डेढ अर्बको लगानीमा यस्तो बन्दैछ ‘रारा रिसोर्ट’, के-के हुनेछन् सुविधा ?

डेढ अर्बको लगानीमा यस्तो बन्दैछ ‘रारा रिसोर्ट’, के-के हुनेछन् सुविधा ?


काठमाडौं । कर्णाली प्रदेशको आर्थिक समृद्धिको दृष्टिकोणबाट हेरिएको ‘रारा रिसोर्ट’ निर्माण कार्य थालिएको छ । अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त आयोजना मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा बनिरहेको हो ।

रिसोर्टको वन तथा वातावरण मन्त्रालयका मन्त्री ऐनबहादुर शाही ठकुरीले शिलान्यास गरेसँगै औपचारिक रूपमा काम थालिएको रारा होल्डिङले बताएको छ । पाँचतारे स्तरको यो रिसोर्टले उक्त क्षेत्रको मात्र नभई मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने रारा होल्डिङका सञ्चालक अभिषेकविक्रम शाहले जानकारी दिए ।

रारा घुम्न आउने पर्यटनलाई लक्षित गर्दै बनाउन सुरु गरिएको यो रिसोर्ट रारा क्षेत्रकै पहिलो हो । प्राकृतिक तथा ऐतिहासिक हिसाबले छुटै पहिचान बोकेको रारा ताल नजिकै रारा रिसोर्ट बनेपछि पर्यटन आवागमनमा वृद्धि हुने विश्वास लिइएको छ ।

रिसोर्ट निर्माण पश्चात् विस्तारै कर्णाली प्रदेशमा रोजगारी सिर्जना, स्थानीय व्यापारिक गतिविधिहरूको बढावा र विदेशी लगानी आकर्षित गर्नसक्ने शाहले बताए । दुई वर्ष रिसोर्ट निर्माणको काम सकेर रारा क्षेत्रभित्र उल्लेखिय पर्यटन भित्र्याउने रणनीति रारा होल्डिङ लिएको उनको भनाई छ ।

वि.सं. २०८१ को वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना भएको लगानी सम्मेलनमा ‘ड्रिम प्रोजेक्ट’का रूपमा रिसोर्ट निर्माणको सम्झौता भएको थियो । रिसोर्टले मुगुको सांस्कृतिक र ऐतिहासिक धरोहरलाई प्रवर्द्धन गर्दै, पर्यटकहरूको अनुभवलाई अद्वितीय बनाउन यो रिसोर्टको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

शाहका अनुसार रिसोर्ट डेढ अर्बको लगानीमा निर्माण हुनेछ । ‘हामीले रिसोर्टलाई समयअवधि भित्रै सम्पन्न गर्ने उद्देश्यका साथ काम गरिरहेका छौं, मौलिक संस्कृतिलाई पनि झल्काउने यो रिसोर्ट पहिलो हाे भन्दा फरक पर्दैन,’ उनले भने ।

रिसोर्टमा यस्ता हुनेछन् सुविधा

प्रकृति सौन्दर्ययताले निकै लोकप्रिय रारा क्षेत्र व्यवस्थित होटल तथा रिसोर्ट नहुँदा घुम्न आउने पर्यटनले निकै ठूलो सास्ती भोग्दै आएका थिए । तर, यो रिसोर्ट बनेपछि सुरक्षित पर्यटन आवासको लागि निकै उपयुक्त हुने बताइएको छ ।

पर्वतीय इलाकामा रहेको यस रिसोर्टबाट आसपासका ठाउँसम्म ट्रेकिङको पनि अवसर प्रदान हुनेछ । रारा होल्डिङका अनुसार रारा रिसोर्टको भित्री भाग स्थानीय डिजाइन अनुरूप तयार गरिने छ । भित्री र बाहिर भागमा मौलिक संस्कृति झल्किने किसिमको हुने भएकाले पर्यटनले पनि रिसोर्टबाट स्थानीय अनुभव लिनसक्ने बताइएको छ ।

ढुङ्गा र माटोले शताब्दीयौं पुरानो प्रविधिहरू प्रयोग गरेर निर्माण गरिने यो रिसोर्टमा भूकम्प प्रतिरोधी हल्का सामग्रीहरू समावेश गर्दा सांस्कृतिक प्रमाणिकता जोगाउन पनि मद्दत पुर्याउने रारा होल्डिङले जानकारी दिएको छ ।

रारा तालबाट २ किलोमिटरसम्म मोनोरेलको पनि सुविधा पर्यटनलाई दिने रारा होल्डिङको योजना छ । रिसोर्टमा एक सुइट, ४ वटा डिलक्स र बाँकी ३५ वटा स्ट्यान्डर रुम हुनेछन् । कुल ८० रोपनी क्षेत्रफलमा निर्माण हुने यो रिसोर्टले पहिलो चरणमा १२ वटा भिला निर्माण गर्ने लक्ष्य राखेको छ ।

कूल ६० कोठा क्षमताको यो रिसोर्ट पहिलो चरणमा ४० कोठा सहित खोल्ने योजना रहेको सञ्चालक शाहले जानकारी दिए । रिसोर्टमा १०० जना क्षमताको रेस्टुरेन्ट, स्पा, हेलिप्याड र अन्य सुविधा पनि हुनेछ । न्यूनतम बजेटमा सेवा तथा संस्कार दिने तयारी रिसोर्टको रहेको छ ।

यस्तै, एक्सपर्ट होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिव शर्माले यो रिसोर्ट रारा तल पुग्नेलाई मात्र नभई नेपाल हुँदै मानसरोवर जाने पर्यटकका लागि पनि आवास हुने बताए । उक्त ठाउँको आर्थिक समृद्धिको लागि यो आयोजना कोशेढुङ्गा सावित हुने उनको भनाई छ । यो गन्तव्यले डोल्पा, हुम्ला,जुम्ला जोड्न विशेष टेवा पुग्ने र रारामा रहेको छाँयानाथ मन्दिरमा धार्मिक पर्यटनको प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

Logo