काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभारा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा देखिएको विवादमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सरकार र गैरसरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पूर्वाधारको कमीलाई प्रमुख कारणका रुपमा औंल्याएको स्मरण गराउँदै अध्यक्ष राजेन्द्र राउतले एक विज्ञप्तिमार्फत विकासमा अवरोध पुर्याउन नहुने बताएका हुन् ।
‘पूर्वाधारको कमीका मुलतः वाह्य कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा केवलकार निर्माणका लगानी सुनिश्चित गरी निर्माण पुर्वका आवस्यक सबै प्रक्रिया समेत पुरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित होइन । पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिक वाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई यस प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने यस पुर्वाधार निर्माणमा हुने अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित गर्दैन ।’ विज्ञप्तिमा उल्लेख छ ।
साथै कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्ता माझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने पनि अध्यक्ष राउतले स्मरण गराएका छन् ।
यो पृष्ठभूमीमा स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्वपुर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र संवादबाट त्यसको निरुपण गरी आयोजना निर्माणका कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन उनको आग्रह छ ।































प्रतिक्रिया