काठमाडाैं । सरकारकाे स्वामित्व रहेकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मंगलबार आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ । टेलिकमले आफ्नो सेवा अवधिको २१औं वर्ष पार गरी २२ वर्ष प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्रांगणमा वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङकाे उपस्थिति रहेकाे थियाे ।
साे अवसरमा मन्त्री गुरुङले नेपालका प्रमुख सहरहरूमा फाइभजी सेवा तुरुन्तै सुरु गर्नुपर्ने बताएका छन् । विश्वभर सिक्सजी प्रविधि अगाडि बढिरहेको अवस्थामा नेपालमा फाइभजी प्रविधिको तत्काल कार्यान्वयन आवश्यक रहेको बताएका हुन् । साथै गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने पनि बताएका छन्।
वार्षिकोत्सव समारोहका क्रममा नेपाल टेलिकमले १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ। टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म लागि विशेष प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । यसका साथै अब अनलाइनमार्फत नै टेलिकमकाे ई–सिम लिन सकिने पनि उनले जानकारी दिइन् ।
साथै वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले भो–वाईफाई सेवाको व्यवसायिक सुरूवात गरेको छ। यस प्रविधिमार्फत भोवाईफाई सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएको जुनसुकै मोबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
वार्षिकोत्सवको अवसरमा एफटीटीएच इन्टरनेट सेवामा थप एक महिना बोनस दिइने पनि नेपाल टेलिकमले जनाएको छ । प्रदेशलाई कपर नेटवर्क फ्री घोषणा गरेको हो। योसँगै नेपाल टेलिकमले कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्रि घोषणा गरेको थियो । यसको मतलब अब कर्णाली प्रदेशमा फोन, इन्टरनेट र टेलिभिजनका लागि फरक–फरक फाइबर प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ।
समारोहका बीच टेलिकमले २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक पनि वितरण गरेको थियो । स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका कर्मचारीहरुलाई पाँचग्राम सुन र चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको थप तलब पनि दिएको थियो। साथै, बिल भुक्तानीका आधारमा प्रिपेड र पोष्टपेड सेवाका १–१ ग्राहक र सबैभन्दा बढी प्याकेज खरिद गर्ने २ ग्राहकलाई पनि सम्मान गरेको थियो।































प्रतिक्रिया