काठमाडौं । औद्योगिक मेसिनरी, एरोस्पेस र विभिन्न यान्त्रिक प्रणालीहरूको लागि अत्यन्त महत्वपूर्ण मानिने लुब्रिकेन्ट व्यवसाय नेपालमा सकारात्मक दिशातर्फ अघि बढिरहेको देखिन्छ । वार्षिक ४० हजार किलोलिटरको हाराहारीमा माग रहेको लुब्रिकेन्टमध्ये १४ हजार किलोलिटर स्वदशमै उत्पादन हुँदै आएको छ । स्वदेशमै उत्पादित र आयातित लुब्रिकेन्टबीचको प्रतिस्पर्धा बढ्दै गएको भए तापनि यो व्यवसायमा अझै सुधार गर्नुपर्ने विषयहरू यावत् छन् ।
व्यवसायीहरूले उद्योगमा नवीनतम प्रविधिको प्रयोग गरी उच्च गुणस्तरका लुब्रिकेन्ट उत्पादन गरिरहेका अवस्थामा अवैध आयातले यो क्षेत्रलाई धराशायीमा पुर्याउँदै लगेको युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनाल बताउँछन् । लामो समयदेखि लुब्रिकेन्ट व्यवसायमा सक्रिय खनालसँग यस क्षेत्रमा देखिएका समस्या, नेपालमा लुब्रिकेन्ट उत्पादनको अवस्था साथै उनी सम्बद्ध संस्थाले गरिरहेको काम लगायका विषय राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
तपाईंले लुब्रिकेन्ट व्यवसायमा लामो समयदेखि काम गरिराख्नु भएको छ । देशमा लुब्रिकेन्ट उत्पादन, आयात र बजारको अवस्था कस्तो देख्नुहुन्छ ?
-लुब्रिकेन्ट व्यवसायलाई आजको दिनमा प्रतिस्पर्धा भएको सेग्मेन्ट मानिन्छ । नेपालमा गत वर्ष (२०८०) मा करिव ३२ हजार किलोलिटर लुब्रिकेन्ट आयात भएको थियो । जसलाई नै अहिले लुब्रिकेन्ट खपतको आधारको रूपमा हेरिएको छ । यो वर्ष (२०८१) को फागुनसम्ममा २१ हजार किलोलिटर लुब्रिकेन्ट आयात भएको देखिन्छ । केही वर्ष अघि र अहिलेको अवस्थालाई हेर्दा यो क्षेत्रको ग्रोथ साढे ६ प्रतिशतको हाराहारीमा छ ।
यद्यपि नेपालमा अवैध तरिकाबाट कति लुब्रिकेन्ट आयात हुन्छ, त्यो अझै यकिन हुन सकेको छैन । भारतसँगको खुल्ला बोर्डर हुँदा चोरी पैठारीबाट पनि ठूलो परिणाममा लुब्रिकेन्ट आयात हुने हाम्रो ठम्याइ हो । लुब्रिकेन्ट वैधानिक तरिकाले आउने हो भने ४० हजार किलोलिटरको मार्केट नेपालमा छ ।
सन् २०२१/०२२ मा ३५ हजार किलोलिटर लुब्रिकेन्ट आयात भएको थियो । नेपालमा अहिले रजिष्ट्रेशन भएका १२ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा छन् । अनधिकृत रूपमा सञ्चालन भएका २० भन्दा बढी उद्योग होलान् । गुणस्तर लुब्रिकेन्ट वैधानिक तरिकाले उत्पादन गरिहरको अवस्थामा हामीलाई यस्ता विषयले चाहिँ निरुत्साहित गरिरहेको छ । सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत् यस्ता सन्दर्भ घटाउने लगायतका सुझाव नाडाको तर्फबाट दिने सोच बनाएका छौं ।
यहाँ लगानी गरेर उद्योग स्थापना गरी लुब्रिकेन्ट उत्पादन गर्ने र आयात गर्ने व्यापारीहरु धराशायी रहेको अवस्था छ । उद्योग खोलेर यही लुब्रिकेन्ट उत्पादन गर्नेहरूलाई झनै गाह्रो छ । नेपालमा आज टप सेलिङ र इन्टरनेशनल फ्रेन्चाइज ब्रान्ड पनि उत्पादन भइरहेको छ । इन्टरनेशनल ब्रान्डका उत्पादन थप यही उत्पादन गर्न सक्यो भने गुणस्तरीय लुब्रिकेन्ट दिन सकिने अवस्था नेपालमा छ ।
तपाईंले नेपालमा लुब्रिकेन्ट उत्पादन गरिरहेका उद्योग र ट्रेडिङ कम्पनीसमेत धराशायी रहेकाे बताउनु भयो । खासमा यी उद्योग र कम्पनी धराशायी हुने अवस्था के कारणले सिर्जना भयो ?
