काठमाडौं ।
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधारका लागि जङ्गी नीति आवश्यक रहेको बताएका छन् ।
केन्द्रीय दुग्ध सहकारी सङ्घद्वारा आज चितवनको सौराहामा आयोजित ‘दुग्ध क्षेत्रका समस्या, चुनौती, समाधान र अवसर’ विषयक एकदिवसीय कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको सुधारका लागि पाँच वटा नीतिगत आधार निर्माण भएको बताए ।
“दूध बिक्री नहुने समस्याको समाधानतर्फ सरकारले काम गरिरहेको छ”, उनले भने, “कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दुग्ध क्षेत्रमा मात्र नभई सबै कृषि उपजको बिक्रीमा समस्या भएको छ । सरकारले उत्पादित वस्तुको बिक्रीको ग्यारेण्टी लिने गरि अगाडि बढेको छ ।”
मन्त्री भुसालले नेपालमा उत्पादन भएको दूध बढी लागतमा उत्पादन हुने भएकाले कृषक सधैं मारमा परेको उल्लेख गर्दै यहाँ प्रयोग हुने कमजोर प्रविधिलाई सुधार गर्दै जानु पर्नेमा जोड दिए। कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरिएको जानकारी दिंदै उनले नेपालमा अहिले पनि ३५ वर्ष पुरानो तथ्याङ्कको अधारमा योजना निर्माण गर्दा अहिलेको समस्याको प्रभावकारी समाधान हुन नसकेको बताए।
नेपालमा उत्पादन हुने दूध ५० प्रतिशत घरबाट, ३० प्रतिशत निजी डेरी र २० प्रतिशत दुग्ध विकास संस्थानबाट बजारमा जाने गरेको तथ्याङ्क छ । नेपालमा प्रतिदिन सात लाख लिटर दूध उत्पादन हुने गरेको छ ।रासस





























प्रतिक्रिया