काठमाडौं । नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।
भन्सार प्रयोजनका लागि कम्पनीले सार्वजनिक गरेको मूल्य सूची अनुसार यसको सबैभन्दा कम मूल्यको कम्फर्ट भेरिएन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ हुनेछ । यसमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यही प्याक रहेको लक्जरी भेरिएन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
त्यसैगरी ६२ किलोवाट आवर क्षमताको लक्जरी भेरिएन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो मूल्य सूची सार्वजनिक गरेको हो । यद्यपि लन्चिङ समयमा यो मूल्यमा केही फेरबदल पनि हुन सक्छ ।
एमजी एस५ हालै नेपाल चीन सीमानामा देखिएको थियो र नेपाल भित्रिसकेको छ । केही दिनमै यसको औपचारिक लन्चिङ हुनेछ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।
सो एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।





























प्रतिक्रिया