-हामीले आजको दिनमा स्ट्याण्डर्ड मेन्टेन गरी लेवलको डिफाइन गरेर लुब्रिकेन्ट बेची रहेका छौं । तर, बजारमा अवैध तरीकाले आयात भई गुणस्तरहीन लुब्रिकेन्ट पनि बिक्री भइरहेका छन् । उक्त प्रडक्ट कुन कम्पनीले बिक्री गर्छ भनेर हेर्दा त्यहाँ कम्पनीको नामसमेत हुँदैन । बजारमा छ्यापछ्याप्ती पाइने यस्ता सामान २०० रुपैयाँमै पाइन्छन् । हामीले आफ्नो म्यानपावर प्रयोग गरेर आफैंले उत्पादन गर्दा पनि उक्त मूल्यमा सामान दिन सक्दैनौं । तर, बजारमा त्यस्ता सामान कसरी सस्तो मूल्यमा पाइन्छ भन्ने विषय चाहिँ शंकास्पद छ ।
उहाँहरूले त्यसलाई कसरी उत्पादन गरेर बजारमा दिई राख्नुभएको छ । त्यो हामीलाई थाहा छैन । बजारमा प्रतिस्पर्धा हुन्छ । तर, यस्ता सामानले गर्दा यही उत्पादन गर्ने र प्रयोग गर्नेलाई समस्या पार्छ । हामीले गुणस्तर लुब्रिकेन्ट बेच्ने प्रयास गरिराख्दा, गुणस्तरहीन लुब्रिकेन्टले गर्दा यो क्षत्रेमा समस्या तुल्याएको महसुस गर्न सकिन्छ । त्यस्ता लुब्रिकेन्ट केवल पैसाको लागि मात्र बिक्री भइरहेका छन् । अवैधानिक तरिकाबाट आयात भई यहाँ बिक्री हुने त्यस्ता सामानलाई रोकिएन भने अर्बौं रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएका यहाँका उद्योग धराशायीको अवस्थामा पुग्छन् ।
डिलर, रिटेलर र मोकानिक हाम्रो चेन हुन् । हामीले अधिकतम खुद्रा मूल्य (एमआरपी) जुन राख्छौं, त्यही मूल्यमा रिटेलरले सामान बिक्री गर्ने हो । रिटेलरलाई सस्तोमा सामान चाहिन्छ । बेच्ने त्यही एमआरपीमा भएकाले उद्योगी र रिटेलरबीचमा केही ग्याप छ । रिटेलरलाई त्यो अनुसारको सर्भिस वा नाफा दिन सकिएन भने हाम्रो उत्पादन बिक्दैन । यी यावत् विषयलाई मिलाउँदै अगाडि बढिरहेका छौं ।

लुब्रिकेन्टको अनधिकृत आयात रोक्न र यस्ता सामानको प्रयोगलाई घटाउन के गर्नुपर्छ ? सरकारको तर्फबाट यसमा गर्नुपर्ने काम के हुनसक्छ ?
