काठमाडौं । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी आजबाट २७औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरू भएको कम्पनीले २७औं वर्षको यात्रा तय गरिसक्दा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
यस अवसरमा समूहले सन् २०३० सम्म मुलुकको पर्यटन क्षेत्र प्रवर्धन लक्षित व्यावसायिक रणनीति अनुसार काम अगाडि बढाउँदै कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट संचालन गर्ने योजना बनाएको छ ।
हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो। साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रुपमा साटा अवार्ड प्राप्त गरेको थियो।
सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो। त्यस्तै, विभिन्न आउलेटहरू उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए।
सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरू गरेको छ। साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अर्गानिक खाद्यान्न पनि प्रवर्द्धनमा जोड दिँदै आएको छ।
मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ।































प्रतिक्रिया