गभर्नर छनोट सिफारिस समितिका विजयनाथ भट्टराईले किन दिए राजीनामा ?

गभर्नर छनोट सिफारिस समितिका विजयनाथ भट्टराईले किन दिए राजीनामा ?

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

समिति गठन भएको महिना दिन बित्दा पनि एकपटक बैठक बस्न नसकेपछि भट्टराईको राजीनामा आएको हो ।

गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको थियो। राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ। तर, त्यसो हुन सकेन । अधिकारीको बिदाई हुनु केही दुई साता अघि मात्रै गत चैत ११ गते सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।

तर, मन्त्रिपरिषद् निर्णयको ६ दिनपछि सिफारिस समितिका सदस्यले चैत १७ गते मात्रै पत्र बुझ्न पाए र मंगलबारसम्म एकपटक पनि समितिको बैठक बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका हुन् । सरकारले समितिको भूमिकालाई नजरअन्दाज गरेको उनको भनाइ छ ।

यसो हुनुको मुख्य कारण हो, राजनीतिक खिचातानी । सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच कसले गभर्नर बनाउने भन्ने रस्साकस्सी टुंगो नलागेकै कारण समितिको बैठक बस्न नसकेको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत बुधवार राती भएको वार्तामा गभर्नर कांग्रेसले पाउने सहमति भएको थियो र जसअनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम फाइनल भएको थियो । गभर्नर बन्ने होडमा भट्टले पदबाट राजीनामा पनि दिए । तर, राजीनामा आएकै दिन उनीविरुद्ध अयोग्य भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अहिले यस्तो कचिङ्गलको अजस्था उत्पन्न भएको छ की न यता भट्टको राजीनामा स्विकृत भएको छ भने उता रिटमाथि सुनुवाइ नै । यस्तो अवस्थामा दलहरु नै अलमल्ल अवस्थामा रहँदा गभर्नर नियुक्ति गिजोलिएको हो ।

नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएका छन् ।

Logo