-भन्सारमा आयातित सामानको चेक गर्नु राम्रो विषय पनि हो । तर, त्यहाँ चेक गर्ने प्रावधान सबै भन्सारमा कडा चाहियो । लुब्रिकेन्ट उद्योगमा एक्चुअल रिसाइकल बेस आयल र रिसाइकल फिनिस गुड आयल आउने हो । यसलाई भन्सार विभागले मेटल कन्टेन्ट छ कि छैन भनेर मात्र चेक गर्छ । मेटल कन्टेन्ट छ भने रिसाइकल आयल हो । छैन भने यो भर्जिन बेसर आयल हो भन्ने चलन छ । यतिले मात्र आयलको गुणस्तर चेक हुँदैन । त्यसैले आयल चेकको लागि नयाँ प्रावधान बनाउन आवश्यक देखिन्छ ।
भारतबाट एउटा ड्रममा सामान लिएर आयो भने भन्सारमा त्यो खोलिन्छ । त्यो चेक गरेपछि बाँकी सामान पनि त्यस्तै छ भनेर थाहा हुन्छ । त्यहाँ सबै खोलेपछि यहाँ बेच्न सकिन्नँ । त्यस्ता विषय पनि बुझ्न जरुरत छ । भन्सारबाट आउने सबै सामानमा कडाई गरेपछि मात्र अवैध आउने सामान रोकिन्छ जस्तो मलाई लाग्छ । रेकर्डमा वैधानिक तरिबाट ३२ हजार किलोलिटर लुब्रिकेन्ट आयात देखिन्छ । तर, ४० हजारको मार्केटमा ८ हजार किलोलिटर ग्रे मार्केटबाटै आउँछ ।
विदेशबाट बनेरै आएका लुब्रिकेन्ट सस्तो भएको र यही उत्पादन भएका लुब्रिकेन्ट महँगो भएको उपभोक्ताको गुनासो छ नि ?
-तयारी लुब्रिकेन्ट आयात गर्दा ३० प्रतिशत भन्सार ड्युटी र १ प्रतिशत वातावरण कर तिर्नुपर्छ । बेस आयलको आयातमा १५ प्रतिशत ड्युटी र ०.५ प्रतिशत वातावरण कर छ । यहाँ करिव १५ प्रतिशतको ग्याप देखिन्छ । यसमा थप भनेको ओभर हेड मूल्य मात्र हो । हामी आफैँ हिजोका दिनमा आयात गरेरै लुब्रिकेन्ट बेच्थ्यौं ।
आजको दिनमा यही उद्योग लगाएर उत्पादन गर्दा प्रडक्टको मूल्य केहीसम्म सस्तो पर्छ । त्यसको लाभ हामीले मार्केटलाई सेयर गरेका छौं । यही उत्पादन भएका लुब्रिकेन्ट महँगो भयो भन्ने बुझाइ मात्र गलत हो । भोलिको दिनमा आयातित लुब्रिकेन्ट कम हुन्छ । नेपालमा कच्चा पदार्थको आयात गरेर उत्पादन बढ्न थालेपछि तयारी लुब्रिकेन्ट आयातको संख्या घट्छ ।
सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा छ । बजेटमार्फत् यस क्षेत्रको सुधारको लागि के विषयमा सहुलियत गर्नुपर्ने यहाँले देख्नुहुन्छ ?
-उद्योगको लागि आवश्यक उत्पादन गर्ने मेसिन १ प्रतिशत भन्सार बुझाएर ल्याउन पाइन्छ । त्यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ । तर, उद्योग स्थापनाका लागि लाइसेन्स लिने प्रक्रिया र रजिष्ट्रेशन महिनौं बित्दासमेत हुँदैन । म आफैंले भिडोलको ब्रान्ड रजिष्ट्रेशन र लाइसेन्स लिन ६ महिना लागेको थियो ।
यसलाई कसरी छोट्याउन सकिन्छ त्यो बाटो खोजौं । यस्तै, बेस आयलको १५ प्रतिशत भन्सार दरलाई घटाएर ५ प्रतिशत पुर्याउन आवश्यक छ । यसो गर्न सकियाे भने भएका उद्योगलाई बाच्न सहज हुन्छ भन्ने हाम्रो विश्वास हो । र, उद्योग पनि सस्टेनको अवस्थामा पुग्छन् ।
भनेपछि अहिलेको अवस्थामा नेपाली लुब्रिकेन्ट उद्योगहरू सस्टेनको अवस्थामा छैनन् ?
