लकडाउनको फुर्सदमा निहारिकाले सुरु गरेको ‘ज्या क्रोसे फेसन’ अहिले बन्यो ब्राण्ड

लकडाउनको फुर्सदमा निहारिकाले सुरु गरेको ‘ज्या क्रोसे फेसन’ अहिले बन्यो ब्राण्ड


काठमाडौं । सामान्यतया हाम्रो वरपर आमा, दिदिबहिनी, भाउजुहरुले कुरुसले लुगा बुन्ने काम गर्छन् नै तर यसलाई कामको दर्जा दिइँदैन, अझ भनौं फुर्सदको समयको सदुपयोग गरेको भनिन्छ ।

कुरुसले लुगा बुन्ने कलालाई व्यवसायिक रुपमा रुपान्तरण गर्नु त परको कुरा । तर ललितपुर खोकनाकी निहारिका डंगोलले कुरुसले बुनेको कपडालाई ब्राण्डको रुपमा स्थापित गर्न सफल भएकी छिन् । कुरुस, ऊन, तथा धागोको प्रयोग गरी हातले बुनेर विभिन्न कपडामा बुट्टेदार डिजाइन दिनु उनको खुबी नै हो ।

एउटा हातले कुरुस समाएर अर्काे हातको औंलामा ऊनलाई बेरेर औंला नचाउँदै लुगा तथा अन्य सामग्रीमा बुट्टा भर्ने उनमा अनौठो कला छ । सानोमा कपडा बुनेर दिदिहरुलाई सहयोग गर्दै आएकी नेहारिका अहिले सिपबाट आम्दानी गरिरहेकी छिन् । साथै तीन जनालाई रोजगारीसमेत दिएकी छिन् ।

सिप व्यापारमा परिणत

निहारिकाका तीन जना दिदि र एक जना दाजु छन् । दिदि दाईहरु पनि बुन्ने काम गर्थे त्यसैले उनलाई सिक्न सहज भयो । उनी स्कुल पढ्दा दिदिहरुले अर्डरमा आएको सामग्री बनाउँथे, त्यसका लागि उनले आवश्यक सामग्री ल्याइदिएर सहयोग गर्थिन् । विस्तारै सानो सानो बुट्टा बनाउन सिकिन् ।

अन्ततः एकदिन निहारिका सबै प्रकारका सामग्री बनाउन सक्षम भइन् । उनी भन्छिन्, “समय अनुसार नयाँ नयाँ आइडिया आउँछ, ग्राहकलाई नयाँ डिजाइन मनपर्छ । अब जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास छ तर पनि सिक्दै छु । यो प्रकृया सधैं चलिरहन्छ जस्तो लाग्छ ।”

कुरुस र काँटीले कपडा बुन्ने कला सानैबाट भए पनि यसैलाई व्यवसायिक रुपमा अगाडि बढाउँछु भन्ने निहारिकालाई लागेको थिएन । निहारिकालाई स्कुल पढ्दादेखि नै फेसन डिजाइन अध्ययन गर्ने मन थियो । इच्छा अनुसार फेसन डिजाइनमा स्नातक पनि गरिन् । तर उनको मन फेसन डिजाइनमा अडिएन । पढेको कुरालाई थाति राख्दै सिकेको सिपलाई व्यवसायमा रुपान्तरण गर्ने निधो गरिन् ।

त्यसको लागि लक्की सावित भयो लकडाउन । सन् २०१९ मा फैलिएको कोरोना महामारीमा लकडाउन सुरु भयो । घर बाहिर जाने वातावरण थिएन । त्यहि बेला उनमा सोच आयो कुरुसले कपडा बुन्ने सिपलाई व्यापारमा परिणत गर्ने । र सुरु भयो “ज्या क्रोसे फेसन” ।

निहारिकाले अनलाइन व्यापार सुरु गरेकी हुन् र अहिले पनि अनलाइनबाटै सामान बिक्री गर्दै आएकी छिन् । तर आगामी दिनमा स्टोर खोल्ने सपना छ । निहारिकाले भनिन् – ‘स्टोर भयो भने ग्राहकले सामान हेर्न र फिल गर्न पाउँछन् । कुनै कुनै समयमा अनलाइनमा हुने स्क्यामका कारणले ग्राहकले नपत्याएको जस्तो गर्छन र पनि व्यापार सन्तोषजनक नै छ ।’

ज्या क्रोसे फेसन

क्रुसले कपडा बुन्ने, कामलाई समाजमा काम नै मानिँदैन । यस्तो पनि काम हो र ? भन्छन् । काम भनेको जागिर गर्नु मात्र हो भन्ने मान्यता छ । सुरुमा नेहारिकाले यसैमा बिजनेश गर्छु भन्दा यस्तो पनि काम हुन्छ र भन्दै घरपरिवारका सदस्यले मानेका थिएनन् । तर निहारिकालाई आफ्नो रुचिको काम गर्नु थियो । त्यसैले घरपरिवारको साथ नहुदा पनि व्यापार सुरु गर्ने अठोट गरिन् । क्रोसे फेसनलाई यो कामै होइन भन्दा उनको मनमा कता कता यो शब्दले घोचिरहेको हुन्थ्यो ।

