काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले “बहुमुल्य धातु वा वस्तुको कारोवार गर्ने व्यवसायीसूचक संस्थाहरुको लागि जारी निर्देशन”का विभिन्न प्रावधानहरुमा सरलीकरण गर्न माग गरेको छ ।
अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निर्देशनका विभिन्न प्रावधानहरुमा सरलीकरण गर्न र जानकारीमूलक एवं भौतिक रुपमा पूरा गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा गरी मात्रै कार्यान्वयनमा ल्याउन आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्य समक्ष सुझाव प्रस्तुत गरेको हो ।
पहिलो पटक २०७७ सालमा निर्देशन जारी हुँदा थोक कारोबारको मात्र प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएको तर हालै त्यसमा संशोधन गरी खुद्रा तहले पनि प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएकोले पूर्व तयारी र गृहकार्यका लागि पर्याप्त हुने गरी थप समय आवश्यक परेको पनि महासंघले सुझावमा स्पष्ट पारेको छ ।
नियामक निकायले मात्रै गर्न मिल्ने कतिपय कार्यहरु पनि व्यवसायीलाई जिम्मा दिइएकोले त्यस्ता कार्यहरु नियामक निकायबाट नै गरिनु पर्नेमा महासंघले जोड दिएको छ ।
प्रतिवेदन प्रस्तुत गर्नु पर्ने कारोबारको सीमालाई रु।१० लाखबाट बढाएर कम्तिमा ५० लाख पुर्याउन र एउटै वस्तुको पुनः खरीद, फिर्ता, साटफेर आदि हुने भएकोले विलासिता शुल्कले उपभोक्तामा अनुचित आर्थिक भार पर्न जाने हुँदा उक्त शुल्क हटाउन पनि महासंघले माग गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरु क्रमंश द्वितिय उपाध्यक्ष सुधिर अग्रवाल, तृतीय उपाध्यक्ष प्रेम बहादुर विश्वकर्मा, महासचिव निर बहादुर विश्वकर्मा, सचिव पृथ्वी विश्वकर्मा लगायत अन्य व्यवसायीहरु सम्मिलित थिए ।





























प्रतिक्रिया