महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।
आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।
साे अवसरमा प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताए । उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने जनाए । उनले भने, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”
कागज उद्योगमा आइएमई ग्रुपको यो पहिलो लगानी हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुप एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने र अरबको ५० डिग्री तापक्रममा युवाहरू विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारी दिलाउन उद्योग खोलेको बताए । साथै उनले नयाँ उद्योगको सञ्चालनलाई मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रूपमा लिन आग्रह गर्दै, विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको होस्टेमा हैंसेको उदाहरण बनेको उल्लेख गरे।




















