काठमाडौं । नेपाली अटो क्षेत्रमा एउटा कुशल नेतृत्वकर्ताको रूपमा चिनिन्छन्, विजय महतो । दुई पाङ्ग्रे मार्केटमा आफ्नो छुटै पहिचान बनाइ काम गरिरहेका उनी डेल्टा अटोकर्पको निर्देशक हुन् । यो क्षेत्रमा करिव दुई दशक बढीदेखि सक्रिय महतो अटो बजारमा आएको उतारचढावलाई मध्यनजर गर्दै भेस्पा र अप्रिलियाको उपस्थितिलाई बलियो बनाउनमा लागि परिरहेका छन् ।
दुई पाङ्ग्रे सवारीको बिक्री खुम्चिएको देखिएता पनि व्यवसायमा हाल सुधारको संकेतहरु देखिन थालेको महतो बताउँछन् । आफ्नो नेटवर्कलाई बढाउँदै भेस्पा–अप्रिलियाका आगामी दिनमा नयाँ मोडलका स्कुटर भित्र्याउने योजनामा डेल्टा अटोकर्पको छ । उनै निर्देशक महतोसँग दुई पाङ्ग्रेको बजार, यस क्षेत्रमा देखिएका समस्या साथै आगामी कम्पनी काम लगायतका विषयसँग जोडिएर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
अहिले दुई पाङ्ग्रे सवारी बिक्रीको अवस्था सन्तोषजनक नरहेको सुनिन्छ । यसमा तपाईंले केको प्रभाव पारेको आकलन गर्नुभएको छ ?
–पछिल्लो केहीवर्ष यता दुई पाङ्ग्रे सवारी बिक्रीमा कमी आएको छ । दुई पाङ्ग्रे सवारी बिक्रीको घट्दो प्रवृत्तिमा धेरै विषयले प्रभाव पारेको देखिन्छ । स्कुटर तथा मोटरसाइकलको सोखिन प्रायः युवा हुने गर्छन् । युवा शक्ति अहिले विदेशिने क्रम बढ्दो छ । धमाधम युवा विदेश जान थालेपछि स्कुटर तथा मोटरसाइकल कसले किन्ने ?
तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ३.५८ लाख युनिट दुई पाङ्ग्रे आयात भएको थियो । तर, उक्त दर आर्थिक वर्ष २०७८/०७९ मा आएर १.९२ लाख युनिटमा झर्यो । यस्तै, आर्थिक वर्ष २०७९/८० दुई पाङ्ग्रेको आयात खुम्चिएर १.१८ लाख युनिटमा पुग्यो । तर, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा दुई पाङ्ग्रे सवारी १.०३ लाख आयात भयो ।
यो तथ्यांकलाई नियाल्ने हो भने पछिल्लो केही महिना यता आयात बढेको देखिन्छ । आयात वृद्धि भएरै सन्तोष हुनुपर्ने अवस्था बनेको छैन । यद्यपि दुई पाङ्ग्रे सवारीको बिक्रीमा केही सुधार आएको देखिन्छ । आगामी दिनमा दुई पाङ्ग्रे सवारीको बिक्री अझै बढ्ने हाम्रो विश्वास छ ।
दुई पाङ्ग्रे सवारीमा ईभी आउँदा इन्धनका स्कुटरको माग घट्न थालेको हो ?
–चार पाङ्ग्रे गाडीमा ईभी आउँदा आईसीई गाडीको बिक्री खुम्चिएको छ । आईसीई भन्दा अहिले ईभी गाडी ग्राहकहरूले रुचाइराखेको अवस्था हो । तर, दुई पाङ्ग्रे सवारी साधनहरूको सन्दर्भमा परिदृश्य अलिक फरक छ । केहीवर्ष अघिदेखि बजारमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको आगमन व्यापक भइरहेको छ । तर, त्यो अनुसार ईभी दुई पाङ्ग्रे सवारी उपभोक्ताबीच रोजाइमा परेको देखिँदैन ।

कम ब्याट्री पावरका साथै बिक्री पछिको सेवा राम्रो नभएका कारण उपभोक्ताले ईभी स्कुटरहरू मन नपराएको हुनसक्छ । बजारमा सीमित संख्यामा मात्रै विद्युतीय स्कुटरका ब्रान्ड छन् । ईभी स्कुटर आउँदैमा आईसीई दुई पाङ्ग्रेको बिक्रीमा कुनै असर पारेको छैन । अहिले पनि ग्राहकले ईभी भन्दा बढी इन्धनकै स्कुटरहरू किनी राख्नुभएको छ । ईभीका दुई पाङ्ग्रे आउँदैमा स्कुटरहरू बिक्री नहुने भन्ने पनि छैन ।
तपाईंहरुले हाल भेस्पाका ६ र अप्रिलिया ६ वटा मोडलका स्कुटर बिक्री गरिराख्नु भएको छ । यीमध्ये उपभोक्ताको रोजाइमा कुन मोडल छन्, र कारण के हो ?