त्यहि शब्दले पनि निहारिकालाई कुरुसबाट बुनेको सामग्रीलाई ब्राण्ड बनाएर समाजमा यो पनि काम हो भनेर प्रमाणित गर्ने उर्जा मिल्यो र उनले सुरु गरिन् ज्या क्रोसे फेसन । नेवारी भाषामा ‘ज्या’ को अर्थ ‘काम’ भन्ने हुन्छ । क्रोसेको फेसनलाई यो पनि काम हो भन्न प्रमाणित गर्नका लागि नै उनले ब्राण्डको नाम ज्या क्रोसे राखेकी हुन् । अहिले उनको परिवार तथा छिमेकीहरुले क्रुसले बुन्ने कामलाई काम मान्दै आएको र म पनि सिक्छु भन्दै सिक्न आउने गर्दछन् ।

सिकेको सिप अरुलाई पनि सिकाउँदै

निहारिकाले प्लस टु पढेर नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट अध्ययन गरिन् । फेसन डिजाइन पर्दा, थेसिस गर्ने समयमा उनले क्रोसेलाई नै छानेकि थिइन् र थेसिस राम्रो पनि भयो । पढाईको समयमा पनि क्रोसेलाई नै रोज्ने गरेकी उनी शिक्षक तथा साथीहरुबाट पनि प्रशंसा पाउने गर्थिन् ।

क्रोसेलाई ब्राण्ड बनाएर अनलाईनबाट मनग्य आम्दानी गरिरहेकी निहारिका १५० जनाभन्दा बढीलाई क्रोसे सम्बन्धि तालिम दिइसकेकी छिन् । एनजिओ तथा आइएनजिओका विद्यार्थीलाई समेत तालिम दिइसकेकी छिन् । उनी भन्छिन्, ‘पहिला काम नै होइन भनिन्थ्यो तर समय परिवर्तन अनुसार सोच पनि परिवर्तन भएको छ । त्यसैले पछिल्लो समय सिकेर विजनेस गर्छु भनेर नै सिक्न आउँछन् ।’

५० रुपैयाँदेखि ७ हजार सम्मको सामग्री

देशमै केही गर्छु भन्ने सोच बनाएकि निहारिका भन्छिन्, ‘नेपालमै यति धेरै सम्भावना छ विदेश किन जानु ? आफूमा भएको सिपलाई व्याापारमा परिणत गर्छु भनेर मात्र हुँदैन जस्तोसुकै परिस्थिती आए पनि म पछि हट्दिनँ भनेर लाग्नुपर्छ । अप्ठ्यारा र चुनौती धेरै छन् । आफूमा साहस हुनुपर्छ सफल अवश्य भइन्छ ।’

ऊनबाट जे-जे सामग्री बन्छ, सबै प्रकारका सामाग्री नेहारिकालाई बनाउन आउँछ । उनबाट बनाएको विभिन्न डिजाइनका स्वीटर, ह्याट, टोपी, कपाल बान्ने रबर ब्यान्ड, किरिङ, डल जस्ता सामग्री बनाउन उनी माहिर छिन् । उनले बनाएको सामग्रीको मुल्य ५० रुपैयाँदेखि ७ हजार सम्मका छन् ।

क्रोसे बाट बनाएको सामग्री बनाउन धेरै समय लाग्ने र बढी टिकाउ हुने भएकाले अलि महंगो पर्ने उनी बताउँछिन् । नेपाली समाजमा क्रोसेको कामलाई फुर्सदिलो समयको सदुपयोको रुपमा लिए पनि अन्तर्राष्ट्रिय रुपमा भने यसको पाठ्यक्रम नै हुन्छ र सोहि पाठ्क्रम अनुरुप पढाई पनि हुन्छ ।

अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने लक्ष्य

उनले बनाएको क्रोसेको डिजाइनिङ कपडा सामान्य व्यक्तिदेखि सेलिब्रेटीसम्मले लगाएका छन् । क्रोसेलाई भविष्य बनाएकी निहारिकाले देशभर नै अनलाइन विजनेसमार्फत आफ्नो डिजाइनलाई बिक्री गर्दै आएकी छिन् । उनले यसलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउने लक्ष्य लिएकी छिन् । अहिले क्रोसेमा व्यापार गरे पनि भविष्यमा पश्मिनाको व्यापार गर्ने पनि उनको सोच छ ।

Skip This
Skip This
Logo