‘क्यान इन्फोटेक २०२५’ सुरु, नयाँ–नयाँ प्रविधि राखिए प्रदर्शनीमा

‘क्यान इन्फोटेक २०२५’ सुरु, नयाँ–नयाँ प्रविधि राखिए प्रदर्शनीमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानको आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ आजबाट सुरू भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले ३०औं संस्करणको इन्फोटेक सुरु भएको हो।

महासंघले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । यसैलाई निरन्तरता दिँदै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा आज ३०औं संकरणको क्यान इन्फोटेकको उद्घाटन गरिएको थियो । सो अवसरमा सञ्चारमन्त्री गुरुङले नेपाल आइटी क्षेत्रमा साउथ एसियन देश मध्ये सबैभन्दा पछि रहेको र यसको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

“डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने,“यस वर्ष जसरी पनि काठमाडौंमा एउटा आइटिपार्क बनाउछौँ ।”

यसैगरी क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डेलेका अनुसार सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताइन् । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत उनको भनाई थियो ।

क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए । उनले तीन लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफू ३५ वर्ष बैदेशिक रोजगारको रुपमा रही नेपालमा फर्केर ३० हजारलाई रोजगारी दिइरहेको उल्लेख गर्दै आईटी क्षेत्रलाई विकास गरी देशमै युवाहरुलाई रोजगारी दिन सकिने उल्लेख गरे ।

स्टल राखेका डिस्ट्रीब्युटरहरुले यस मेलाले आफूले गरेको कामको प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नका लागि मेलाले प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ ।

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् ।

मेला अवलोकनका लागि टिकट सञ्जालमार्फत अनलाइनबाट टिकट खरिद टिकट गर्न सकिन्छ । सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था रहेको छ ।

Logo