‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव छ’ -परराष्ट्रमन्त्री राणा

‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव छ’ -परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं‌ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक विकास र प्रगतिको आकाङ्क्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई आज सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको बताएकी हुन् ।

“आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो”, मन्त्री राणाले भने । उनले सरकार गठनपश्चात निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गरिन् ।

आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवदेनशील भएर अघि बढिरहेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको स्पष्ट पारिन् । उनले मुलुक राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा अघि बढिरहेका बेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुनेमा जोड दिइन् ।

पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरुरी नरहेको औँल्याउँदै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जानसक्नुपर्ने धारणा राखिन् । “यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भनिन्, “असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।”

Skip This
Skip This
Logo