बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह ६ प्रतिशतले बढ्यो  

बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह ६ प्रतिशतले बढ्यो  

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ६ प्रतिशतले कर्जा प्रवाहमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ३० खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । 

अघिल्लो वर्ष (२०८१) को सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।  

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ । 

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ । 

२०८० फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.७ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा  ८.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३१.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.७ प्रतिशतले, नगद प्रवाह कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

Logo