काठमाडौं । नेपालको दूरसञ्चार नीति केन्द्रित ‘सेपिङ द फ्यूचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलीसी एन्ड इनोभेसन’ नामक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको होटल हिमालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ उपस्थित थिए भने विशेष अतिथिमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)जाब्बोर कायुमोभ उपस्थित थिए ।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले कानुन अनुसार सबै सेवाप्रदायक दूरसञ्चार संस्थालाई भेदभावरहित समान व्यवहार गरिएको स्पष्ट पारेका थिए । “सरकारको तर्फबाट अपरेटरको भूमिका निर्वाह गरेको नेपाल टेलिकम र अन्य सेवाप्रदायकलाई समान दृष्टिकोणले हेरिएको छ । हाम्रो कानुनले नै समान व्यवहारको व्यवस्था गरेको छ । कतै पनि भेदभावको कुरा छैन,” उनले भने ।
साथै उनले पुरानो नीतिले गाइड गर्न नसकेको भन्दै टेलिकम नीति संशोधन गर्नुपर्ने पनि बताए । प्रविधिका धेरै कुराहरू परिवर्तन गर्न नयाँ नीति चाहिएकाले सरकारले त्यसको तयारी गरिरहेको पनि उनले बताए।
यसैगरी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कायुमोभले विदेशी लगानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदल्नुपर्ने माग राखेका छन् । उनले नेपालमा दूरसञ्चार क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए। यस्तै फिनटेक (वित्तीय प्रविधि) र आईपीजस्ता क्षेत्रमा देखिएका अवरोधलाई हटाउनुपर्ने उनको भनाइ थियो।
यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल फाइभजी प्रविधि कार्यान्वयनका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले दूरसञ्चार सेवाप्रदायकले अनुमती मागे जुनसुकै बेला फाइभजी सेवा सुरु गर्न सकिने बताएका हुन् ।
अध्यक्ष भण्डारीले डिजिटल नेपालको अवधारणालाई साकार पार्न प्राधिकरणले विभिन्न काम गरिरहेको पनि जनाए।
यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले दूरसञ्चार नीतिमा व्यापक परिमार्जनको आवश्यकता रहेको औंल्याएकी छिन् । उनले अब बन्ने नयाँ नीतिले दूरसञ्चार क्षेत्रलाई अझ बढी वृद्धि विकास गर्ने विश्वास पनि व्यक्त गरिन् ।
यसैगरी कार्यक्रममा ‘नेभिगेटिङ पोलिसी इनोभेसन एण्ड द फ्युचर अफ टेलिकम्युनिकेसन्स’ शिर्षकमा प्यानल डिष्कसन पनि गरिएको थियो ।





























प्रतिक्रिया