काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो ।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८,२०,७९,६६,५५४/– को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १,७२,७९,९२,९५९/– (अक्षेरुपी एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र) लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०८०/८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।
२०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २१५ अर्ब रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु.२८८ अर्ब रुपियाँ बीमाशुल्क आर्जन गरेको छ भने रु. ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ ।
ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।































प्रतिक्रिया