–भेस्पाका स्कुटर आइकोनिक र टाइमलेस डिजाइनका लागि प्रसिद्ध छन् । संसारको पहिलो स्कुटर भेस्पा हो । जुन सन् १९४६ मा पियाजियोद्वारा सिर्जना गरिएको थियो । त्यसैगरी, अप्रिलिया नेपालमा उपलब्ध एक मात्र क्रस ओभर स्कुटर हो । स्पोर्टी डिजाइन, उत्कृष्ट परफर्मेन्स भएको यो स्कुटर अफरोडको लागि पनि उपयुक्त छ । जसले अन्य स्कुटर भन्दा अलग र राइडमा भिन्न अनुभव प्रदान गर्छ ।
उपभोक्ताहरूले भेस्पा र अप्रिलियाका सबै मोडलका स्कुटरहरूलाई मन पाउनु भएको छ । जसमध्ये ग्राहकको सबै भन्दाबढी रुचाएको मोडल भेस्पामा ‘भेस्पा भीएक्सएल’ र ‘भेस्पा एसएक्सएल’ हुन् । यी दुवै स्कुटर यसको क्लासिक र प्रिमियम शैली भएकाले धेरैको रोजाइमा परिसकेका छन् ।
साथै, अफरोड डिजाइन गरिएको अप्रिलिया स्ट्रोम १२५ र हाई परफर्मेन्स इन्जिन र अग्रेसिभ स्टाइलको अप्रिलिया एसआर १६० पनि ग्राहकहरूले रुचाएका छन् । यी सबै मोडलहरूमा पावर फुल परफर्मेन्स र आकर्षक लुक्सले गर्दा भेस्पा र अप्रिलिया धेरैको प्राथमिक रोजाइमा पर्दै आएका छन् ।
तपाईंहरुसँग प्रिमियम स्कुटर छन् । जसको मूल्य निकै महँगो छ । यसको मूल्य घट्ला र किनौंला भन्ने सोचमा धेरै ग्राहक छन् । तर, वर्षेनी मूल्य बढिरहेको देखिन्छ । आगामी दिनमा यी स्कुटरको मूल्य घट्ने चान्स कति छ ?
–भेस्पा र अप्रिलिया प्रिमियम स्कुटरको ब्रान्ड हो । तर, तिनको मूल्य बजारका अन्य ब्रान्डहरूसँग प्रतिस्पर्धात्मक छन् । हामीले ग्राहकहरूलाई उचित मूल्यमा स्कुटर उपलब्ध गराउने प्रयास गर्दै आएका छौं । जस अनुसार गत दुई वर्षदेखि हाम्रा स्कुटरहरूको मूल्य बढाएका छैनौं । हामी सधैं ग्राहकलाई वास्तविक मूल्यमा स्कुटर बिक्री गर्दै आएका छौं ।
भेस्पाका स्कुटरहरूको सुरुवाती मूल्य ३ लाख १ हजार ९४६ रुपैयाँ र अप्रिलियाका स्कुटरहरू २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ । यी स्कुटरहरू मूल्यका हिसाबले उचित र बजार अनुकूल छन् । जसले गर्दा किनेपछि पछुताउनु पर्ने अवस्था आउँदैन । भविष्यमा मूल्य बढ्ने वा घट्ने विषयपछि नै स्पष्ट हुनेछ । तर, यी स्कुटरहरूले तपाईंलाई सन्तुष्टि दिने विश्वास हामीलाई छ ।
तपाईंहरुको सवारी बिग्रिसकेपछि पार्ट्स पाउन निकै गाह्रो भएको ग्राहकको गुनासो छ नि ?
