने कुल गाडी आयातको २५ प्रतिशत गाडी आयात सिजीले गरिरहेको छ । नेपालमा सबै भन्दाबढी ईभी गाडी भित्र्याउने र बिक्री गर्नेमा सिजी मोटर्स छ । कमर्सियल भेहिकल मान्छेले आम्दानी गर्ने साधन हो । हाम्रो गाडीहरूबाट ग्राहकहरू पनि खुसी हुनुहुन्छ ।

ईभीले राम्रो आय दिने बाटो नेपालमा खोलेको छ । समयमै सर्भिस दिन सकिएन भने उसको आय बन्द हुन्छ । त्यसैले ९५ प्रतिशत गाडीहरू उक्त दिनमै रिपेयर गर्ने व्यवस्था मिलाएका छौ । हामी पनि ग्राहकलाई कसरी छिटो सर्भिस दिन सकिन्छ भनेर फोकस गरिरहेका छौं ।

भोलिका दिनमा ईभीको वर्कसप अहिले जसरी बाटो बाटोमा हुने सम्भावना कति छ ? कि गाडी बिक्री गर्ने कम्पनी आफैंले सर्भिस दिने हो ?

-यो वातावरण बन्छ । हाम्रो ११ सिटको केवाईसी भ्यान करिव १५ सय वटा बिक्री भएका छन् । यसको पार्ट्स सहज रूपमा पाइन्छ । यो गाडीको पार्ट्स थर्ड पार्टीले बिक्री गरेको भेटिन्छ । हामीले यसलाई स्वागत गर्नुपर्छ । कमर्सियल भेहिकलको पार्ट्स सस्तो र सहज रूपमा उपलब्ध हुनुपर्छ । मेकानिकलहरूको संस्थासँग सहकार्य गरी देशभरका मेकानिकलहरूलाई ईभी गाडी बनाउने तालिम दिने योजना बनाइरहेका छौं । हामी उहाँहरूलाई ईभीको पार्ट्सको रिसेलर पनि बनाउन चाहन्छौं । ईभी जहाँ पनि बनोस् र पार्ट्स पाओस् भन्ने हाम्रो टार्गेट हो ।

सिजी मोटर्सका आगामी लक्ष्य के हुन् ? कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ ?

-सार्वजनिक यातायातको विद्युतीकरण हुनुपर्छ । एउटा माइक्रोबस बिक्रीपछि दिनको न्यूनतम ५ हजारको डिजेलको बचत हुन्छ । यसले प्रदूषण कम र रकम बचत पनि गर्ने भयो । म चाहन्छु नेपालको सार्वजनिक यातायात सतप्रतिशत विद्युतीकरण होस् । उचित मूल्यमा किन्न सकिने गाडी ल्याउने, गुणस्तर सर्भिस दिने, चार्जिङ निर्माण गर्ने लगायतका होल्स्टिक प्रोग्राम लिएर म अगाडि बढिरहेको छु ।

Logo