प्रधानमन्त्री ओलीकै निर्देशनमा वृद्धभत्ता बढेको हो, त्यसलाई ज्येष्ठ नागरिकले सम्झिनुपर्छ -अर्थमन्त्री पौडेल

प्रधानमन्त्री ओलीकै निर्देशनमा वृद्धभत्ता बढेको हो, त्यसलाई ज्येष्ठ नागरिकले सम्झिनुपर्छ -अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
468
Shares

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन‍् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको आज भवन शिलान्यास गर्दै उपप्रधानमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी एमाले ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताए । उनले यसको उदाहरण २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको स्मरण गराए ।

तत्कालीन अवस्थामा रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा रु चार हजार पुर्याउने अवसर पाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए ।

“बजेट निर्माणका बेलामा प्रधानमन्त्रीले मलाई बोलाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, मैले उहाँको निर्देशनबमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”, उनले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनुपर्छ ।”

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताए । “सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम पर्याप्त छैन, अझै धेरै गर्नुपर्नेछ”, उनले भने, “यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ ।”

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकाङ्क्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

Skip This
Skip This
Logo