-नेपाली लुब्रिकेन्ट उद्योग हिजोका दिनमा सस्टेन थिए । तर, दर्ता नभएको ब्रान्ड बजारमा आएसँगै भएकै उद्योग धराशायीको अवस्थामा पुग्ने देखिन्छ । त्यसका बाबजुत पनि हामी लागि परिरहेका छौं । लुब्रिकेन्टका उद्योग लगाउने सोच बनाएकाहरूलाई पनि हामीसँग जोडिन आवह्न गर्न चाहन्छु ।

नेपालमै उत्पादित लुब्रिकेन्टबाट माग धान्न सक्ने अवस्था छ ?
-नेपालमा भएका र तयार हुँदै गरेका लुब्रिकेन्ट उद्योग जति छन्, त्यसबाट उत्पादन भएको लुब्रिकेन्टले नेपाललाई पूर्ण रूपमा सप्लाई गर्ने क्षमता छ । तर, त्यो वातावरण यहाँ बनेको छैन । उद्योगबाट उत्पादन बढाएर आवश्यक वातावरण बनेको खण्डमा माग धान्न समस्या छैन । लुब्रिकेन्ट उद्योग पूर्ण क्षमतामा चल्न पाएका छैनन् । पूर्ण क्षमतामा उद्योग चलेको खण्डमा बजारमा माग पूरा गर्न सक्षम भइने छ ।
तपाईंहरुले धनुषामा प्लान्ट जडान गरी भिडोल ब्रान्डका लुब्रिकेन्ट उत्पादन गरिराख्नु भएको छ । हाल उद्योगबाट उत्पादनको अवस्था के छ ? र, भिडोलका प्रडक्टका माग नेपाली बजारमा कस्तो छ ?
-भिडोल यूकेको एउटा ब्रान्ड हो । भिडोल इन्टरनेशनल यूकेले नेपालमा सन् २०१२ देखि भारतबाट आयात गरेर यहाँ सामानको बिक्री गर्दै आएको थियो । सन् २०१६ बाट भिडोल लुब्रिकेन्टको बिजनेश म आफैंले हेरिरहेको छु । काम गर्दै जाँदा लुब्रिकेन्ट आयातमा प्रतिस्पर्धा धेरै भयो । सन् २०२१ मा मैले भिडोललाई नेपालमै उत्पादन गर्ने योजना बनाएँ । उक्त योजना बनाएपछि नेपालमा सम्पूर्ण लुब्रिकेन्ट उद्योगहरू एकपटक घुमेँ ।
ड्युटी पनि केही हदसम्म सस्तो हुने भएकाले हामीले उद्योग लगाउने योजना बनाएका हौं । सबै तयारी पूरा गरी सन् २०२१ बाट फ्याक्ट्री बनाउन सुरु गर्यौं । अहिले उक्त फ्याक्ट्री तयार भई सञ्चालनमा आएको एक वर्ष भयो । लुब्रिकेन्ट सेक्टरमा नेपालको सबै भन्दा ठूलो उद्योगको रूपमा आज यो उद्योग छ । यो उद्योगको वार्षिक उत्पादन क्षमता १५ हजार किलोलिटर हो । वान सिंगल सिफ्टमा त्यसलाई चलाउन सकिन्छ ।
त्यहाँ भिडोल मात्र नभई नेपाल गोल्ड र दिब्योल लुब्रिकेन्ट पनि उत्पादन हुन्छ । तिनीहरूलाई सूत्रीकरण गर्ने प्रक्रिया भने अलग छ । जसको वितरण गर्ने डिलर पनि अलग छन् । एक वर्षमा हामीले यो उद्योगबाट हजार किलोलिटर लब्रिकेन्टको उत्पादन गरिसकेका छौं । मंसिरबाट पूर्ण क्षमतामा उत्पादन गर्ने भनेका छौं । तर, अझै हामीले यसको क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनौं । यद्यपि आगामी वर्षबाट पूर्ण क्षमतामा लुब्रिकेन्ट उत्पादन गरी योजना बनाई २०/२५ वटा प्रडक्टको नयाँ प्याक साइज बनाउने सोचका छौं ।
मूल्यका हिसाबले तपाईंहरुको सामान कस्तो छ ?
