काठमाडाैं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको आज आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा उनले यस्ताे बताएका हुन् । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान पुर्याएको उनको भनाइ छ ।
नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते रु पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो । बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ ।
अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब रु दुई खर्ब छ अर्ब कर्जा लगानीमा रहिरहेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको रु दुई खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ ।
बैंकको अधिकृत पुँजी रु २५ अर्ब, जारी पुँजी रु १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने रु सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ ।
यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल बैंकको शेयरधनी सङ्ख्या करिब तीन लाख रहेको छ ।
आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।































प्रतिक्रिया