काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही माघ ५ गते द सोल्टी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड– २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी– २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको हो ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक शक्तिकुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरूलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घरदैलोसम्म पुगाउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एकजुट भई लाग्न उनको आग्रह थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाइ हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । क्वालिफाइ भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह गरे ।
सीओटी हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन र उत्प्रेरणाले नै गर्दा सीओटी बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे । पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद दिए । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको उनले बताए ।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नुका साथै सहभागी सबै एमडीआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरूमा काम गर्न थप ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया