काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आज एक विशेष कार्यक्रमका बीच महानगर यातायात प्रा.लि. लाई ४० वटा नयाँ एपीएल७१२/४२ एनइओ बसहरू हस्तान्तरण गरेको छ। यी बसहरू थानकोटदेखि बनेपा सम्मको नयाँ रूट सञ्चालन हुनेछन् ।
कार्यक्रममा महानगर यातायातका अध्यक्ष, पदाधिकारीहरू, र अतिथिहरूको उपस्थिति रहेको थियो।
सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अतिथिहरूलाई स्वागत गर्दै महानगर यातायातसँगको बलियो सहकार्यको चर्चा गरे। उनले भने, “महानगर यातायातजस्तो अग्रणी संस्थासँगको हाम्रो सहकार्यले नेपाली यातायात क्षेत्रलाई अझ सुदृढ बनाएको छ। हामी सधैं उत्कृष्ट गाडी मात्र होइन, उत्कृष्ट सेवा र समर्थन पनि प्रदान गर्न प्रतिबद्ध छौं।”

महानगर यातायात प्रा.लि. २०७२ सालमा स्थापना भई ३९ वटा अल्ट्रा 7.5T बीएस३ ३२-सीटर बसहरूसँग सञ्चालनमा आएको थियो। २०२२ मा थप १० वटा अल्ट्रा 8.5T_बीएस३ ३२-सीटर बसहरू सञ्चालनमा ल्याउँदै, हाल यस संस्थाले ४० वटा नयाँ एपीएल७१२/४२ एनइओ बसहरू थप गरी आफ्नो सेवा दायरा अझ विस्तार गरेको छ।
यी नयाँ बसहरू थानकोटदेखि बनेपा सम्मको नयाँ रूटमा सञ्चालन हुनेछन्। यसले हजारौं यात्रुहरूको यात्रा सहज बनाउँदै, सस्तो र भरपर्दो यातायात सेवा प्रदान गर्नेछ। हाल महानगर यातायातमा ३७ जना बोर्ड सदस्यहरू (१९ पुराना र १८ नयाँ सदस्यहरू) छन्।

कार्यक्रममा महानगर यातायातका कोषाध्यक्ष हरिप्रसाद रिमालले भने, “सिप्रदी ट्रेडिङ्गसँगको हाम्रो सहकार्यले हामीलाई अझ बलियो बनाएको छ। यी नयाँ बसहरूले न केवल नयाँ रूट सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्नेछन्, तर यात्रुहरूलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाउनेछ।”
यस अवसरमा महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले भने, “महानगर यातायातलाई अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिनेछ। पब्लिक लिमिटेड कम्पनीका रूपमा अघि बढ्दै, हामीले आफ्नो सेयर आइपीओ जारी गर्ने तयारी गरिरहेका छौं। यस कदमले महानगर यातायातलाई सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनाउनेछ। यस ऐतिहासिक उपलब्धिले नेपाली यातायात क्षेत्रमा नयाँ आयाम थप्नेछ।”





























प्रतिक्रिया