काठमाडौं । नेपालमा केही उत्पादन हुँदैन, हामी नेपाली कुनै पनि उत्पादित वस्तुमा आत्मनिर्भर छैनौं भन्ने आम नेपालीमा रहेको छ । तर यो भाष्यलाई २५औं स्वर्ण वर्षको अवसरमा नेपाल पश्मिना उद्योग संघले आयोजना गरेको ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो’ले गलत सावित गरिदिएको छ ।
भृकुटीमण्डपकाे एउटै छानामुनी नेपाल पश्मिना इन्टरनेशनरल एक्स्पो र मेक इन नेपाल एक्स्पो सञ्चालन भैरहेको छ । एक्स्पोमा नेपालमा उत्पादित १०० प्रतिशत पश्मिनामा विभिन्न सामग्री, नेपाली उत्पादित खाद्य वस्तु,नेपालमै इनोभेट भएका प्रविधिका विविध सामाग्री राखिएका छन् । हाम्रा दैनिक जीवनमा उपयोग हुने सामग्री जस्तै, अचार, सातु, कुकीज, विस्कुट, नेपाली कागजबाट बनाइएका साजसज्जाका सामग्री तथा कुरुसले बुनेका सामग्री पनि राखिएका छन् ।
नेपाली उत्पादित सामग्रीको माग राम्रो रहेको उद्योगीहरुले बताएका छन् । नेपालमै
उत्पादित पश्मिना स्वदेशी बजारमै राम्रो माग भएको साथै अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली पश्मिनाले ख्याती कमाइरहेको छ । वार्षिक रुपमा एक पश्मिना उद्योगीले ६ देखि ७ लाख डलरको पश्मिना निर्यात गर्दै आएको पश्मिना उद्योगी सुमन बरालले जानकारी गराए । नेपालमा पश्मिनाको सामग्री उत्पादन हुने भए तापनि कच्चा पदार्थहरु चीन लगायतका देशबाट निर्यात गर्नुपर्ने भएकाले नेपालमै कच्चा पदार्थ उत्पादन गर्न सके अझै राम्रो हुने उनले बताए ।
त्यस्तै, कुरुस प्रयोग गरी हातले विभिन्न डिजाइनका लुगा, टोपी, रवर व्यान्ड जस्ता विभिन्न सामग्री निर्माण गरी त्यसैलाई ब्राण्ड बनाएर निहारिकाले अनलाईन व्यापार गरिरहेकी छिन् । कोरोना महामारीको समयमा अनलाईन व्यापार सुरु गरेकी उनी अहिले व्यापार राम्रो चलिरहेको बताउँछिन् ।
नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो र मेक इन नेपाल एक्स्पोमा भेटिएकी निहारिकाले भनिन्, ‘अहिले अनलाईनको जमाना छ । फेरि पछिल्लोसमय हातले बुनेको सामग्री आममानिसले रुचाउँदै आएका छन् । अहिले नेपालमा मात्र केन्द्रित रहेर व्यापार गरिरहेकी छु । आउँदा दिनहरुमा यसैलाई अन्तर्राष्ट्रिय रुपमा लैजाने सोच छ ।’
नेपालमा सुरु गरिएका सामान्य व्यापारले पनि गति लिरहेको छ भन्ने कुराको गतिलो उदाहरण हो यो ।
नेपालमा सम्भावना छैन भन्दै विदेश पलायन भैरहेका युवाहरुको लागि याे मेहनत र लगनशिलताले नेपालमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ।
मेक इन नेपाल एक्स्पो र नेपाल पश्मिना इन्टरनेशनल एक्स्पोलाई हामीले नियाली रहँदा अधिकांश युवाहरुले नयाँ-नयाँ उद्योगको सुरुवात गरेको पायौं ।
नेपाली पश्मिनाको कुरा गर्ने हो भने, नेपालमा उत्पादित पश्मिना विश्व बजारमा ख्याती कमाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सबैको रोजाइमा पश्मिना पर्दै आएको छ ।
च्याङ्ग्राको भित्री भुवाबाट निर्माण हुने पश्मिनाको आफ्नो छुट्टै विशेषता रहेको छ ।
नेपालमा पश्मिना उत्पादन भए पनि कच्चा पदार्थमा निर्भर हुन परेको भन्दै यो विषय विडम्बना भएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । अब नेपालमै पश्मिनाको लागि कच्चा पदार्थ उत्पादनका लागि मुस्ताङका कृषकहरु गाँउपालिकासँग सहकार्य गरिरहेको उनकाे भनाइ छ ।
२०२६ सम्म पश्मिना साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ । पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२ देखि २०२६ ले २०२६ सम्ममा पश्मिना निर्यातको आकार ७ करोड ५० लाख पुर्याउने लक्ष्य राखेको हो ।
नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो र मेक इन नेपाल एक्स्पोमा १५० भन्दा बढी स्वदेशी स्टलहरु एकैठाउँमा राखिएका छन् । ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु राखिएका छन्, नेपाली खानाका परिकारदेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रकृया, स्वदेशी लुगा र पश्मिनाको फेसन शो पनि गरिएको थियो । एक्सपोमा नेपाली हर्वलका उत्पादनहरु, हस्तकला तथा घरेलु उद्योगहरु, कृषिजन्य स्वदेशी उत्पादनहरु, नेपाली गलैंचा तथा कार्पेट पनि राखिएका छन् ।





























प्रतिक्रिया