–तपाईंले गलत सुन्नु भएको जस्तो लाग्यो । हाल पार्ट्सको उपलब्धता सम्बन्धी कुनै समस्या छैन । काठमाडौं उपत्यकासहित नेपालका प्रमुख सहरहरूमा ‘३एस’ फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) उपलब्ध छन् । जसमा तपाईंले सबै किसिमको स्कुटरमा प्रयोग हुने स्पेयर पार्ट्स सजिलै खरिद गर्न सक्नुहुनेछ ।
भेस्पा र अप्रिलियाको बजारमा इभी २ ह्वीलर छैन । यदि भेस्पा र अप्रिलियाले ईभी उत्पादन गर्यो भने नेपाल भित्रिने सम्भावना कतिको छ ? कहिले आउँछ ?
–नेपाली बजारमा हाल भेस्पा–अप्रिलियाको कुनै पनि ईभी छैन । भेस्पाको इलेक्ट्रिक मोडल ‘भेस्पा इलेक्ट्रिक’ युरोपमा सन् २०१८ मा लन्च भएको थियो । भारतमा भेस्पाको इलेक्ट्रिक स्कुटरको टेष्टिङ भइरहेको छ । उक्त परीक्षण सम्पन्न भई भारतमा लन्च भएपछि नेपालमा उक्त स्कुटर छिट्टै आउने अपेक्षा राख्न सकिन्छ । हामी पनि भारतमा लन्च भएपछि सो स्कुटर ल्याउन सक्षम हुने छौं ।

नेपाली बजारमा अब भेस्पा र अप्रिलियाको नयाँ कुन मोडलको स्कुटर आउँदैछ ?
–हामीले भेस्पाको भीएक्सएल स्कुटरको भेस्पाबीएस६ मोडल ल्याउँदै छौं । साथै, हामी भेस्पा जेडएक्सलाई बीएस६ एफआई नयाँ रङको विकल्पसहित प्रस्तुत गर्दै छौं । त्यसैगरी अप्रिलिया एसआर १२५ को फेसलिफ्ट बीएस६ एफआई मोडल पनि बजारमा चाँडै ल्याउँदै छौं ।
भेस्पा र अप्रिलिया खरिद गर्न चाहनेका लागि तपाईंको कम्पनीले के सुविधा दिएको छ ?
–हामी भेस्पा र अप्रिलिया स्कुटरहरू खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्स सुविधादेखि छुटको सुविधाहरू पनि उपलब्ध गराउँदै आएका छौं । जसमा सहज कर्जाको सुविधाहरू समावेश छन् । हामीले जाडो अफर ‘हटडिल्स’ अन्तर्गत ७ हजार ५०० रुपैयाँ नगद छुट दिएका छौं । र, कम्पनीले उक्त अफरमा ब्रान्डेड हुडी र सामानहरू समावेश गरेको छ ।
अन्य सवारीसँग भेस्पा र अप्रिलियाका स्कुटरहरू एक्सचेन्ज गर्दा १० हजार रुपैयाँको थप मूल्यांकनको फाइदा लिन सक्नुहुन्छ । थप सेवाहरूको विस्तार गर्न तथा स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरेर ग्राहकहरूलाई सहज र सन्तोषजनक सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।
आउँदो वर्षमा दुई पाङ्ग्रे सवारीमा तपाईंहरुको स्थान कहाँ हुनेछ ?
–नेपालमा दुई पाङ्ग्रे सवारीको प्रयोग तीव्र गतिमा बढी रहेको छ । यो अवस्थामा भेस्पा र अप्रिलियाका स्कुटरहरूले बजारमा प्रमुख स्थान पाएका छन् । हामी नयाँ डिजाइन र सुविधाहरूका साथ बजारमा आफ्नो हिस्सेदारी बढाउने र ग्राहकहरूको विश्वास जित्ने विश्वस्त छौं ।
सरकारले सवारी आयात गर्नेलाई भन्दा पनि स्वदेशमै उत्पादन गर्ने उद्योगलाई सहुलियत प्रदान गरेको छ । स्वदेशमै एसेम्बलिङ गर्ने डेल्टा अटोकर्पको योजना के छ ?
–अन्य ब्रान्डहरूले पहिले नै एसेम्बल प्लान्ट बनाई सकेकाले उनीहरूले निरन्तर उत्पादन गरिरहेका छन् । हामी पनि भेस्पा–अप्रिलियाको एसेम्बली प्लान्ट स्थापना गर्ने सम्भावनाको खोजीमा छौं । तर, दुई पाङ्ग्रे सवारी साधनको माग घटेकाले हाम्रो यो योजना अहिलेको लागिपछि सारिएको छ ।
नेपालको अर्थतन्त्रमा देखिएको संकुचनले दुई पाङ्ग्रेको बजारलाई कस्तो असर पारेको छ ?
