काठमाडौं । महोत्तरीमा नेपालकै ठूलो कागज उद्योग संचालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ संचालनमा ल्याएका हुन् ।
कागज उद्योगमा आईएमई ग्रुपको यो पहिलो लगानी हो ।
२ अर्ब लगानीमा बनेको यस उद्योगले गत पुस महिनादेखि उत्पादन शुरु गरिसकेको छ । उत्पादन सुरु भए पनि उद्योगको औपचारिक उद्घाटन भने यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भएको छ ।
नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यो उद्योग संचालनमा ल्याइएको हो । नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ तापनि नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ । स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।
भन्सार विभागकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात भएको तथ्यांक छ ।
यो बाध्यतालाई बुझ्दै अध्यक्ष ढकालले यो उद्योग खोलेका हुन् । यस उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी प्रदान गर्नेछ । हाल सो उद्योगमा कार्यरतमध्ये श्रमिक तथा कर्मचारीमध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय र २० प्रतिशत श्रमिकमा महिलाहरु रहेका छन् ।
उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । उद्योगले केही समयभित्रै क्षमता वृद्धि गर्दै दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।





























प्रतिक्रिया