काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् ।
“ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको मादी गाउँपालिका १ स्थित सिग्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको बताएका हुन् ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए । उनले सिक्लेसमा नयाँ केबलकार निर्माणको चरणमा रहेको र केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए ।
“सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ । यद्यपि केबलबार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केबलकारको निर्माण यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ ।” उनले भने । सिक्लेसदेखि कोरीसम्म नयाँ बन्ने केबलकारका लागि प्रकृयागत कामहरू सकिएको उनले जानकारी दिए ।
यस्तै, अध्यक्ष ढकालले पर्यटनका लागि स्थानीय कला र संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबको भूमिकाको सराहना गर्दै निरन्तरताका लागि शुभकामना समेत व्यक्त गरे ।
मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पर्यटनलाई आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैँ तयार रहेको बताए । गुरुङ जातिको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा पर्दछ ।
































प्रतिक्रिया