–अर्थतन्त्रमा देखिएको संकुचनका साथै आर्थिक क्रियाकलाप सञ्चालनको लागि योजनाबद्ध तरिकाले काम हुन नसक्दा नेपालका सबै व्यवसायमा समस्या परेका छन् । जसको सहजता साथै सुधारको लागि निजी क्षेत्रहरूले विषय उठाइरहेका छन् । अहिलेको अवस्थामा उच्च शिक्षा र रोजगारीका लागि युवाहरू विदेशिने चलन व्यापक छ । यसले दुई पाङ्ग्रे सवारी साधनको आयातमा र बिक्रीमा कमि आएको छ । यद्यपि दुई पाङ्ग्रे अटो मार्केटमा क्रमिक सुधार आउने अपेक्षा हामीले गरेका छौं ।
सरकारले दुई पाङ्ग्रे सवारीको आयातका साथै नीति नियममा कस्ता विषयमा सहजीकरण गरिदिनु पर्ने यहाँले देख्नुहुन्छ ?
–नेपालमा केहीवर्ष अघिसम्म दुई पाङ्ग्रे सवारीलाई विलासिताको वस्तुको रूपमा हेरिन्थ्यो । जुन केवल धनी मानिसहरूका मात्र भनेर ठानिन्थ्यो । अहिले दुई पाङ्ग्रे सवारी आवश्यकता बनेका छ । तर, अझै यसलाई विलासिताको वस्तु जस्तै गरी कर लगाइन्छ । तीनै तहका (संघ, प्रदेश र स्थानीय) सरकारले दुई पाङ्गे सवारीमा कर संकलन गर्छन् । भन्सार शुल्क, उत्पादन शुल्क र भ्याट संघीय सरकारले लिन्छ भने प्रदेश र स्थानीय सरकारले अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ अनुसार सवारी कर लगाउँछन् । सरकारले दुई पाङ्ग्रे सवारीलाई आवश्यक वस्तुका रूपमा हेर्छ भने यसमा सहुलियतका विषयहरूलाई समेटेर समय सान्दर्भिक बनाइ कर घटाउनु पर्छ ।

जसले यस क्षेत्रको व्यवसायलाई प्रोत्साहन दिन मद्दत गर्छ । नेपाल राष्ट्र बैंकको परिमार्जित निर्देशनमा कार्यशील पूँजी कर्जामा सीमा तोकिएका छ । व्यवसायहरूले आफ्नो अनुमानित वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र कार्यशील पूँजी कर्जा लिन सक्छन् । जुन अत्यन्तै कम छ । अधिकांश दुई पाङ्ग्रे सवारी कम्पनीहरू आयातमा निर्भर भएका कारण, राष्ट्र बैंकलाई कार्यशील पूँजी कर्जामा यस्तो सीमा लगाउँदा व्यवसाय सञ्चालनको लागत बढ्छ र व्यापार गर्न सहज हुने वातावरणमा पनि असर पर्छ । त्यसैले यस्ता विषयलाई नियालेर परिमार्जित गर्न आवश्यक छ ।
अन्त्यमा, भेस्पा र अप्रिलियाका खरिद गर्न चाहने ग्राहकलाई कम्पनीको तर्फबाट के सुझाव छ ?
-नेपालका प्रमुख सहरहरूमा भेस्पा र अप्रिलियाका डिलर नेटवर्कहरू सञ्चालनमा छन् । जसले यी ब्रान्डलाई ग्राहकहरूबीच सहज रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ । विश्वभर ५० भन्दा बढी देशमा बिक्री भइरहेका यी स्कुटरहरू नेपालमा मात्रै ५० हजार थानभन्दा बढी गुडिरहेका छन् ।
यो तथ्यले नेपालमा भेस्पा र अप्रिलियाका स्कुटरको लोकप्रियता चुलिँदै गएको देखाउँछ । स्कुटर सेग्मेन्टमा भेस्पा र अप्रिलिया डिजाइन, प्रदर्शन र विश्वसनीयताका कारण ग्राहकहरूका लागि विश्वासिलो ब्रान्डको रूपमा स्थापित भइसकेको छ । ग्राहकहरूको पहुँचलाई थप सहज बनाउन हामी नेटवर्क विस्तारमा निरन्तर काम गरिरहेका छौं ।





























प्रतिक्रिया