-हामीले हिजोका दिनमा आयात गरेर सामान बिक्री गरिरहेका थियौं । त्यो प्रडक्ट यहाँ उत्पादन गरेपछि आज ५० देखि ६० रुपैयाँ प्रतिलिटर मूल्य कम गरेर बजारमा बिक्री गरिरहेका छौं । किनभने तयारी सामान ल्याउनमा भन्दा यही उत्पादन गर्दा उक्त मूल्य बराबरको अन्तर देखियो । अहिले हामीले फरक-फरक मूल्यमा लुब्रिकेन्ट बिक्री गरिरहेका छौं ।

नेपाली लुब्रिकेन्ट उद्योगका चुनौती के हुन् ? यही उत्पादन भएका लुब्रिकेन्ट प्रयोगलाई बढाउन के गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई ?
-स्थानीय तह प्रत्येकसँग अहिले सवारी साधन छन् । स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्छ संघ सरकारले आफू मातहतका निकायलाई आग्रह गर्दै आएको छ । जुन सकारात्मक विषय छन् । स्वदेशी उत्पादनको प्रयोग सरकारी तहबाटै पहिला हुनुपर्छ भन्ने व्यवसायीहरूको पनि मान्यता हो । हामीले स्वदेशी उत्पादनको प्रयोग गर्न थालिसकेपछि सेल्स अवश्य बढ्छ । एक हिसाबले स्वदेशी उद्योगलाई प्रोत्साहन मिल्छ । तर, नन् ग्रेडका उत्पादन कसले गरिरहेको छ । त्यस्ता सामानको प्रयोगलाई रोक्न तुरुन्तै एक्सन लिनुपर्छ ।
नेपालमा ईभी गाडीको प्रयोग बढ्दै जाँदा आईसीई इन्जिन बिक्री घटेको देखिन्छ । आईसीई गाडीमा बिक्री घट्दा लुब्रिकेन्टको व्यवसायमा कस्तो असर पुग्ने आंकलन गर्नुभएको छ ?
-चाहे जुनसुकै होस् लुब्रिकेन्ट बेगर गाडी चल्दैन । ईभी आइसकेपछि प्यासेन्जर सेग्मेन्टमा लुब्रिकेन्टले हिट खाएको अवस्था छ । किनभने ग्रोथको सेग्मेन्ट नै प्यासेन्जर कार सेग्मेन्ट हो । ईभीमा ग्रिज, कुलेन्ट र गियरको आयल प्रयोग हुन्छ । तर, हिजोको दिनमा आईसीई प्यासेन्जर गाडीमा जति लुब्रिकेन्ट खपत हुन्थ्यो, त्यो ईभीमा हुँदैन । तर, चुनौती थपियाे भनेर बस्ने अवस्था छैन । नेपालमा लुब्रिकेन्टको भविष्य दिगो छ । ईभी आउँदैमा यसको खपत नहोला भन्ने चिन्ता छैन ।
अहिलै म लुब्रिकेन्ट आयल बिक्री हुँदैन भनेर सोच्नुपर्ने जरुरत देख्दिनँ । ३० वर्ष यो मार्केट अझै चल्छ । शहरी तथा पहाडी बाटोमा दुई पाङ्ग्रे, ट्रक, बस इन्जिन भएका चलिरहेका छन् । हाइड्रोपावरहरू निर्माण भइरहेका छन्, त्यहाँ पनि लुब्रिकेन्ट आवश्यकता पर्छ । केही चिज नयाँ आयो त्यसले पुरानालाई असर गर्छ । त्योसँगै नयाँ ढोका पनि खुल्ला भइरहेको हुन्छ । त्यसैले ईभीकै कारण तत्कालीन अवस्थामा यो क्षेत्रलाई समस्या पर्छ भनेर विश्वास गर्ने ठाउँ देखिँदैन ।































प्रतिक्रिया