काठमाडौं । विदेशी मुद्रा सञ्चिति आर्थिक वर्ष २०८१/२०८२ को ६ महिना(पुषसम्म) मा २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा उक्त रकममा पुगेको राष्ट्र बैंकले जानकारी दिएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ ।
पुस मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा २०८० पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७९.८९ रहेको कच्चा पेट्रोलियम को मूल्य २०८१ पुस मसान्तमा ३.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८२.६९ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० पुस मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २०५५.६५ रहेकोमा पुस मसान्तमा २९.८६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २६६९.५० पुगेको राष्ट्र बैंकले बताएको छ ।































प्रतिक्रिया